बिहान ३ बजेदेखि नै स्नान सुरु भइसकेको थियो। म भने ७ बजे त्रीवेणीमा नुहाएँ। भीड अत्यधिक थियो, तर पवित्र जलको स्पर्शले शरीर र आत्मा दुवै ताजगीले भरिए। गुरुले भनेजस्तै जहाँ त्रीवेणी भेटिन्छ, त्यहीँ नुहाएँ।
बिहान सबेरै उठेँ, आगो बालें, तातो पानी तताएँ, त्यसलाई चिया मानेर पिएँ, यहीँबाट सुरु भयो आजको यात्रा, त्रीवेणीधामतर्फको। आजको गन्तव्य पाटनै पाटनको यात्रा थियो। सबै यात्रीहरू बिस्तारै उठे, बचेको पिठोबाट रोटी बनायौं, दुई-दुई रोटी बाँड्यौं र ‘हिडौं’ भन्ने निर्णय भयो।
म हत्तपत्त गोठालो कहाँ पुगेँ, थर्मसमा दूध राखें, थोरै पिएँ। रोटीले पेट त भरेन, तर यात्राको उत्साहले भोक भुलायो। सबै उकालो लागे, म भने अलि पछि परेँ। खुट्टा थाकेका थिए, तर मन हल्का, हावासँगै आत्मा पनि ताजै महसुस भइरहेको थियो। वरिपरिका हरियाली पाटन, फुल फुल्दै गरेका झाडी र हिमालको ओझेलले यात्रा सहज बनाइरहेको थियो।

बीच-बीचमा ढुंगाका स–साना देवल भेटिन्थे। हामी ती देवलमा फूल-पाती चढाउँदै गफ गर्दै अघि बढ्यौं। बाटोमा दमले ग्रसित वृद्ध यात्रुहरू भेटिन्थे, थकाइले असहज हुँदै पनि आस्थाको जोशमा हिडिरहेका थिए। कसैलाई डोकोमा बोकेर कोल्टी फर्काउँदै थिए।

नागबेली पाटनको टाकुरामा पुग्दा दृश्य अद्भुत थियो। हरियालीको समुद्र जस्तो पाटन र वरिपरि धर्किएका हिमाली डाँडाहरू। लिङ्गा बोकेका यात्रुहरूको जयजयकारले वातावरण नै गुन्जायमान थियो।

बाटोमा टिकटक, रिल्स, र फोटो खिच्नेको उत्साह पनि कम थिएन। म पनि बीचबीचमा फोटो खिच्दै, सामाजिक सञ्जालमा पोस्ट गर्दै अघि बढ्दै थिएँ। त्यसैले होला, आफन्तहरू माझ म रमाइरहेको सन्देश टाढा हुँदै पनि पुगिरहेको थियो।
हाम्रो यात्रामा कालिकोट, कोल्टी, मार्तडी लगायतका ठाउँका तीर्थयात्री पनि जोडिँदै गए। अब हाम्रो समूह ठूलो भइसकेको थियो।

चन्दननाथकी जय!
बडिमालिकाकी जय!
कनकासुन्दरी माईकी जय!
भन्दै लिङ्गाको पछि हामी हिडिरहेका थियौं।
४–५ घण्टाको पैदल यात्रापछि टाढैबाट देखियो रंगीचंगी पाल र टेन्टले सजिएको पाटन, मानौं स्वर्गको बजार। थकाइ हरायो। अब झोला पनि हलुका लाग्थ्यो, किनकि गन्तव्य आँखा अगाडि थियो।

ओरालो लाग्दै हरियाली उपत्यकाको बीचबाट बग्ने खोलाको किनार हुँदै हामी त्रीवेणीधामतर्फ हिड्यौं। विशाल पाटन, अनवरत बग्ने खोला र टाढा देखिने हिमाल, दृश्य अविश्वसनीय सुन्दर थियो।
नजिक पुग्दा ढुंगाका देवलहरू देखिए, हरियालीले ढाकिएका फाँटबीचका यी ढुंगाका टाकुरा यस स्थानको विशेष आकर्षण थिए।

यहाँ ढुंगा थुपार्ने धार्मिक परम्परा पुरानो रहेछ, यात्राको सम्झना वा मनोकामना पूरा होस् भनेर यात्रुहरू ढुंगा राख्छन्। मैले पनि एउटा देवल बनाएँ र मनमनै मेरो मनोकामना पूरा होस् भनेर कामना गरें।
“यी ठूला ढुंगाहरू यहाँ कसरी जम्मा भए होलान्?” भन्ने जिज्ञासाले मनमा घोचो दियो। सायद यही रहस्यले त त्रीवेणीधामलाई अलौकिक बनाएको हो।

त्यही बेला गुरुले हाम्रो लिङ्गामा नेजा फरफराउने कार्य सुरु गर्नुभयो। जब नेजा हाली लिङ्गा आकाशमा उभियो। त्यो दृश्य अपूर्व लाग्यो। पुरै पाटन जयजयकारले गुन्जियो।
“बडिमालिकाकी जय!
गुरु चन्दननाथकी जय!
कनकासुन्दरी माईकी जय!”
साँझ पर्न लाग्दा बास बस्ने तयारी भयो। जुम्लाका लागि निश्चित ठाउँ परापूर्वकालदेखि तय रहेछ। प्रहरी बसेको त्यो ठाउँ हामीलाई सहजै दिए। पाल हाल्यौं, आरती गर्यौं। भोक लागेको थियो, होटल खोज्न निस्किएँ। एउटा सानो होटलमा ३ रोटी र गेडाको तरकारी खाएँ।
प्रति रोटी ५०, गेडाको १५० र चियाको ३० रुपैयाँ रहेछ। यति टाढा यस्तो व्यवस्था खासै महँगो लागेन। भोक हरायो, मन सन्तुष्ट भयो।
राति पाटन उज्यालो टेन्टहरूले चम्किएको थियो — मानौं ताराहरू पृथ्वीमा झरेका हुन्। हजारौं यात्रुहरू पालभित्र रमाइरहेका थिए।

बिहानको पवित्र स्नान…
बिहान ३ बजेदेखि नै स्नान सुरु भइसकेको थियो। म भने ७ बजे त्रीवेणीमा नुहाएँ। भीड अत्यधिक थियो, तर पवित्र जलको स्पर्शले शरीर र आत्मा दुवै ताजगीले भरिए। गुरुले भनेजस्तै जहाँ त्रीवेणी भेटिन्छ, त्यहीँ नुहाएँ।
आरती र टीका ग्रहणपछि फेरि वरिपरि घुमेँ। उच्च हिमाली भेगको विशाल हरियाली पाटन, वरिपरि हिमाल र शीतल बतास लाग्थ्यो, पृथ्वीमा होइन, स्वर्गमै छु। चराहरूको चिरबिर, गोठालोको गीत, यात्रुहरूको हाँसो, पाटन जीवन्त थियो।
त्रीवेणीधाम केवल सौन्दर्यको प्रतीक मात्र होइन, धार्मिक आस्थाको केन्द्र पनि हो। यहाँ नदी–दोभानमा स्नान गर्नु पवित्र मानिन्छ। देशका कुनाकुनाबाट आएका तीर्थालुहरूले नुहाएर पूजा गर्छन्, आशीर्वाद माग्छन्।
पछिल्लो यात्रा मालिका माईका खेततर्फ भयो। टुप्पाबाट हेर्दा लाग्थ्यो, मानौं माईकै खेत हुन्। यहीँ एउटा सुन्दर धर्मशाला पनि बनाइएको रहेछ।
सोलारसहितको, तर सफाइ कम। केही यात्रीहरू पाल उठाएर बडिमालिका तर्फ लाग्दै थिए। बिस्तारै पाटन खाली हुँदै गइरहेको थियो।
गजुर खोसाखोस परम्पराको रोमाञ्च…
अब सुरु हुँदै थियो यात्रा–युद्ध, जसमा जुम्ला र डोटीबीच गजुर खोसाखोस हुने थियो। यस वर्ष दुबै पक्षबीच समझदारी भएको भनिए पनि, पुरानो परम्परा अनुसार खोसाखोस नभए यात्रा अधुरो लाग्थ्यो।
जब दुबै लिङ्गा त्रीवेणीको बीचमा ल्याइयो, जयजयकारको गुन्जनले वातावरण थर्थरायो। पानीमा युवाहरू गजुर खोस्न तानातान गर्न थाले। कोही चिप्लिए, कोही भिजे, तर जोशले कसैलाई रोक्न सकेन। अन्ततः जुम्लाले गजुर जित्यो।
गुरुहरूको भनाइ अनुसार, “जसले गजुर जित्छ, त्यस ठाउँमा त्यो वर्ष फलिफाप हुन्छ।” त्यसैले यो वर्ष जुम्लाको विजय फलदायी हुने विश्वास छ।

यद्यपि गजुर खोस्नेमा कालिकोटका युवाहरू अगाडि थिए, तर कालिकोट पहिला जुम्लामै समाहित भएकाले जीत जुम्लाकै नाममा गयो। त्यसपछि दुबै लिङ्गा एउटै लिङ्गामा मिलाए, एकता र श्रद्धाको प्रतीक बनेर।
विजयको जयजयकार गुञ्जियो,
“गुरु चन्दननाथकी जय!
भैरवनाथकी जय!
कनकासुन्दरी माईकी जय!”
सबै तीर्थयात्री बडिमालिका यात्रातर्फ अघि बढे, मानव सागर जस्तै लामो जुलुसमा म पनि समाहित भएँ, हृदयमा गौरव, आत्मामा श्रद्धा।
आजको यो यात्रा केवल शरीरको यात्रा थिएन, यो आत्माको यात्रा थियो। त्रीवेणी पाटनको सौन्दर्य, धार्मिक आस्था र मानवीय एकताको प्रतीकले मनमा गहिरो छाप पार्यो। जुम्लाको सान, आस्थाको सम्मान र प्रकृतिको दान, यही बन्यो त्रीवेणीधामको सार।
अर्को अध्याय बडिमालिका पुगेको अनुभूति सहित छिट्टै आउनेछ।














