देपालगाउँ, बाहुलीगाउँ, बिँगारी ज्युलाको भूभागको आकाश हुँदै जुम्ला जाने नेपाल वायुसेवा लगायतका विभिन्न नामका ट्विनअटर प्लेनले घुमेर टर्निङ बनाउँदै जुम्ला विमानस्थलमा अवतरण गर्ने गर्दछन्।
यो प्राकृतिक दृश्य रहेको गाउँ नै गाउँ देखिएको फोटोमा रहेको हल्का पानी देखिएको भाग तिला नदी हो। यो तिला नदी किनाराको दायाँ भागतिरका खेत भएको कुलो लाग्ने बिँगारी ज्युलो हो। हामी यो धानखेती समेत गर्न सकिने ज्युलोलाई बाजेकै पालादेखिनै बिँगारी ज्युलो भन्दै आएका छौँ। यो बिँगारी ज्युलो यस पंक्तिकारको तलिचौर देवकोटा बाडाका देवकोटाहरूको हो।
यही नदीको दायाँ किनारामा सटेको जग्गा पनि यही पंक्तिकारकै हो। यहाँ यस पंक्तिकारका खेत र पाखो जग्गा अरू पनि छन्। खेत तथा पाखो जग्गामा धान, कोदो, जौँ, गहुँ, आलु, सिमी, मकै, फापर, कागुनो, चिनु, मुला, गाजर, काउली, पिँडालु लगायत विभिन्न जातका स्याउ, दाँते ओखर र फुजी जातका स्याउ फलाए फल्न सक्छन्।
यी देवकोटाहरूको जुम्ला एयरपोर्टदेखि मुनीतिर तलिचौर गाउँ पर्दछ। यहीँ तलिचौर मुनि विशाल दानसँघुमा मिसिने जवा नदीबाट आउने पानीको कुलो लाग्ने ज्युलो अर्थात् खेतै खेतको विशाल फाँट पनि छ।
बिँगारी ज्युलाका खेतहरूको माथि बाटोबाट भएर धिँतागाउँ, देपालगाउँ, झारज्वाला, कुम्डी, फोइ, गर्ज्याङकोट गाउँ हुँदै सुन्दर ठाउँ गोठीचौर जान सकिन्छ। डोल्पा जिल्ला जाने सडक बाटो पनि हो।
नदीको बायाँ किनारामा पनि यही तिला नदीको कुलो लाग्ने ज्युलो छ। सल्लाघारीले छेकेको छ। यसलाई लाप्काचौरको ज्युलो भन्दै आइरहेका छौँ। यही लाप्काचौर बायाँतर्फको बाटो हुँदै जाँदा सुरुमा आउने बायाँ तर्फको गाउँ चौरबिँगारे हो। म मेरो मामाको घर बाहुलीगाउँ यही बाटो जाने गर्छु।
चौरबिँगारेदेखि अलि माथि हामी कक्षा सातसम्म पढलेख गरेको सत्यवादी निम्न माध्यमिक विद्यालय दशौँडी पनि यहीँ पर्छ। यहीँबाट जानुपर्छ मेरो ससुराली गाउँ। मेरो ससुराली गाउँ पनि यही बाहुलीगाउँ खल्लाल वडामा पर्छ। यही सुन्दर बाहुलीगाउँ पारी गोठीचौर जाँदा भेटिने देपालगाउँ पर्दछ। बीचमा तिला नदी पर्दछ।
देपालगाउँ पहिलेको तिब्रिकोट जिल्लाको सदरमुकाम हो। माथि सिरानमा देखिएको कुम्डी र फोइ गाउँ हो, जहाँ धिताल, आचार्य, चौलागाईँ र भण्डारीहरू बस्दछन्।
यही देपालगाउँ, बाहुलीगाउँ, बिँगारी ज्युलाको भूभागको आकाश हुँदै जुम्ला जाने नेपाल वायुसेवा लगायतका विभिन्न नामका ट्विनअटर प्लेनले घुमेर टर्निङ बनाउँदै जुम्ला विमानस्थलमा अवतरण गर्ने गर्दछन्। यो प्लेन उडेको दृश्य देखिएको पनि यही बिँगारी ज्युलाको आकाश माथिको ठाउँ हो।
यो तिला नदी हामी जुम्लाबासीका लागि गौरवशाली सम्पदा हो। हामीलाई यो तिला नदीले जीवन दिएको छ। यो तिला नदीले गोठीचौर गाउँपालिका, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिका अर्थात् उखाडी, झारज्वाला, देपालगाउँदेखि कुडारीसम्मका खेतहरू सिँचाइ गर्दछ। यसैले यी ठाउँ जुम्ला सभ्यताको निर्माण गर्ने चन्दननाथ बाबाका पालादेखि धानखेतीको प्रारम्भ भएको मानिन्छ। जुम्लाका लागि यी ठाउँ अन्नका भण्डार पनि हुन्।
जुम्लाको अर्को महत्त्वपूर्ण भेग सिञ्जा हो। सिञ्जा उपत्यकाका लागि धानखेतीका लागि हिमनदीले सिँचाइ गर्दै आइरहेको छ। तिला नदीको भने सिञ्जाको खेतीमा अर्थात् धान उत्पादनमा भूमिका रहेको छैन।
जुम्लाका हरेक जल, जमिन र आकाश जुम्लावासीका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। जुम्लाको जमिन जडीबुटीका लागि पनि महत्त्वपूर्ण छ। जडीबुटी मात्रै नभएर बनस्पति पनि उत्तिकै महत्त्वपूर्ण छन्। सदाबहार हावा चलिरहने यी ठाउँमा लगानी गर्न सके उत्पादन गर्न पनि सकिने देखिन्छ।
समुद्री सतहबाट करिब ७५०० फिट उचाइमा रहेको छ जुम्लाको सदरमुकाम खलङ्गा। यसैले यहाँ सल्लो, बैँस, देवदार, स्याउ, ओखर र मार्सी धान उत्पादन हुने गर्दछ। पर्यटनका लागि पनि यो ठाउँ महत्त्वपूर्ण मानिन्छ। कान्जिरोवा हिमाल यहीँबाट देख्न सकिन्छ भने जुम्लामा रहेका तालतलाउको मनोरञ्जन जुम्लाबाटै लिन सकिन्छ।
समग्रमा जुम्ला हिमाली जिल्ला भए पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले सुन्दर र मनमोहक छ। जीवनमा एकचोटि प्लेनमा उडेर हाम्रो जुम्लाका विभिन्न गाउँ–ठाउँ हेरेर भरपूर मनोरञ्जन लिन म हार्दिक आग्रह गर्दछु।
प्लेनबाट झरेर तिला नदीमा नुहाएर पवित्र भई, यहाँको तातोपानीमा गई नुहाएर न्यानो ज्यान बनाई चन्दननाथ, भैरवनाथ र नीलभैरवको दर्शन गरी जुम्लाका ठाकुरज्यू, बिष्टज्यू, आकाशे ताल, नदैडाव, गिडीदह, शंकर झरना, पातरासी र कान्जिरोवा हिमालको दृश्यावलोकन गरी डिल्लिचौर हुँदै कनकाशुन्दरी भगवतीको दर्शन गरी पूरा सिञ्जा उपत्यका दृश्यावलोकन र भ्रमण गरी रारा ताल पुगेर जीवनको महत्त्वपूर्ण मनोरञ्जन प्राप्त हुने कुरामा दुईमत छैन।
अन्तमा, सामाजिक सञ्जालमा राखिएको भिडियोबाट फोटो लागेको हुँ। यो तस्वीर जोसुकैले पोस्ट गरेको भए पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
नरेन्द्र देवकोटा “प्रशान्त”
२०८२/७/२१, शुक्रबार, प्युठान।














