मंगलवार, ३ असार, २०८२

अछामका कथा: पहाडको पीडा, संघर्ष र सपना

अछामका हजारौं युवाहरू आफ्ना सपना पूरा गर्न गाउँ छोड्छन्। महिलाहरू अझै पनि विभेद सहन्छन्। दलितहरुले जातिय विभेद सहन्छन, विकास अझै सुस्त छ।

नेपालको सुदूरपश्चिममा अवस्थित सुन्दर तर दुर्गम जिल्ला हो अछाम। हरियाली जंगल, ठूला पहाड, अनि हिमाली चिसो हावाले यो जिल्लालाई मनमोहक बनाएको छ। तर, प्राकृतिक सुन्दरताभन्दा पर अछामका बासिन्दाहरूको जीवन कहिल्यै सहज भएन। यहाँका मान्छेहरूको कथा मात्र सुन्दरताले भरिएको छैन, बरु संघर्ष, दुःख, परिश्रम र बलिदानको गहिरो छायाँले भरिएको छ।

मनबिरेको यात्रा: विदेशिन बाध्य एक युवा
मनबिरे अछामको एक विकट गाउँमा जन्मिएको थिए। उनी बाल्यकालदेखि नै तेजस्वी थिए। उनी गाउँको सरकारी स्कुलमा ९ कक्षामा पढ्थे। विद्यालय पुग्न उनलाई दैनिक दुई घण्टा जति पैदल हिँड्नुपर्थ्यो। उनका बुवा भारतमा सेक्युरिटीको काम गर्थे, आमा गाउँमै खेतबारीमा काम गर्थिन्।

“मनबिरेको सपना थियो “शिक्षक बन्ने”, तर उनको भाग्यले उनलाई अर्कै बाटो देखायो।

“छोरो, पढ्न त धेरै राम्रो हो, मेहनती पनि हो, तर घरमा चुलो बल्नै गाह्रो छ,” उनकी आमाले एकदिन भनिन्।

त्यसपछि, १५ वर्षको उमेरमै मनबिरे गाउँ छोडेर भारततिर हिँडे! उनले भारतमा मजदूरी गर्न थाले।

भारतको घामले उनको गाला पोले, ईंटा बोक्दा हातमा चाला उठ्यो, तर घर फर्किन पैसा थिएन। उनले परिवारलाई पठाएको पैसाले भाईको पढाइ अगाडि बढ्यो। पाँच वर्षपछि जब “मनबिरे”गाउँ फर्किए, भाई शिक्षक बनेका थिए। गगन मुस्कुराए। उनको सपना भाइ मार्फत पूरा भएको थियो। तर, उनलाई एउटा पीडा थियो, “विदेशिनु नपर्ने समाज कहिले बनाउँला?”

सुन्तलीको संघर्ष: छाउपडी प्रथा र शिक्षाको उज्यालो
अछाम अझै पनि केही पुरातन प्रथाहरूले जकडिएको समाज हो। तीमध्ये एक हो छाउपडी प्रथा। महिनावारी हुँदा महिलाहरूलाई गोठमा बस्न बाध्य पार्ने यो परम्पराले धेरै जसो महिलाहरूको जीवन कष्टकर बनाएको छ।

सुन्तली १३ वर्षकी थिइन्, जब पहिलोपटक उनलाई महिनावारी भयो। उनकी आमाले उनलाई घरबाट बाहिर पुर्‍याइन् र भनिन्, “पाँच दिन गोठमै बस, घर छुँदा अपशगुन हुन्छ।”

सुन्तली बेस्सरी रोइन्। तर समाजले उनलाई विरोध गर्ने हिम्मत दिएन। एक रात जब उनी गोठमा थिइन्, हिउँदको जाडोले उनलाई काप्न बाध्य पार्यो। जब बिहान भयो, उनकी सानी बहिनी उनलाई भेट्न आएकी थिइन्।

“दिदी, तँ किन यहाँ बस्ने?”

सुन्तलीले जवाफ दिइनन्, बरु आफ्नो भविष्य बदल्ने सोचिन्। विद्यालयमा पढ्ने क्रममा उनले थाहा पाइन् कि छाउपडी एक सामाजिक कुरीति हो। उनले बिस्तारै गाउँका महिलाहरूलाई यो प्रथाबारे बुझाउन थालिन्। उनका आमाले सुरुमा विरोध गरे, तर जब गाउँका अरू शिक्षित दिदीबहिनीहरू उनको साथमा उभिए, समाजले यो परम्परा तोड्न थाल्यो।

आज सुन्तली सामाजिक अभियन्ता छिन्। उनी गाउँमा छाउपडी प्रथा विरुद्ध अभियान चलाउँछिन्। चेतनाको बिगुल फुक्दै गाउँ बस्ती धाउछिन् र महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेकी छिन्।

कलौरे दाइ: अछामको बाटो खोज्दै
अछामका पहाडहरू साँच्चै सुन्दर छन्, तर यहाँका बाटाहरू उस्तै दुर्गम। कर्णाली नदीले अछामलाई झन् चिरा पारेको छ। यस्तै दुर्गम स्थानमा बस्ने एक थिए कलौरे दाइ।उनी गाउँका सबैको साहरा थिए। कोही बिरामी भयो भने कलौरे दाइले पिठ्युँमा बिरामी बोकेर अस्पताल सम्म पुर्‍याउँथे। कसैको खेतबारी बाँझो भयो भने उनी सहयोग गर्थे।

तर, उनको सबैभन्दा ठूलो सपना थियो, गाउँमा मोटरबाटो ल्याउने।

उनी पटक-पटक गाविस गए, स्थानीय नेताहरूलाई भेटे। “यहाँ सडक भए हाम्रो जीवन सजिलो हुन्थ्यो,” उनी भन्थे। तर, नेताहरू आश्वासन मात्र दिन्थे। उनी हार मान्ने मान्छे थिएनन्। गाउँलेहरूको साथ लिएर उनले आफैं बाटो खन्न थाले।

महिनौं बित्यो। बिस्तारै, ट्रयाक खोल्न सरकारी सहयोग पनि आयो। पाँच वर्षको निरन्तर प्रयासपछि गाउँसम्म मोटर चल्ने बाटो बन्यो। आज कलौरे दाइ बूढा भइसकेका छन्। तर, गाउँका मानिसहरू जब गाडीमा यात्रा गर्छन्, उनी सम्झन्छन्, “कलौरे दाइको सपना पूरा भयो।”

बलराम कामीको कथा: जातीय विभेदको घाउ
अछामको एक दुर्गम गाउँमा जन्मिएका थिए बलराम कामी। उनी मेहनती थिए, पढाइमा अब्बल थिए, तर उनको जातकै कारण समाजले उनलाई सधैं तिरस्कार गर्‍यो। विद्यालयमा साथीहरूले उनीसँग एकैठाउँ बस्न मान्दैनथे। पिउने पानी छुट्टै राखिन्थ्यो। शिक्षकहरू पनि उनलाई हेप्थे। तर, बलरामले हार मानेनन्।

एकदिन, उनी गाउँको चिया पसलमा गएका थिए। भोकले चर्पिएर उनले चिया मागे। तर पसलेले कराउँदै भने, “तँले छोएको कपले हाम्रो चिया बेच्न सकिन्न!” यो कुराले बलरामको मनमा चोट पर्‍यो।

उनले सोचे, “समाज बदल्न शिक्षा नै हतियार हो।”

बलरामले मेहनत गरेर पढाइ पूरा गरे। पछि उनी शिक्षक बने। गाउँ फर्किएर उनले विद्यालयमा सबैलाई बराबरी व्यवहार गर्न सिकाए। अहिले, उनका विद्यार्थीहरू जात होइन, ज्ञानको आधारमा मान्छे चिन्ने गर्छन्।

बलरामको संघर्षले प्रमाणित गर्‍यो, “जातले होइन, क्षमताले मान्छेको पहिचान निर्धारण गर्छ।”

निष्कर्षमा अछामको कथामा देखाइएका पात्र केवल मनबिरे, सुन्तली कलौरे वा बलराम दाइको मात्रै होइन। यहाँका हजारौं युवाहरू आफ्ना सपना पूरा गर्न गाउँ छोड्छन्। महिलाहरू अझै पनि विभेद सहन्छन्। दलितहरुले जातिय विभेद सहन्छन, विकास अझै सुस्त छ। तर, यहाँका मान्छेहरू अडिग छन्। यही संघर्ष, यही मेहनत, यही सपना अछामको असली पहिचान हो।

“सुदूर तर सुन्दर, दुर्गम तर संघर्षशील, अछामको कथा कहिल्यै नटुंगिनेछ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार