पूर्ख्यौली वृतान्त
मध्यकालीन नेपालको इतिहासमा खस मल्ल राजाहरूको महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । लगभग ११ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म,उनीहरूले अहिलेको पश्चिम नेपाल र भारतको उत्तराखण्डको केही भागमा शासन गरेका थिए । जुम्लाको सिंजा उपत्यका, खस राजाहरूको राजधानी थियो । यी शासकहरूलाई खस जातिको शक्तिशाली योद्धाका रूपमा चिनिन्थ्यो । आफ्नो नामको पछाडि ’मल्ल’ उपाधि जोड्ने भए पनि, उनीहरू काठमाडौं उपत्यकाका मल्ल राजाहरूभन्दा भिन्न थिए ।
तिब्बतीहरूले उनीहरूको राज्यलाई ’यात्से’ भन्थे भने अन्यले ’खस राज्य’ भनेर चिन्थे । खस मल्ल राज्य आफ्नो उत्कर्षको समयमा पश्चिममा गढवालदेखि पूर्वमा काठमाडौं उपत्यकासम्म र उत्तरमा तिब्बतका केही भागहरूमा फैलिएको थियो। जुम्लाको सिंजा उपत्यका यस राज्यको प्रारम्भिक राजधानी थियो यो क्षेत्र नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिन्छ, जहाँ १३ औं शताब्दीका प्रारम्भिक देवनागरी शिलालेखहरू फेला परेका छन् । दुल्लु पनि खस मल्लको एक महत्त्वपूर्ण प्रशासनिक र व्यापारिक केन्द्रको रूपमा चिनिन्छ । खस साम्राज्यका राजाहरूले नेपालको मध्यकालीन इतिहासमा महत्त्वपूर्ण भूमिका निभाएका थिए, र यो साम्राज्य विशेष रूपमा कर्णाली प्रदेशको सिञ्जा उपत्यकामा केन्द्रित थियो ।
पूर्व मध्यकालमा नागराजले स्थापना गरी विकसित गरेको कर्णाली प्रदेशको सिंजा राज्य चौधौं पुस्ताका राजा अभय मल्ल निःसन्तान रहँदा, वि.स. १४५० देखि यो साम्राज्य छिन्नभिन्न हुन थाल्यो । नेपालको इतिहासलाई राजनीतिक विभाजनका आधारमा तीन कालखण्डमा अध्ययन गर्ने गरिन्छ । ती कालखण्डहरू प्राचीन काल, मध्य काल र आधुनिक काल हुन् ।
वि.स. ८३७ भन्दा अगाडिको कालखण्डलाई प्राचीन काल मानिन्छ, वि.स. ८३७ देखि १८२५ सम्मको समय मध्य कालमा पर्छ, र त्यसपछिको समयलाई आधुनिक काल भनिन्छ । प्राचीन कालमा गोपाल, महिषपाल, किरात र लिच्छवी सभ्यताहरूको विकास भएको थियो । लिच्छवी कालमा नेपालको आकार झन्डै अहिलेको नेपाल जत्तिकै ठूलो थियो । मध्यकाललाई पूर्वमध्यकाल र उत्तर मध्यकालमा विभाजन गरिएको छ । पूर्वमध्यकाललाई अन्धकारको युगको रूपमा पनि चिनिन्छ, किनभने यस समयमा पर्याप्त जानकारी उपलब्ध छैन। यस अवधिमा नेपाल मुख्य रूपमा तीन खण्डहरूमा विभाजित थियो। सिंजा क्षेत्र (खस राज्य), सिम्रौनगढ क्षेत्र (तिरहुत वा डोय राज्य), र नेपाल मण्डल (नेपाल राज्य), जुन बागमती क्षेत्र वा काठमाडौँ उपत्यका भनेर पनि चिनिन्छ ।
उत्तरमध्यकालमा, यी राज्यहरू क्रमस : कमजोर हुँदै गए । कर्णाली प्रदेशमा बाइसी राज्य, गण्डकी प्रदेशमा चौबिसी राज्य, बागमती प्रदेशमा तीन मल्ल राज्य र पाल्पादेखि पूर्वी दक्षिणको प्रदेशमा तीन ओटा सेन राज्यहरू थिए । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई विजय गरेर काष्ठमण्डप क्षेत्रलाई राजधानी बनाएपछि आधुनिक कालको सुरुआत भएको मानिन्छ ।
प्रमुख खस राजाहरूः
१. नागराज
तिब्बतको गुंगेबाट आएका नागराजले बाह्रौँ शताब्दीको सुरुतिर कर्णाली प्रदेशको सिंजा उपत्यकालाई राजधानी बनाई खस राज्यको स्थापना गरेका थिए । उनले राज्य सञ्चालनको लागि स्थिति र बन्दोवस्त मिलाएका थिए । यो पूर्वमा त्रिशुली नदी, पश्चिममा लद्दाख, उत्तरमा तिब्बतको गुगे नदी र दक्षिणमा भारतको भागीरथी नदीसम्म फैलिएको थियो ।
सिंजा नगरको ऐतिहासिक महत्त्व र सांस्कृतिक वैभवले यसलाई मध्यकालीन समाजमा आकर्षणको प्रमुख केन्द्र बनाएको देखिन्छ (मल्ल, २०३३) । विद्यमान प्रमाणहरूले यस क्षेत्र तत्कालीन पाल वंशीय शासकहरूको राजधानी रहेको सम्भावना संकेत गर्छ । यहीं पाल शासक र नागराजबीच संघर्ष भएको र अन्ततः नागराज विजयी भई ‘जावेश्वर’ उपाधिले प्रतिष्ठित भएको उल्लेख पाइन्छ । “सिञ्जा नगरमा स्थिति बसाल्नु भयो” भन्ने अभिलेखीय अभिव्यक्तिले नागराजले आफ्नो पूर्व राजधानी खारीबाट स्थानान्तरण गरी सिञ्जालाई नयाँ राजनीतिक तथा प्रशासनिक केन्द्रका रूपमा स्थापित गरेको बोध हुन्छ । दुल्लुस्थित कीर्तिखम्बमा भेटिने विवरण तिब्बती वंशावलीसँग मेल खाने देखिन्छ । यससँगै ‘श्रीपाली वंशावली’ नामक अभिलेखीय स्रोतमा पनि नागराज सम्बन्धी केही विवरण भेटिन्छ । यद्यपि उक्त वंशावलीमा अतिशयोक्ति र अप्रमाणित अंशहरू रहेका छन्, तथापि नागराजको प्रारम्भिक गतिविधिबारे प्रकाश पार्ने सन्दर्भमा यसलाई महत्त्वपूर्ण मानिन्छ । वंशावलीअनुसार राजा नाभका पुत्र प्रतापी बडाराजा नागराज थिए । उनले कार्तिकेयपुरबाट राजधानी श्रीपाल खारीकोटमा स्थानान्तरण गरेका थिए र त्यतिबेला नै वंशलाई ‘श्रीपाली’ नामले चिनिन थालिएको उल्लेख छ ।
बडामहाराजा नागराजले विभिन्न स्थानीय शासकहरू—बडुवालराजा, रावलराजा, पालराजा, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजासँग मिलेर खारीकोटको राज्य विस्तार गरेका थिए । साथै, उनले विभिन्न दिशामा सैन्य विजय प्राप्त गरी सिञ्जा नगरमा सुनको दरबार स्थापना गरेको अभिलेख पाइन्न्छ । यस वंशावलीका अनुसार खारीबाट आएका नागराजले बडुवाल, रावल, पाल, थापा, खड्का, बिष्ट र जाड राजाहरूसँग मुकाबिला गरी तिनीहरूलाई मारी राज्य बस्तिार गरेको कुरा स्पष्ट हुन्छ । यसबाट सो क्षेत्रमा थुप्रै ससाना राज्यहरू रहेको सङ्केत मिल्छ । दुल्लुको कीर्तिखम्बले नागराजभन्दा अघि त्यहाँ पालहरूको शासन रहेको र पराजयी पालहरूलाई स्थानीय शासक वा सामन्तका रूपमा नियुक्त गरेको भन्ने विवरणबाट श्रीपाली वंशावलीमा रहेको नागराजसम्बन्धी सो कुरा सही देखिन्छ ।
२. चाप
नागराजपछि चाप राजा भएको प्रमाण दुल्लु कीर्तिखम्बमा समेत पाइन्छ, जहाँ उनको नाम उत्तराधिकारीका रूपमा उल्लेख छ। यद्यपि, चाप, चापिल्ल, क्राशि चल्ल र क्राधि चल्ल जस्ता नाम मात्र दर्ता गरिए पनि अन्य विवरण त्यत्तिकै छोडिएको देखिन्छ । तिब्बती वंशावलीमा त उनीहरूको नाम समेत उल्लेख नभएकोले कतिपय विद्वान्हरूले चाप प्रभावशाली नभएकाले इतिहासमा उनको महत्त्व कम आङ्किएको हुनसक्ने धारणा राख्छन् (सुवेदी २०५६ः१०६) । तर अर्कोतर्फ, कतिपय लेखकहरूले भने चापलाई महत्त्वपूर्ण शासकका रूपमा चित्रण गरेका छन् ।
कसैकसैले नागराजभन्दा पनि चापको योगदान बढी देखिन्छ भन्ने तर्क गरेका छन् । उनीहरूका अनुसार, नेपाली भाषा–संस्कृति र पुस्त्यौली परम्परामा चापज्यूको नाम विशेष सम्मानसाथ स्मरण गरिन्छ। चाप भन्ने उच्चारणमा समयसँगै ध्वन्यन्तर भएर “चेप्टो” ध्वनि बनेको हुनसक्ने अन्दाज पनि गरिएको छ । यदि त्यो सही मानियो भने, खस साम्राज्यलाई स्थिर र बलियो बनाउन चापको महत्वपूर्ण भूमिका रहेको देखिन्छ। त्यसैले उनलाई जनमानसले अमर स्मरण गरेको हुनुपर्छ । साम्राज्यको विशालता केवल नागराजकै कारण होइन, चापकै नेतृत्व र पराक्रमले पनि सम्भव भएको ठानिन्छ । नागराजलाई खस राजाहरूको आधारस्तम्भ मानिए तापनि, चापलाई जनस्तरमा अझ नजिक र प्रभावशाली रूपमा अनुभव गरिएको धारणा पाइन्छ (यात्री २०४२ः२२–२३) ।
इतिहासकार बद्रीदत्त पाण्डेले पनि यस्तै मत व्यक्त गरेका छन्। उनको भनाइमा, जनताले नागराजलाई टाढाबाट मात्र चिने भने चापलाई प्रत्यक्ष नजिकैबाट अनुभव गर्न पाए, जसका कारण उनको वीरता र विजिगीषालाई गहिरो रूपमा बुझे (कुमाऊँका इतिहास, उद्धृत, यात्री २०४५ः२४) ।
यसै सन्दर्भमा, चापलाई कतिपयले भाषिक र स्थानीय उच्चारणअनुसार फरक–फरक नामले सम्बोधन गरेको पनि देखिन्छ। कतिपयले उनलाई ‘चापज्यू’ भने भने अरूले ‘श्रीजाव’ भन्ने गरे। सम्भवतः यही समयमा स्थानीय ज्योतिर्विदहरूले प्रशस्ति लेखनमा ‘जावेश्वर’को नामलाई महत्त्वपूर्वक अगाडि सार्न थालेका थिए (यात्री २०४२ पृ २२–२३) ।
३. चापिल्ल
राजा नागराजको शासनपश्चात् दुल्लुको कीर्तिखम्ब शिलालेख र अन्य केही स्रोतहरूले चाप र त्यसपछि चापिल्ल नामका शासकहरूको उल्लेख गरेका छन् । यद्यपि तिब्बती वंशावलीमा राजा चापको नाम अनुपस्थित देखिन्छ, तर त्यहाँ चापिल्ललाई ‘ब्वन–फ्यूग–ल्दे’ भनी उल्लिखित गरिएको पाइन्छ । भाषिक दृष्टिले ‘ल्ल’ र ‘ल्दे’ रूपहरू स्वरूपमा नजिक रहेका कारण, त्यसमा ‘चापि’ शब्द जोडिँदा ‘चापिल्ल’ बनेको तर्क गर्न सकिन्छ । यसबाट राजाको वास्तविक नाम ‘चापि’ हुन सक्ने अनुमानलाई आधार मिल्छ । तर, राजाको नाम बाहेक अन्य ठोस ऐतिहासिक विवरणहरू भने उपलब्ध छैनन् ।
यसबाहेक, कतिपय इतिहासकारहरूले चापिल्ललाई उनका पिता भन्दा शासनक्षमतामा कमजोर रहेको टिप्पणी गरेका छन् (सुवेदी २०५६ः१०६) । तथापि, सो निष्कर्षलाई पुष्टि गर्ने ठोस प्रमाण वा थप स्रोतहरू प्रस्तुत गरिएको छैन । यसरी, चापिल्ल सम्बन्धी ऐतिहासिक जानकारी सीमित मात्रामै रहेकाले उनको व्यक्तित्व, शासनशैली वा राज्य विस्तारमा योगदानका विषयहरू अझै अस्पष्ट नै छन् ।
४. क्राशि चल्ल
वंशावली ग्रन्थहरूमा क्राशि चल्ललाई “कसिस–त्वे” नामले पनि अभिलेख गरिएको पाइन्छ । चापिल्ल राजापछि यिनीयस क्षेत्रका राजा भएको दुल्लुको कीर्तिखम्बमा पनि उल्लेख गरिएको भेटिन्छ । यसै आधारमा उनको अस्तित्व ऐतिहासिक रूपमा पुष्टि हुन्छ । तथापि, यिनको जन्ममिति, राजगद्दी आरोहणको समय, शासनकाल तथा निधनसम्बन्धी तथ्यहरूबारे कुनै प्रत्यक्ष वा स्पष्ट ऐतिहासिक स्रोत प्राप्त भएको छैन । त्यसैले उनीबारे विस्तृत विवरण मौन छ र केवल नाम मात्र संरक्षित रहेको देखिन्छ ।
५. क्राधि चल्ल
क्राशि चल्लको उत्तराधिकारीका रूपमा क्राधि चल्लको नाम उल्लेख पाइन्छ । सम्भवतः क्राशि चल्लको निधनपछि परम्परागत रूपमा उनको पुत्र वा उत्तराधिकारीका रूपमा क्राधि चल्ल राजगद्दीमा बसेक थिए भन्ने अनुमान गर्न सकिन्छ। तर, यिनको जीवन–वृत्तान्त, जन्म मिति, राजगद्दी आरोहणको वर्ष, शासनकालका उपलब्धि वा घटनाहरू बारेमा कुनै पनि ठोस अभिलेख वा शिलालेख प्राप्त भएको छैन । यसरी, क्राधि चल्लको ऐतिहासिक विवरण पनि पूर्ववर्ती राजाहरूझैँ अपूर्ण र अस्पष्ट छ, जसले गर्दा उनीहरू केवल नाममार्फत मात्र इतिहासमा चिनिएका छन् ।
६. क्राचल्ल
क्राशिचल्लपछि क्राचल्ल राजा भएका हुन् । यिनी सिंजाका छैटौं राजा थिए । उनी नागराजपछिका शक्तिशाली राजा थिए । यिनी आवश्यक्ताअनुसार विभिन्न कुटनीतिक योजनाहरू बनाउने र कार्यान्वयन गर्ने काममा निकै सिपालु थिए । कुमाउँको बालेश्वर महादेवको मन्दिरमा राखिएको सिलालेखमा क्राचल्लको योगदानको चर्चा गरिएको छ । यिनले आफ्नो राज्य कुमाउँसम्म विस्तार गरेका थिए । यिनको राज्यारोहणपछि खस राज्यको प्रमाणिक इतिहास सुरु भएको मानिन्छ । सुर्खेतको काँक्रेबिहारको निर्माण यिनैले गराएका थिए । शक संवत् ११४५ (ई.स. १२२३) मा कुमाऊँस्थित बालेश्वर मन्दिरमा प्राप्त ताम्रपत्र खस साम्राज्यका राजाहरूको कालक्रमबारे प्रमाण दिने पहिलो अभिलेख मानिन्छ । यसमा क्राचल्लले मन्दिरको पूजा–पाठका लागि दान गरेको उल्लेख छ, जसले उनलाई प्रतापी, शूरवीर र प्रभावशाली शासकका रूपमा चिनाउँछ ।
कान्तिपुरमाथि विजय प्राप्त गरेको भनाइ कतिपय लेखकले लेखेपनि ठोस प्रमाण भने छैन । बरु उनका अभियानहरू कुमाऊँ क्षेत्रमा सफल भएका देखिन्छन् । प्रारम्भमा खस साम्राज्यमा समाविष्ट कुमाऊँ पछि स्वतन्त्र हुन खोज्दा, क्राचल्लले ठूलो सेनासहित सैन्य अभियान चलाए । कार्तिकेयपुरमा भएको युद्धमा तीव्र संघर्षपछि स्थानीय शासक पराजित भएपछि कुमाऊँ खस साम्राज्यभित्र स्थायी रूपमा समाविष्ट भएको देखिन्छ । कुमाऊँ विजयपछि उनले बालेश्वर मन्दिरलाई नयाँ स्वरूपमा पुनर्निर्माण गरे र त्यहाँ अभिलेख रखाए ।सोही ताम्रपत्रमा उल्लेख भएअनुसार आठ माण्डलिक र दुई राउत राजाहरूले क्राचल्लको अभियानमा प्रत्यक्ष सहयोग गरेका थिए । उनीहरूलाई ’मित्रामात्य’ भनी सम्मान दिइएको छ । यसले साम्राज्यभित्रका विभिन्न खस सामन्तहरूमा क्रा चल्लको प्रभाव र नेतृत्व क्षमताको प्रष्ट संकेत गर्दछ । साथै विजयको अवसरमा उनले एक रुद्र बालेश्वरलाई भूमिदान गरेका थिए । कुमाऊँ विजयपछि उनले त्यहाँका ब्राह्मण पुजारीहरूलाई विर्ता र गुठी जमिन दिए । यसबाट उनको शासनमा धार्मिक सहिष्णुता र हिन्दूधर्मप्रतिको आदर झल्किन्छ । यद्यपि उनले आफूलाई परमसौगात (बुद्धका उपासक) भनेर पनि चिनाउन चाहन्थे, जसले गर्दा हिन्दू–बौद्ध दुवै परम्पराप्रति सम्मान गर्ने नीति अपनाइएको बुझिन्छ ।
अभिलेखमा उनलाई पाण्डव, राम, भीष्म र अर्जुनसँग तुलना गरी प्रशंसा गरिएको छ, जुन तत्कालीन परम्पराअनुसार शक्तिशाली शासकलाई देवतासमान चित्रण गर्ने प्रचलन थियो । यसले उनको वीरता, धनुर्विद्या र नेतृत्व क्षमतालाई उजागर गर्छ ।
उनले व्यापारिक तथा कूटनीतिक दृष्टिले पनि साम्राज्यलाई सुदृढ पारेको देखिन्छ । तिब्बत, सुर्खेत, बर्दिया हुँदै भारतसम्म जाने व्यापारी मार्गहरू निर्माण गरेर दुल्लुलाई विराट्स्थान र सिंजालाई प्रमुख हाटबजारको रूपमा विकास गरे । यही कारण पछि ‘सिंजा हाट, दुल्लु विराट’ भन्ने लोकोक्ति प्रचलनमा आएको हो । यसरी हेर्दा, क्राचल्ल खस साम्राज्यका ती शासकमध्ये एक थिए जसले आफ्नो सैन्य शक्ति, धार्मिक सहिष्णुता, सामन्तहरूसँगको सहकार्य र आर्थिक विकासमार्फत साम्राज्यलाई सुदृढीकरण गरी ठोस योगदान पुर्याएको देखिन्छ ।
७. अशोक चल्ल
सम्राट क्राचल्लको मृत्युपछि छोरा अशोक चल्ल विशाल साम्राज्यको सम्राट बनेका थिए । सम्राट नागराजबाट थालनी भएको साम्राज्य निर्माणलाई उनका उत्तराधिकारीहरूले थामेनन् मात्र, अझ त्यसलाई विस्तृत पार्ने उद्योग पनि गरे । साम्राज्यको बिस्तार कार्यमा इँटा थप्ने काममा अशोक चल्लको नाम अग्रपङ्क्तिमा आउँछ । नागराज र उनका उत्तराधिकारीहरूको मूल्याङ्कन गर्दा हरेक दृष्टिले अशोक चल्ल सबैभन्दा प्रभावशाली र प्रतापी देखिन्छन् ।
अशोक चल्लको बाबु क्राचल्ल ई.सं. १२२३ सम्म राजा नै थिए । यसपछि अशोक चल्ल राजाभएको देखिन्छ । यसरी नै उनका छोरा जितारी मल्लले नेपाल मण्डलमा प्रथम सैन्य अभियान थालेको इ.सं. १२८७ मा हो । यस प्रकार अशोक चल्लको शासन दीर्घकाल रहेको थाहा हुन्छ । आफ्नो शासनकालमा अशोक चल्लले कुमाऊँभन्दा पनि अझ पश्चिम बढेर गढवाल विजय गर्नुका साथै त्रिशूलस्तम्भ खडा गरी अभिलेख पनि राखेको पाइन्छ । गढवाल गोपेश्वरमा पाइएको अभिलेखमा अशोक चल्ललाई बेतालका राजा विक्रमादित्यजस्तै दानवभूतलका राजा भनिएको छ । साथै आफ्नो ’सर्वगामिनीबाहिनी’ द्वारा केदारभूमि विजय गरेको वर्णन पनि गरिएको छ । दानवभूतल र केदारभूमि भनेको कुमाऊँ गढवाल भेक हो (अ.स. ३) । कुमाऊँ गढवालका राजाहरू अशोक चल्लको अधीनस्त भएको कुरा तत्कालिन राजा पुरुषोत्तम सिंहको गयास्थित अभिलखेबाट पनि पुष्टि हुन्छ । उक्त अभिलेख, राजा पुरुषोत्तम सिंह र बोधगयासँगको सम्बन्धबारे अन्य अध्यायमा बिस्तारपूर्वक चर्चा गरिएको छ ।
अशोक चल्लबाट खश साम्राज्यको पूर्वी सीमा गण्डकी प्रदेश कायम भएको अनुमान हुन्छ । यदि यो अनुमान सही हो भने गण्डकीलाई आफ्नो सीमान्त प्रदेश बनाई त्रिशूली नदीपारिको नेपाल मण्डललाई मित्र राष्ट्रको रूपमा अपनाउने कार्य अशोक चल्लबाट भएको मान्न सकिन्छ । तर, यस सम्बन्धमा कुनै लिखत वा पुरातात्विक साक्षी खश साम्राज्य तथा नेपाल मण्डलबाट उपलब्ध भइसकेको छैन ।
(यो लेखमा खस साम्राज्यकालिन सबै राजाहरुको अभिलेख समेटिएको बाँकी राजाहरूको विषयमा लिखित उक्त लेख अर्को भागमा समेटिनेछ।)