सोमबार, १२ माघ, २०८२

खस सभ्यताको जीवित पहिचानको बोकेको मष्टो परम्परा

सिंजा मोफ्लामा रहेको राहादेव देउताका धामी सार्की जातका हुन्छन् भने पाली सबै गाउँलेहरु हुन्छन्। कुल देउता र इष्ट देउता सबैका प्रतिनिधि पात्र जोसुकै कोही जातको हुन सक्छ।

मस्टो देउताकाे पुजा लाग्ने मध्ये कात्तिक पुर्णिमा ठुलो हो। यो बलि खाने पुर्णिमा पनि हो। कात्तिक पुर्णिमाको बेला अधिकांश थानहरुमा खसी, बोका, कुखुराको बलि दिने चलन छ। जुम्लामा मष्टो देउताको पुजा लाग्ने बैशाख, साउन, कात्तिक र माघ पुर्णिमा मध्ये साउन पुर्णिमामा तिर्थ व्रत गरिने तथा मागलाई धर्मी महिना मानिने हुनाले बलि चढाइदैन।

बैशाख र कात्तिक पुर्णिमामा भने भोगको रुपमा बाेकाे बलि चढाउने चलन छ। बोको चढाउने चलन पुर्नउत्पादनसँग जोडिएको छ। कात्तिक पुर्णिमामा जुम्लाको बाबिरमा रहेको ‘बाबिरो मष्टा’कोे थानमा पाँच सय बढी खसि काटिन्छन्।

खस सभ्यताकाे सर्वेपरी विधान मस्टाे परम्पराले पुस्तौंअघि जुम्लाका हरेक गाउँमा कम्तिमा एउटादेखि दशौंसम्म देउताका थान निर्माण गरेर गन्ने मान्य कुल देउटा र इष्ट देउता पुज्ने ठाउँ छोडेर गएको छ। विशेष गरि मष्टो देउताका थान बढि छन्।

मष्टो संस्कृतिको उद्गमस्थल खस प्रदेश मानिन्छ। माहाकाली नदिदेखिको त्रिशुली नदिसम्मको पर्वतीय खण्ड, सिंजा साम्राज्य अन्तर्गत हाल तिब्बतमा पर्ने खारी प्रान्त र भारतीय पहाडको भूभागको काश्मीरदेखि कुमाउसम्मको क्षेत्र खस प्रदेश थियो भन्ने भन्ने ऐतिहासिक दस्तावेजहरुको अध्ययनबाट पुष्टी हुन्छ।

यही क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पुज्ने देउतालाई मष्टो भनिन्छ। त्यसैले मष्टो देउता खस जातिका कुल देउताको हुन। मष्टो परम्परा खस सभ्यता र संस्कृतिको अभिन्न अंग हो। अध्येता डा. पर्याकराज शर्माका अनुसार मष्टो कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता हो।

मष्टोबारे विभिन्न लेखकहरुका भिन्न किसिमाका मतहरु पाइन्छन्। कोही मरुत् देवबाट मष्टो आएको भन्छन् भने कसैले भगवान शंकरको शक्तिशाली वीरभद्र वा क्षेत्रपालको रुपमा लिन्छन्। ‘मष्टो परम्परा र संस्कृति’का लेखक श्यामबहादुर खड्का मष्टो देउतालाई भगवान इन्द्रको छोरा मान्छन्।

धेरैले मष्टोलाई धार्मिक आँखाले हेरेका छन् भने जुम्ला क्षेत्रको कला, संस्कृति, जनजीवन आदिबारेको अध्ययनमा जीवन खर्चेका रमानन्द आचार्य मष्टो प्रकृति पुजा भएको, मान्छन्। उनका अनुसार खस जाती प्रकृति पुजक समुदाय हो।

उनका अनुसार खस संस्कृति र सभ्यताको सर्वोपरि विधान हाे, मष्टो परम्परा। ‘मष्टो सबैतिरबाट हाम्रो रक्षक हो’ उनी भन्छन्, ‘मष्टोको प्रतिनिधि पात्र धामी हुन।’

कर्णालीमा कुन कामको सुरुवात कहिले गर्ने? साइत के गर्ने? भन्ने सबै मष्टोको प्रतिनिधिबाटै हुन्छ। शत्यमोहन जोशीले आफू कर्णाली क्षेत्रमै बस्दाको समय देखेका मष्टोका धामीलाई यसरी सम्झिएका थिए, ‘फलानो दिन धानको बीऊ राख्ने भनेर छुट्याएपछि सबैले त्यही दिन राख्ने। त्यो बीऊ राख्ने दिन तोक्ने काम मष्टोको धामीले बताउँथ्यो। ठ्याक्कै त्यही दिन कर्णाली अञ्चलभर लागु हुन्थ्यो।’

सबै कामको साइत दिने धामी नै हुन। धामी मष्टोको प्रतिनिधि हुनाले सामाजिक नेतृत्व मानिन्छन्। खेतीपाती, धर्मकर्म, भोटमधेश बिहे व्रतबन्धन्, सबैको लागि धामी सर्वेसर्वा हुन। तर पछिल्लो समय यसरी धामीको अनुमति लिने चनल घट्दै गएको छ।

यद्यपि केही ठाउँमा कायमै छ। जुम्ला सिंजाको मोफ्लामा अहिलेपनि धामीकै बोलवाला चल्छ। उसले दिएको दिन बाहेक अगाडी पछाडी गर्न नपाइने त्यहाँका स्थानीय बासी परिलाल विश्वकर्मा बताउँछन्।

मष्टोलाई न्याएका देउता पनि भनिन्छ। अन्यायमा परेका मान्छेले मष्टोलाई सम्झिने गर्दछन्। महिला वा छोरीहरुले अन्याय भएको भनि आँसु बगाइन भने मात्र पनि उनीहरुलाई न्याय दिलाउने काम मष्टोले गर्दछ, भन्ने विश्वास छ। ती बोहेक अरुले न्याय माग्नका लागि बलि चडाउनुपर्ने मान्यता छ। न्याय पाएपछि देउता खुसी बनाउन पनि बलि नै दिने चलन कायम छ।

त्यस्तै कुनै पनि शुभकार्यको लागि सबैभन्दा पहिला सम्झिने कुल देउता नै हुन। सरकारी जागिर पाउँदा, सेना वा प्रहरीमा काम मिल्दा वा अरु सफलता हात लाग्दा हर्सले देउता रिजाउन बलि दिने गरिन्छ।

आपतमा सहयाेग गर्नेलाई इष्ट देउता भनिन्छ। घरदेखि टाढा हुँदा सहयाेग गर्ने देउतालाई केल देउताझैं पुज्ने गरिएकाे धामी र थानकारे पाँच वर्ष लगातार अनुसन्धान गरेका सिंजा लुड्कुका तुङ्गनाथ उपाध्याय बताउँछन्। बली चढाउने उपयुक्त समय भनेको कात्तिक पुर्णिमा हो। त्यसैले माथि भनिएझैं ठुलो संख्यामा एकै थानमा बलि दिइन्छ।

मष्टो परम्पराको महत्त्वपूर्ण पक्ष, यो हिन्दु परम्पराजस्तो अन्यायपूर्ण छैन। हिन्दु धर्म विधानमा पुजा पाठको अधिकार केवल एउटा जाति विशेषसँग मात्र हुन्छ। त्यस बाहेक अरु सबै अनुसरण गर्ने मात्र हुन। तर मष्टो परम्परा फरक छ।

मष्टोको प्रतिनिधि जनसुकै जातको हुन सक्छ। न उसले कसैमाथि विभेद गर्छ, न फलानो धामी यो वा ऊ जताको हो, यसले भनेको मान्दैनौं भन्ने कथित माथिल्लो वा तल्लो जातिका नै भेटिन्छन्। सिंजा मोफ्लामा रहेको राहादेव देउताका धामी सार्की जातका हुन्छन् भने पाली सबै गाउँलेहरु हुन्छन्। कुल देउता र इष्ट देउता सबैका प्रतिनिधि पात्र जोसुकै कोही जातको हुन सक्छ।

उनीहरु बस्ने खोपा, थान लगायतका स्थानहरु हुन। सबै थानमा त्रिकोणत्मक आलम(झण्डा) प्रयोग भएको हुन्छ। जुन नेपालको राष्ट्रिय झण्डा विकासको आधार हो। छाना काठका हुन्छन्। महंगा धातुका मुर्तिहरु हुँदैनन्। काठको तारुमा(बिम) ध्वजा बाँधिएको हुन्छ।

वर्षमा चार पटक थान पुज्दा वा धुमेलो बसाल्दा अथवा हेराउन, कोराउन(हेराउने) गर्दा प्रयोग हुने थानको साजसज्जा धेरै आकर्षक हुँदैन। गोरु रंग वा रातो वा कालो माटोले पोत्नु नै रंगरोगन र साजसज्जा होे।

मष्टो मान्ने खसहरु प्रकृति पुजक भएकाले काठको सामान्य प्रयोगमा मात्र गर्ने गरेको देखिन्छ। कलात्मक ढंगले कुँदेका काठका मुर्तिको रुपमा मुर्काट्टो र धौले(घरको छतमा राखिने) मात्र हुन। धामी पतुर्ने बेला हातमा समाउने चौंरी फुर्को(चौंरीको पुच्छर) हो। हाल त्यसको ठाउँमा घण्टा आएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार