क्वा गाउँका सबै गाउँलेले हामीलाई भावपूर्ण बिदाइ गरे। हाम्रा झोला तयार भइसकेका थिए, अन्तिम गन्तव्य बडिमालिकामा पुग्नैपर्ने थियो। त्यसैले होला, भारी झोलाको बोझ पनि हामीले सहजै स्वीकार्यौं र सबै यात्रीहरू लामवद्ध भई जयजयकार गर्दै अगाडि बढ्यौं।
“बोलो बडिमालिकाकी जय!
बोलो क्वा मष्टकी जय!”
गाउँको श्रद्धा…
गाउँ छाड्नेबित्तिकै एकछिनअघि हल्लै, हल्लाले भरिएको त्यहीँ बस्ती तुरुन्तै शान्त भयो। गाउँका बुढाबुढीहरू हातमा कासको थाल, त्यसमा भेटी, अक्षता र फलफूल राखी बाटोमा पर्खिएका थिए।
उनीहरूको श्रद्धाभाव हेर्दा लाग्थ्यो, धर्म र आस्थाभन्दा ठूलो केही हुँदैन। म भित्रैभित्रै खुसी हुन्थेँ कि यो यात्रामा सहभागी हुन पाएको छु। मनमनै सबैको जय होस् भनेर प्रार्थना गर्थेँ।
माझाचौरको आतिथ्य…
उकाली, ओरालो, जंगल र खोला पार गर्दै हाम्रो बिहानको खाना मुगु खत्याडको माझाचौरमा हुने तय थियो।

त्यहाँ एकजना जुम्लाका स्वास्थ्यकर्मी वर्षौंदेखि कर्मथलो बनाई बसिरहेका रहेछन्। विगत केही वर्षदेखि उनी जुम्लाबाट आउने बडिमालिका यात्रीलाई निःशुल्क भोजन खुवाउँदै आएका रहेछन्।
त्यहाँ पुगेपछि भारी बिसायौं, शीतलता खोज्दै घर वरिपरि बस्यौं। गर्मी हावापानीले शरीर ताते पनि उनीहरूले खानेपानीको राम्रै व्यवस्था गरेका थिए। घर वरिपरिका मान्छेहरू हाम्रो सेवामा खटिएका थिए।

हाम्रा समूहका भुवन र उनकी श्रीमतीले खाना पकाउने काम थाल्नुभयो। उहाँहरू प्रायः हामिलाई खाना पकाई खुवाउनु हुन्थ्यो। चाहिने सामग्रीको जोहो पहिले नै भइसकेको थियो। साथमा लगेका चामल, धुलो मसला त्यहीँ राखियो, फर्किदा खानका लागि भनेर।
अरू कसैले तरकारी केलाए, कसैले अचार बनाए, कोही विश्रामका लागि छुट्टै कोठामा गए। म र धिरेन्द्र बजारभन्दा तलको खोलामा गयौं। तातिएको शरीरलाई चिसो पानीमा नुहाएर शान्त पार्यौं। यसरी नुहाउँदा लाग्थ्यो—जुनसुकै थकाइ पनि पानीले बगाएर लगिदिन्छ।

हाँसोको क्षण…
खाना तयार भइसकेपछि सबैजना भेला भयौं। ठूला कदका सुमनजी पेटमा हात लगाउँदै “आम्मै” भन्दै घोप्टो पारी खाना खान आउँदा सबैजना खित्का छोडेर हासेका थियौं।
भोकले नै होला यस्तो हालत भएको रहेछ। मीठो खाना खाइयो, शरीरमा फुर्ति आयो। थोरै आरामपछि झोला कसी फेरि यात्रा सुरु गर्यौं।

“चन्दननाथकी जय!
बडिमालिकाकी जय!
खाना खुवाउनेको जय होस्!”
रातापानीकी बज्यै…
बाटोमा कहिले सानो खोला, कहिले उकालो, ओरालो, कतै हिलाम्य, कतै ढुङ्गाले गर्दा यात्रा जोखिमपूर्ण थियो। खासगरी गुरुले बोकेको गाथ अलि भारी नै थियो।

सफा ढुङ्गा वा सुरक्षित अल्को ठाउँमा मात्र राख्न वा झुन्ड्याउन सकिन्थ्यो। गुरु लाई पनि गाथ बोक्न गार्हो नै थियो एउटै काँधमा बोक्नु पर्ने। हामी सबै त्यसैको प्रतीक्षामा हुन्थ्यौं—“अब ढुङ्गा भेटिन्छ कि? अब विश्राम पाउँला कि?” भनेर।
यात्रा गर्दै जाँदा हामी मुगुको रातापानी पुग्यौं। त्यहाँ एक ९० वर्षकी बज्यै बस्नुहुँदो रहेछ। उहाँ सधैं मालिकाको गाथ दर्शनको प्रतीक्षामा बस्ने गर्नु हुने रहेछ। गाथ देख्नासाथ टीका, भेटी, प्रसाद र पहेंलो जमरा दिएर स्वागत गर्नुभयो।
यति धेरै लगाव देख्दा म अचम्मित भएँ। पहेंलो जमरा हाम्रै लागि तयार गर्नु भएको रहेछ। खुसी लाग्यो उहाँको भक्तिभाव देखेर। त्यति मात्र होइन, बज्यैले मधुर स्वरमा मागल पनि गाउनुभयो। त्यो स्वर कस्तो मीठो! कस्तो जागर! मैले रेकर्ड पनि गरें। उहाँलाई देखेर मनमनै प्रार्थना गरें, “बडिमालिकाले सधैं रक्षा गरून्, बज्यैको जय होस्।”
यात्रामा साथ दिएका विनोद भने निरन्तर जिस्काइमा परेका थिए, “कति मुख धुनु, एकैचोटि टीका लगाइहाल्छन्” भन्दै। हामी हास्दै बाटो अघि बढ्थ्यौं। प्रसादमा दिइएको मीठो केरा खाएर फेरि जयजयकार गुञ्जाउँदै यात्रातिर लाग्यौं।

झङ्गारको बास…
साझ ढल्किँदै जाँदा हाम्रो हिँडाइ अझ तीव्र भयो। हुम्ला–कर्णाली नदी छेउ, पुरानो शैलीका घर, सुख्खा पाखा र हरिया धानका फाँट नियाल्दै हामी बेलिब्रिज नजिकैको झङ्गार गाउँ पुग्यौं।
त्यहाँ एक बुढी आमाले लिपपोत गरेर पाल ओछ्याएर सफा चिटिक्क कोठा तयार पार्नुभएको थियो। उहाँ र गुरुबीच पहिल्यै चिनजान रहेछ।
उहाँहरू भलाकुसारी गर्न थाल्नुभयो। हामी भारी बिसाएर विश्राम गर्न थाल्यौं। म र धिरेन्द्र बेलिब्रिजमा गएर खुट्टा झुण्ड्याएर कर्णाली नदीको छालसँग खेल्यौं।
तल नदी हाम्रो भन्दा पनि तीव्र गतिमा दौडिरहेको थियो। मानौं जीवनभन्दा अगाडि। खै हामी बडिमालिका पुग्नका लागि यात्रा गरिरहेका छौं, यो नदी कहाँको यात्रामा यसरी दौडिरहेको छ? उहीँ नदीलाई थाहा होला।
भोजनको व्यवस्था भयो। बेलुकी पानी पनि पर्यो। केही साथीहरू बास माग्न गए, म भने गुरु र गाथसँगै बसेर आरतीमा सहभागी भएँ र त्यहीँ निदाएँ।
बिहानको तयारी…
बिहान सबेरै गुरुले उठाउनुभयो, “उठ, मुख धुन जाउ। आरती सकाएर हिँड्नुपर्छ, आजको बाटो अलि लामो छ।” शरीर पुरै दुखाइले थिचिए पनि यात्रा रोक्ने विकल्प थिएन। सबै यात्रुहरू रेनकोट र प्लास्टिक ओढेर लामवद्ध भयौं। हिँड्यौं मुगुको यात्रा सकाएर बाजुराको बडिमालिका यात्रामा…
जयघोष फेरि गुञ्जियो,
गुरु चन्दननाथकी जय!
बटुक भैरवनाथकी जय!
कनकासुन्दरी माइकी जय!
बडिमालिकाकी जय!
अर्को बासको अलि दुःखपूर्ण यात्रा अर्को भागमा क्रमशः आउनेछ।