मंगलवार, १३ माघ, २०८२

निमित्त उपकुलपतिको खुला पत्र: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति साझा उत्तरदायित्व बहन गरौं

आदरणीय कर्णालीवासी, राजनीतिज्ञ, जनप्रतिनिधि, नीति निर्माता, शिक्षाविद्, स्वास्थ्यकर्मी, सरोकारवाला र सम्पूर्ण जनसमुदायप्रति,

जय कर्णाली! नमस्ते!

यो पत्र मेरो मनको गहिराइबाट लेखिएको छ। यो केवल एक निमित्त उपकुलपतिको औपचारिक सम्बोधन होइन, बरु कर्णालीको माटोप्रति मेरो गहिरो प्रेम, यहाँका जनताको दु:खसुखप्रति मेरो संवेदना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति मेरो अटल समर्पणको अभिव्यक्ति हो। यो पत्र तपाईंहरुसम्म पुग्ने बाटो हो। तपाईंहरुलाई कर्णालीका लागि लागौं भन्ने आह्वान हो। आउनुहोस्, हामी मिलेर कर्णालीको भविष्य कोरौँ।

कर्णालीको पुरानो कथा र नयाँ सपना
कर्णाली हाम्रो प्यारो माटो। जहाँ पहाडहरूले आकाश छुन्छन्, तर जीवनका आधारभूत सुविधाहरूले भने सधैँ पछाडि छोडे। बाटो थिएन, स्कूल थिएन, अस्पताल थिएन, भएका स्वास्थ्य चौकीमा सिटामोल थिएन।

बिरामीले डाक्टरको मुख हेर्न दिनहरू कुरिन्थ्यो, लाखौँ खर्चेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ वा भारत पुग्नुपर्थ्यो। यो थियो हाम्रो कर्णालीको पुरानो परिचय। तर आज समय फेरिएको छ। हामीसँग बाटो छ, स्कूल छ, अस्पताल छ र सबैभन्दा ठूलो कुरा हामीसँग हाम्रो पसिनाले सिञ्चित, बास्नादार माटोको गर्व छ।

यो परिवर्तनको साक्षी हो, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान। यो कर्णालीको मुटुको धड्कन हो। यो हाम्रो सपना, हाम्रो स्वाभिमान र हाम्रो भविष्यको आधारशिला हो।

प्रतिष्ठानले कर्णालीको स्वास्थ्य र शिक्षाको क्षेत्रमा युगान्तकारी मोड ल्याएको छ। यो केवल भौतिक विकास होइन, यो सोच, संस्कृति र सम्भावनाको नयाँ अध्याय हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: परिवर्तनको संवाहक
वि.सं. २०६८ मा जुम्लाको हृदयभूमिमा स्थापना भएको यो प्रतिष्ठान आज कर्णालीको गौरव बनिसकेको छ। जहाँ पहिले बिरामीले घण्टौँ हिँडेर उपचार खोज्थे, आज त्यहीँ सयौँ विशेषज्ञ चिकित्सकहरू सेवा दिइरहेका छन्।

जहाँ शिक्षाको उज्यालो किताबमा मात्र सीमित थियो, आज त्यो कक्षाकोठा, प्रयोगशाला र अपरेशन थिएटरमा जीवन्त भएको छ। MBBS, BNS, MPH जस्ता कार्यक्रमहरूले कर्णालीका छोराछोरीलाई डाक्टर, नर्स र स्वास्थ्यकर्मी बनाइरहेका छन्। यो सपना होइन, यो हाम्रो वास्तविकता हो।

यो प्रतिष्ठानले मातृ–शिशु मृत्युदर घटाएको छ, पोषण सुधारेको छ, रोग नियन्त्रण गरेको छ। यसले रोजगारी सिर्जना गरेको छ, स्वास्थ्य खर्च घटाएको छ र कर्णालीको मानव विकास सूचकांकलाई बलियो बनाएको छ। यो केवल एक शैक्षिक संस्थान होइन, यो कर्णालीको समृद्धिको मेरुदण्ड हो।

हाम्रो साझा उत्तरदायित्व
यो प्रतिष्ठान हाम्रो हो। यो कर्णालीको माटोमा उम्रिएको छ, हाम्रो पसिनाले सिञ्चिएको छ, हाम्रो सपनाले बनेको छ। तर, यो बलियो बनाउन हाम्रो साझा लगानी चाहिन्छ। पैसाको मात्र होइन, मनको, समयको, विश्वासको र हातको। हामी प्रत्येकको भूमिका यो प्रतिष्ठानको भविष्य लेख्न महत्त्वपूर्ण छ।

अभिभावकहरूले आफ्ना बच्चालाई कर्णालीमा पढ्न प्रेरित गरिदिएको खण्डमा यो माटोको मायाले उनीहरूको भविष्य बनाउनेछ।

स्थानीय सरकारले प्रतिष्ठानका योजनामा सहकार्य गरिदिए, स्रोत जुटाउन सहयोग गरिदिए, कर्णालीको स्वास्थ्य र शिक्षालाई बलियो बन्न कुनै आइतबार कुर्नु पर्दैन।

विद्यार्थीहरूले यो माटोको माया बोकेर पढिदिए, फर्केर यहीँ सेवा गर्ने सपना बुन्दिए, हाम्रो भविष्य उनीहरु नै हुनेछन्।

जनप्रतिनिधिहरूले यो संस्थाको शुद्धिकरण, स्रोत व्यवस्थापन, रणनीति र विस्तारको नेतृत्व मात्रै लिन सके यसलाई भेटाउने अर्को संस्था हुनेछैन।

कर्मचारीहरूले यो जागिर होइन, यो सेवा हो भनी इमानदार र निष्ठाले काम गरिदिए, स्वाग्राहीले सेवा लिँदा अनुशासित भइदिए, सुझाव दिए र संस्थामाथी विश्वास राखिदिए कर्णाली बन्छ भन्ने आत्मविश्वास सगरमाथा जतिको उचो हुनेछ।

चिकित्सकहरूले कर्णालीका जनताको पीडालाई आफ्नै ठानेर सेवा गरे उनीहरुको हातमा समग्र कर्णालीको जीवनको आशा रहेनछ।

प्रशासकहरूले पारदर्शिता, निष्ठा र दूरदृष्टिसहित यो संस्थालाई सक्षम बनाउन काम गरे भने पदाधिकारीहरूले निजी स्वार्थ त्यागेर सार्वजनिक सेवालाई केन्द्रमा राखी नेतृत्व गर्नेछन्। जसको निर्णयले कर्णालीको पुस्तौँ पुस्ताको भविष्य कोर्नेछ।

त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठौँ। यो प्रतिष्ठान कुनै व्यक्तिको स्वार्थ पूर्तिको भाँडो होइन। यो कर्णालीको गर्व, स्वाभिमान, र भविष्यको आधारशिला हो।

यसलाई बलियो बनाउन हामीले “मेरो” सोचलाई “हाम्रो” सोचमा बदल्नुपर्छ। जबसम्म हामी खोला वारि-पारिको साँघुरो घेराबाट माथि उठ्दैनौँ, कर्णालीको सपना अधुरो रहन्छ। यो हाम्रो साझा धर्म हो—व्यक्तिगत स्वार्थ त्यागेर, साझा सपनाको बाटोमा हिँडौँ।

म, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक र निमित्त उपकुलपतिको हैसियतले, यो संस्थाको एक सिपाही हुँ। मेरो हरेक सास यो प्रतिष्ठानको उन्नति र कर्णालीको समृद्धिका लागि समर्पित छ। म पारदर्शी, निष्पक्ष र कानुनसम्मत ढङ्गले काम गर्छु। यो प्रतिष्ठानको मान, मर्यादा र सपनालाई जीवन्त राख्न म दिनरात खटिनेछु।

अन्त्यमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केवल एक भवन होइन, यो हाम्रो साझा अभिभारा हो, साझा सपना, साझा पहिचान हो। त्यसैले यसलाई बलियो बनाउनु हाम्रो साझा कर्तव्य हो।

आउनुहोस्, हामी व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित बनौँ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, कर्णालीको समृद्धिका लागि हातेमालो गरौँ। किनभने, यो प्रतिष्ठान बलियो भए मात्र कर्णाली बलियो हुन्छ।

जय कर्णाली! जय कास!
तपाईंको सिपाही,
डा. डबल बहादुर धामी
निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, नेपाल
मिति: २०८२/०३/१०

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार