आज लाखौँ नेपाली युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला जुम्लाको नापानीका धर्मजित बस्नेतले आफ्नै गाउँमा श्रम, नवीन सोच र दृढ इच्छाशक्तिका बलमा सफलता सम्भव रहेको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। उनको पौरखले अवसर विदेशमा मात्र होइन, आफ्नै गाउँघरका पाखा, भीर र जंगलमै पनि लुकेका हुन्छन् भन्ने सन्देश दिएको छ।
जुम्लाको दुर्गम अनि मनोरम भूगोल। जाजरकोट र डोल्पाको सिमानासँग जोडिएको गुठीचौर गाउँपालिका वडा नम्बर १ को रैथाने गाउँ, नापानी। हिउँदमा सेताम्मे हिउँले ढाकिने र वर्षामा हरियाली फाँटहरूमा जडिबुटीको सुगन्ध चल्ने यो क्षेत्र अचेल एउटा नौलो र अनौठो व्यावसायिक क्रान्तिको साक्षी बनिरहेको छ।
विज्ञापनका ठूला होर्डिङ बोर्डहरू छैनन्, न त कुनै आधुनिक फिड मिल नै छ। तर, यहाँका ४७ वर्षीय धर्मजित बस्नेतले जंगललाई नै आफ्नो ‘फार्म’ र जंगली बँदेललाई ‘बिजनेस पार्टनर’ बनाएर एउटा गज्जबको सफलताको कथा लेखिरहेका छन्। प्रस्तुत छ कुटिरो डट कमको स्थलगत संवादमा आधारित धर्मजित बस्नेतको यो संघर्ष र सफलताको कथा।
जुम्ला सदरमुकाम खलंगाबाट झन्डै दुई-तीन घण्टाको दूरी पार गरेर डोल्पाको सिमानामा अवस्थित गुठीचौर गाउँपालिकाको सिरान क्षेत्रमा पुग्दा जोकोही पनि प्रकृतिको सुन्दरतासँगै धर्मजितको व्यावसायिक साहस देखेर आश्चर्यचकित पर्छ।
आजभन्दा करिब ११ वर्ष अगाडि, अर्थात् वि.सं. २०७२ सालमा गाउँमा परम्परागत खेतीकिसानी र हिउँदमा जडिबुटी कोर्नेबाहेक आम्दानीको खासै ठूलो स्रोत थिएन। गाउँघरमा सामान्य अन्नबाली उत्पादन गरेर वर्षभरि खान पुर्याउनु नै यहाँका स्थानीयको मुख्य ध्येय हुन्थ्यो। त्यही महिनौंसम्मको हिउँदे शून्यता र परम्परागत जीवनशैलीकै बीच धर्मजितलाई केही फरक र नयाँ व्यवसाय गर्ने रहर जाग्यो।
छिमेकी गाउँ तलिचौरबाट एकजना आफन्तले आफ्नो माइतीघरबाट ल्याएको एक जोडी बंगुर देखेपछि धर्मजितको मन लोभियो। गाउँमै बंगुर बढाउँदै लैजाँदा राम्रो आम्दानी हुन सक्छ भन्ने कुरा उनले सोचे। त्यतिबेला उनीसँग धेरै पैसा नभएकाले निकै सङ्घर्ष गरेर ११ हजार रुपैयाँ जोरजाम गरे र सोही रकमबाट एक जोडी पाठापाठी किनेर घर लिए।
रहरै रहरमा सुरु गरेको व्यवसाय सुरुमा त दुइटाबाट बढाउँदै उहाँले २५ वटासम्म पुर्याए। सुरुवाती दिनहरू सहज थिएनन्, तर घरेलु प्रविधि, दानापानीको अभाव र बजारको अनिश्चितताका बीच पनि उनले हिम्मत हारेनन्।
व्यवसायले वास्तविक मोड लिन भने वि.सं. २०७५ सालसम्म पर्खिनुपर्यो, जसले उनको सम्पूर्ण व्यवसायको स्वरुप नै बदलिदियो। जुम्ला र वरपरका हिमाली भेगमा ‘ह्याड्या’, ‘खिराउँलो’ वा वैज्ञानिक भाषामा सेतचिनी भनिने बहुमूल्य जडिबुटी खन्ने सिजन सुरु भएको थियो। गाउँका सबै मानिसहरू घरमा ताल्चा लगाएर वा जेष्ठ नागरिकलाई घरको जिम्मा सुम्पिएर महिनौंसम्म जडिबुटी सङ्कलनका लागि लेकतिर जाने गर्छन्।
धर्मजितको घरमा पनि बंगुर हेरिदिने कोही मानिस भएनन्। एकातिर बहुमूल्य जडिबुटी खन्न जंगल जानैपर्ने बाध्यता, अर्कोतिर वर्षौंदेखि दुःख गरेर पालेका बंगुरहरू घरमै भोकभोकै मर्ने डर। यही दोसाँधमा फसेका धर्मजितले एउटा अनौठो र साहसिक जुक्ति निकाले, बंगुरलाई पनि आफैँसँग जडिबुटी खन्ने जंगलमै लैजाने। उनले आफ्ना बंगुरहरूलाई लेकको घना जङ्गलमा धपाए।
जंगलमा स्वतन्त्र छोडिएका ती घरेलु पोथी बंगुरहरू र जङ्गलका रैथाने जंगली बँदेलबीच प्राकृतिक रूपमै घुलमिल र समागम हुन पुग्यो। मानिसको बस्तीभन्दा निकै टाढा, प्राकृतिक वातावरणमा रहेका घरेलु बंगुरहरू जंगली बँदेलको सम्पर्कमा पुगेपछि उनीहरूबीचको प्राकृतिक सम्बन्धले एउटा नयाँ नश्लको जन्म दियो।
मंसिर महिनाको चिसो मौसममा जब पोथी बंगुरहरू ब्याए, तब धर्मजितले अनौठो दृश्य देखे। जन्मिएका पाठापाठीहरू सामान्य घरेलु बंगुरभन्दा फरक थिए। उनीहरूको शरीरको बनोट, रङ्ग, रौं, निकै छिटो कुद्ने क्षमता र स्वभाव दुरुस्तै जंगली बँदेलजस्तै थियो।
जंगली बँदेलसँगको यो अनौठो क्रसपछि धर्मजितको मनमा नयाँ उत्साह र आत्मविश्वास पलायो। उनलाई लाग्यो, बजारमा जंगली बँदेलको जस्तै स्वाद र गुणस्तर भएको मासुको माग उच्च छ, त्यसैले यसैलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्छ। अहिले धर्मजितको फार्ममा तेस्रो पुस्ताका बंगुरहरू जन्मिसकेका छन्, जुन आनीबानी र शारीरिक रूपमा लगभग ९९ प्रतिशत जंगली प्रवृत्तिकै भइसकेका छन्।
यी बंगुरहरू महँगो कंक्रिटको खोरमा थुनिएर बस्दैनन् र उनीहरूका लागि महँगो दाना किनेर खुवाउनुपर्ने झन्झट पनि छैन। हिउँदमा सेताम्मे हिउँ परोस् या बर्खामा मुसलधारे पानी, उनीहरूको स्थायी बासस्थान भनेकै नापानी र आसपासका घना जंगलहरू हुन्।
तर, जंगलमा खुला छाडिएका यी बंगुरहरूलाई नियन्त्रणमा राख्नु र उनीहरूको रेखदेख गर्नु निकै कठिन र रोचक प्रक्रिया हो। बंगुरहरू धेरै टाढा नजाऊन्, अर्को डाँडो काटेर जङ्गलमै कतै बिलाएर हराएर नजालान् र बोलाउने बित्तिकै मालिकको नजिक आऊन् भनेर धर्मजितले एउटा विशेष उपाय अपनाएका छन्।
उनी हरेक बिहान मकै, अन्न वा केही चारो बोकेर जंगल जान्छन् र उनीहरूलाई मकै देखाएर एकप्रकारको ‘मोहनी’ लगाउँछन्। यो उनीहरूलाई टाढा जान नदिने र आफ्नो सामीप्यमा राखिराख्ने एउटा अचुक प्राकृतिक माध्यम हो।
चरिचरणको यो प्रक्रियामा हप्तामा कम्तीमा तीन दिन धर्मजित आफै जंगल पुगेर उनीहरूसँग समय बिताउनुपर्छ। यदि लामो समयसम्म मानिस उनीहरूको सम्पर्कमा नगएमा जंगली स्वभावका कारण उनीहरू मान्छेसँग पूर्ण रूपमा डराएर भाग्ने र कहिल्यै नफर्कने खतरा हुन्छ।
तर, नियमित रूपमा जंगल जाँदा धर्मजितको आवाज र स्वर सुन्नेबित्तिकै उनीहरू टाढैबाट इशारा बुझेर कराउँदै नजिक आउँछन्। धर्मजित र उनका बंगुरहरूबीच एउटा यस्तो अनौठो सम्बन्ध स्थापित भएको छ, जहाँ जनावरले मानिसको इशारा बुझ्छन् र मानिसले जनावरको आवश्यकता महसुस गर्छन्।
यद्यपि, यी अचम्मका बंगुरहरू अपरिचित वा नयाँ मान्छेको पदचाप र गन्ध पाउनैबित्तिकै सेकेन्डभरमै अर्को डाँडो काटेर भागिहाल्छन्। त्यसैले, नयाँ मानिसका लागि यी बंगुरहरूलाई नजिकबाट देख्न पाउनु पनि एउटा दुर्लभ अवसर जस्तै बन्छ।
प्रकृतिसँग मितेरी गाँसेर खुल्ला आकाशमुनि गरिने यो व्यवसायमा जति धेरै फाइदा र कम लागत छ, त्यत्तिकै ठूला चुनौती र जोखिमका पहाडहरू पनि छन्। खुल्ला जंगलमा स्वतन्त्र रूपमा चराउनुपर्ने भएकाले हरेक वर्ष कयौँ बंगुरहरू जङ्गलमै हराउँछन्, अरू बगालसँग मिसिन्छन् वा जंगली हिंस्रक जनावरहरूको शिकार बन्छन्।
धर्मजितको अनुभवमा दुई वर्ष अगाडि मात्रै एकैपटक २० वटा वयस्क तथा पाठापाठी बंगुरहरू जंगलमै हराए र फेला परेनन्। त्यस्तै, गत वर्ष पनि १७ वटा बंगुर गायब भए। तर, धर्मजित यी क्षतिहरूबाट विचलित छैनन्।
उनी भन्छन्, ‘कि प्रकृतिबाट जंगली बँदेलको रूपमा उत्कृष्ट बिउ पाइयो, त्यसैले केही बंगुरहरू जंगलमै हराए। प्रकृतिलाई नै ब्याज बुझाएँ।’
हराउने र जंगली जनावरले मार्ने जोखिम मात्र होइन, कहिलेकाहीँ महामारी रोगले पनि यो व्यवसायलाई ठूलो धक्का दिने गर्छ। गत मंसिर महिनामा जंगलमै ब्याएका ५० वटा साना पाठापाठीहरूलाई धर्मजितले सुरक्षित राख्नका लागि घरको खोरमा ल्याए। तर, जङ्गलको खुला र चिसो वातावरणमा हुर्किएका ती पाठापाठीहरू घरको बन्द खोरमा ल्याउनेबित्तिकै अचानक अज्ञात रोगले बिरामी पर्न थाले। बिरामी भएको २४ घण्टाभित्रै उनीहरू मर्ने अनौठो र भयानक समस्या देखियो।
उनले तुरुन्तै स्थानीय गुठीचौर गाउँपालिका र जिल्ला पशु सेवा कार्यालयका भेटेरिनरी डाक्टरहरूसँग समन्वय गरे। समस्या गम्भीर भएपछि प्रदेशबाटै पशु चिकित्सकहरूको टोली ल्याब टेस्टका लागि जुम्लाको नापानी आइपुग्यो।
‘अफ्रिकन स्वाइन फिभर’ वा ‘अमेरिकन स्वाइनफ्लु’ जस्ता घातक सरुवा रोगको आशंकामा रगत र र्यालको परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आयो। रोगको यकिन पहिचान हुन नसक्दा र उचित औषधिको अभावमा ५० मध्ये ४४ वटा पाठापाठी मरे भने धर्मजितले निकै मेहनत गरेर ६ वटा पाठापाठीलाई मात्र बचाउन सफल भए।
यस घटनापछि डाक्टरहरूको सल्लाहअनुसार उनले खोरको नियमित सरसफाइ गर्ने र कीटाणुनाशक औषधि छर्कने विधि कडाइका साथ अपनाउन थालेका छन्। चुनौती र क्षति जतिसुकै भए पनि यो नश्लका बंगुरहरूको मासु र पाठापाठीको माग बजारमा यति उच्च छ कि यसले धर्मजितको आर्थिक अवस्थालाई निकै बलियो बनाएको छ।
यी बंगुरहरू पूर्ण रूपमा जङ्गलका जडिबुटी, कन्दमूल र प्राकृतिक वनस्पति खाएर हुर्कने हुनाले यिनीहरूको मासु शतप्रतिशत अर्गानिक, स्वास्थ्यका लागि हितकर र स्वादमा दुरुस्तै जंगली बँदेलजस्तै स्वादिलो हुन्छ। यही विशिष्टताका कारण ग्राहकहरू महँगो मूल्य तिर्न पनि सहर्ष तयार हुन्छन्।
८ महिनाको उमेर पुगेका पाठापाठीको जोडी नै ७० देखि ८० हजार रुपैयाँसम्ममा सजिलै बिक्री हुने गरेको छ। मासुका लागि घरैबाट खरिद गरेर लैजाने स्थानीय ग्राहकहरूका लागि प्रतिकेजी १ हजार रुपैयाँ मूल्य तोकिएको छ भने सदरमुकाम जुम्ला बजार वा तल्लो क्षेत्रसम्म लैजाँदा ढुवानी खर्च, गाडी भाडा र समय लाग्ने भएकाले यसको मूल्य प्रतिकेजी १४ सय देखि १५ सय रुपैयाँसम्म पुग्छ।
एउटै वयस्क बंगुर काट्दा सजिलै ४५ देखि ६० केजीसम्म शुद्ध मासु निस्कने भएकाले एउटै बंगुरको बिक्रीबाट ५० देखि ७० हजार रुपैयाँसम्मको आम्दानी सुनिश्चित हुन्छ। जुम्ला बजारका अर्गानिक होटल सञ्चालक चित्र बहादुर बुढादेखि लिएर सुर्खेतका व्यावसायिक फर्महरू, चुकिनी जलविद्युतका अपरेटर अमृत बुढा र स्थानीय प्रतिष्ठित व्यक्तिहरूले धर्मजितकै फार्मबाट उन्नत बिउ र मासु लैजाने गरेका छन्, जसका कारण बजारको कुनै अभाव छैन।
यही अनौठो र मिहिनेती बंगुर पालनकै आर्थिक जगमा धर्मजितले आफ्नो विशाल परिवारको लालनपालन र शिक्षादीक्षाको खर्च धानेका छन्। घरमा वृद्ध आमा, श्रीमती, आफू र ६ छोराछोरीसहित कुल ९ जनाको ठूलो परिवार सँगै बस्छन्।
ग्रामीण क्षेत्रमा यति ठूलो परिवारको खर्च चलाउनु सामान्य कुरा होइन। तर, धर्मजितका पाँच छोरा र एक छोरीको उज्ज्वल भविष्य यही व्यवसायले कोरेको छ। उनका कान्छा छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउँकै विद्यालयमा अध्ययनरत छिन् भने दुई जना जेठा छोराहरूले त सफलतापूर्वक स्नातक सम्मको उच्च शिक्षा पूरा गरिसकेका छन्।
गाउँमै बसेर, जङ्गलको स्रोतलाई उपयोग गरेर आफ्ना छोराछोरीलाई सहरका प्रतिष्ठित कलेजहरूमा पढाउन सक्ने हैसियत बनाउनु धर्मजितको जीवनको सबैभन्दा ठूलो र गौरवपूर्ण सफलता हो। तर, यो लोभलाग्दो सफलता र कथाको सुखद पाटोभित्र एउटा तितो र गम्भीर सामाजिक यथार्थ पनि लुकेको छ, जसले धर्मजित जस्ता देशभक्त र श्रमजीवी किसानलाई बेलाबेलामा चिन्तित तुल्याउँछ।
गाउँमै बसेर, आफ्नै पाखा-पखेरामा पसिना बगाएर वार्षिक लाखौँ रुपैयाँ कमाउन सक्ने यति ठूलो र स्पष्ट सम्भावना हुँदाहुँदै पनि नयाँ पुस्तामा गाउँमा बस्ने, हिलो-मैलो गर्ने वा कृषि पेसा अँगाल्ने पटक्कै रुचि देखिँदैन। उच्च शिक्षा अर्थात् स्नातक तहको पढाइ पूरा गरिसकेका धर्मजितका छोराहरू पनि अचेल गाउँको यो रैथाने पेसालाई अगाडि बढाउनुको साटो रोजगारीका लागि खाडी मुलुक जाने तीव्र तयारी गरिरहेका छन्।
गाउँका अन्य साथीभाइ र छिमेकीका छोराहरू विदेश गएर पैसा कमाएको, सुख सुविधा भोगेको देखेपछि नयाँ पुस्तामा श्रमप्रतिको आदर घट्दै गएको छ। प्रत्येक घरबाट कम्तीमा एकजना युवा जसरी पनि विदेश जानैपर्ने एउटा गलत सामाजिक प्रणाली वा ‘ट्रेन्ड’ नै बनिसकेको छ, जसले गाउँका दक्ष र शिक्षित युवा जनशक्तिलाई मरुभूमितिर धकेलिरहेको छ। गाउँमै सुन फलाउन सकिने सम्भावना हुँदाहुँदै पनि आफ्ना छोराहरू खाडी जान खोजेकोमा धर्मजितको मन अलिकति अमिलो र चिन्तित बन्ने गर्छ।
समग्रमा भन्नुपर्दा, धर्मजित आज जुम्लाको विकट गाउँ नापानीका एक साधारण किसान मात्र होइनन्, उनी रैथाने प्राकृतिक स्रोत र साधनलाई कसरी नवीन, रचनात्मक र व्यावसायिक ढङ्गले प्रयोग गर्न सकिन्छ भन्ने कुराको एउटा जिउँदो-जाग्दो र अनुकरणीय उदाहरण हुन। परम्परागत घेराभन्दा बाहिर निस्किएर जंगलको खुला स्रोत, जंगली बँदेलको प्राकृतिक शक्ति र आफ्नो अटुट शारीरिक श्रमलाई फ्युजन गरेर उनले देशकै एउटा उदाहरणीय आर्थिक मोडेल खडा गरेका छन्।
आज देशका लाखौँ ऊर्जावान् युवाहरू रोजगारी र भविष्यको खोजीमा काँधमा झोला र हातमा राहदानी बोकेर विदेशी भूमिमा पसिना बगाउन बाध्य भइरहेका बेला, नापानीको यो दुर्गम डाँडाबाट धर्मजितको पौरखले एउटै जीवन्त सन्देश दिइरहेको छर यदि मानिसमा दृढ इच्छाशक्ति, नवीन सोच र कठोर मिहिनेत गर्ने साहस छ भने, सफलता र समृद्धिका अनन्त सम्भावनाहरू कतै टाढा होइन, हाम्रै पाखा-पखेरा, भीर-पाखा र जंगलहरूमा मुस्कुराइरहेका हुन्छन्। मात्र खाँचो छ त ती सम्भावनाहरूलाई चिन्न सक्ने एउटा पार्खी आँखा र पसिना बगाउन सक्ने एउटा पौरखी हातको।














