संघीय सरकारदेखि कोशी, कर्णाली र गण्डकी प्रदेशका लोकसेवासम्म उनी नाम निकाल्न सफल भए। गण्डकी प्रदेशमा अन्तर्वार्ता भइसकेको छ, नतिजा आउन बाँकी छ। अरू तीनवटाको अन्तर्वार्ताको पर्खाइमा उनी छन्।
जुम्लाको पातारासी गाउँपालिका–७ ऋणीमा जन्मिएका कर्ण विर बुढाको नाम अहिले गाउँघरदेखि शहरसम्म चर्चा हुँदै छ।
कारण एउटै हो, उनले पहिलो वर्षमै लोक सेवा आयोगको चार–चारवटा परीक्षामा नाम निकाल्न सफल भएका छन्। सधैंआफ्नो छोराको सफलतामा आँसु पुछ्ने उनकी आमा भने आज गर्वले आँसु झार्दैछिन्।
कर्णविरको जीवन सामान्य थिएन। सामान्यताभन्दा बढी संघर्ष, पीडा र अभावले भरिएको थियो। गाउँकै सरस्वती माध्यमिक विद्यालयमा उनको पढाइ सुरु भयो।
गाउँकै स्कुलमा पढ्दा उनी किताबसँगभन्दा खेतबारीसँग बढी नजिक थिए। किनकि, पढाइभन्दा पहिल्यै परिवारलाई धान्ने जिम्मेवारी उनको काँधमा थियो।
तर, आमाको अठोट फरक थियो। आमाले हरेक दिन खेतमा उब्जिएको आलु बुट्याइन्, बजारमा बोक्न पाइला थाक्दा पनि बोकिरहिन्।
यही आलु बेचेर उनले छोराको पढाइको बाटो खोलिदिइन्। जब उनका श्रीमान् नशाको रेगले घर धान्न नसक्ने भए, त्यही आलुले मात्र घरको चुलो बलेको थियो।
कर्णविर भन्छन्, “आमाले आलु बेचेर मलाई पढाइदिनुभयो, त्यही मेरो जीवनको आधार हो।”
विद्यालय सकेपछि उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एचए पढ्न प्रवेश परीक्षा दिए। मेरिट लिस्टमा पाँचौं नम्बरमा नाम आयो। तर छात्रवृत्ति भने मिलेन।
पैसाको ठूलो संकट पर्यो। आखिर मामासँग पाँच लाख ऋण लिएर पढाइ सुरु गर्नुपर्ने भयो। ऋण तिर्न नसक्दा जग्गा नै मामाको नाममा गरिदिनुपर्यो।
त्यो घडी सजिलो थिएन। तर, आमाले भने हार मानिनन्। छोरालाई पढाइमा लगनशील बनाइन्। खाना जुटाउन उहाँले फेरि आलु नै बेचिरहिन्।
गाउँमा भनाइ चल्यो, “कर्णविरकी आमाले आलुले छोरालाई डाक्टर बनाउन खोजेकी छिन्।” तर, त्यही व्यंग्यमा भविष्य लुकेको थियो।
पहिलो वर्ष पढ्दा उनलाई ठूलो समस्या आयो। अंग्रेजी कमजोर भएकै कारण कक्षा पुछारमा परे। धेरैजसो साथीहरूले टाउको हल्लाइदिए, “यो त सक्दैन।”

तर, उनी हार मानेनन्। बिहान–बेलुकी मेहनत गर्न थाले। जसरी आमाले आलुको बोरा बोक्दै हार मानिनन्, त्यसरी नै उनले किताब बोकेर हार मान्न छाडे।
तेस्रो वर्ष पुग्दा उनी कक्षामै पहिलो भए। क्लास टप गर्नासाथ उनको आत्मबल अझै बढ्यो।
तर, किन स्वास्थ्य क्षेत्रमा? यसको एउटा भावनात्मक कारण छ। सानैमा उनको हात भाँचिएको थियो। अस्पतालमा लगे पनि डाक्टर थिएनन्।
उनको अप्रेसन हात भाचिएको ११ दिन पछि मात्रै भयो। त्यस पीडाले उनलाई भित्रैदेखि पोल्यो। “डाक्टर नभएको कारणले अरू बच्चाले पनि यस्तो दुःख भोग्नु नपरोस् भन्ने लागेर मैले स्वास्थ्य पढेँ,” उनी भन्छन्।
यो पीडाले उनलाई अझै बलियो बनायो। पढाइ सकेर प्रतिष्ठानमा शीर्ष विद्यार्थी बन्न उनी सफल भए। आमाको सपना अझै ठुलो भएको थियो।
उनले छोरालाई लोक सेवा आयोगको तयारी गर्न काठमाडौं पठाइन्। ऋण त पहिले नै थुप्रिएको थियो, तर आमाले पैसाको हिसाब गरिनन्। गर्वले मात्र हिसाब गरिन्।
काठमाडौँमा एक वर्ष बस्दै कर्णविरले तयारी गरे। मेहनत, धैर्यता र आमाको त्याग मिलेर आज उनी चार–चारवटा नाम निकाल्न सफल भएका छन्।
संघीय सरकारदेखि कोशी, कर्णाली र गण्डकी प्रदेशका लोकसेवासम्म उनी नाम निकाल्न सफल भए। गण्डकी प्रदेशमा अन्तर्वार्ता भइसकेको छ, नतिजा आउन बाँकी छ। अरू तीनवटाको अन्तर्वार्ताको पर्खाइमा उनी छन्।
गाउँमा अहिले कर्णविर मात्र होइन, उनकी आमाको पनि चर्चा छ। “आलुले छोरालाई लोकसेवामा पास गरायो” भन्ने भनाइ नै गाउँलेहरूको मुखमा आएको छ।
कर्णविर आज पनि आफ्नो संघर्ष सम्झन्छन्। “मेरो गाउँको आलुले मलाई बचायो, म जीवित रहन सकेँ। आज म जहाँ छु, आमाले गरेको त्यागकै कारणले छु,” उनी भावुक हुँदै भन्छन्।
वास्तवमा, उनको सफलता व्यक्तिगत मात्र होइन, सामूहिक सफलता हो। घरको आर्थिक अवस्था, आमाको आँसु, बुबाको नशा, बहिनीको पढाइ, मामाको ऋण र सबैभन्दा महत्त्वपूर्ण छन्। अनि आलुको बोरा बोक्ने आमाको पसिना यी सबै मिलेर बनेको हो कर्णविरको विजयगाथा।
आज उनले पहिलो वर्षमै चारवटा नाम निकाल्दा, त्यही आमा गर्वले गाउँभरि हिँड्छिन्। आँखा रसाएर भन्छिन्, “मसँग धन थिएन, जग्गा थिएन, थोरै आलु थियो। त्यही आलुले मेरो छोरोलाई यहाँ पुर्यायो।”















