एक त महिला त्यसमा पनि दलित समुदायको महिला भएपछि धेरै विभेद र हिंसा भोग्नु परको सुना बताउँछिन् । समाजमा सार्वजनिक स्थल, धारा, विवाह, वर्तबन्ध र भोजमा जाँदा उनले दलित भएकै कारणले जातीय विभेद भोगिन् ।
सुना परियारको जन्म भारतमा भएको हो । उनको परिवार भारतमा काम गर्ने सिलसिलामा उतै बसोबास गर्ने भएकाले उनको बाल्यकाल भारतमा बित्यो । उनले स्कुल तहको पढाइ पनि भारतमै सकाइन् ।
चाडपर्वको बेला नेपाल आउने उनी जुम्लाका गाँउ घरमा जातीय विभेद देखेको र धारामा पानी लिन जाँदा आफुले पनि भोगेको तितो अनुभव सुनाउँछिन् । केही वर्षको बसाइपछि बाबा आमाको घरझगडाका कारण उनीहरु भारत छोडी जुम्लामा फर्किन्छन् ।
बुबा आमाको उमेरमा धेरै फरक छ । जुम्ला आएदेखि बाले दिनहुँ जसो आमालाई रक्सी खाएर गाली गलोज तथा कुटपिट गर्न थालेपछि पढाइलाई निरन्तरता दिन नसकेको उनी बताउँछिन् । उनले एस.एल. सी पास गरेपछि पढाइ छोडिन् ।
दिनै जसो घर परिवारको झैझगडा र तनावका कारण सुनाले आफ्नो प्रेमीसँग १९ वर्षको उमेर भागि विवाह गरिन् । उनका श्रीमान भारतमा काम गर्न जाने र चाडपर्वको बेला जुम्ला आउने जाने गर्थे । त्यसै क्रममा उनीहरुको माया प्रेम बसेको र उनीहरुले दुवै परिवारको सरसल्लाहमा भागि विवाह गरेका थिए ।
विवाह पश्चात उनलाई प्लस टु पढ्ने मन थियो तर घर व्यवहार र सासुले पढ्ने वातावरण नबनाएको उनको भोगाइ छ । विवाह पछि घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले काममा जानु पर्ने र घरको सबै काम बुहारीले गर्नु पर्ने बाध्यताका कारणले पढाइलाई निरन्तरता दिन नसकेको बताउँछिन् ।
उनले पढ्छु भन्दा सासुले ‘तिमी बुहारी हौं त्यसैले तिमीले भाडा समाउनु पर्छ कलम होइन’ भनेपछि पढाइ छोड्नु परेकबध थियोे । ‘विवाह भएको एक वर्षमा नै छोरी जन्मेकाले पढाइ पनि छुटेको र घर परिवारको काममा नै व्यस्त भएँ पढ्न पाइनँ,’ उनले भनिन् ।
माइतदेखि आमाले सधैँ रुदै फोन गर्दा उनलाई साह्रै दुःख लाग्छ । उनको मन कुँडिन्छ । ‘घरमा भाइ मात्र छ । अहिले पनि बाले आमालाई रक्सी खाएर पिट्नु हुन्छ । आमाले फोन गरेपछि हामी गएर बालाई धेरै पटक सम्झायौं । प्रहरी चौकी पनि लग्यौं । गाँउ घरमा रक्सी नदिनु भनेर सबैलाई भन्यौं, तर पनि बाले रक्सी खान अझै छोड्नु भएको छैन,’ उनले भनिन् ।
उनी आमालाई आफ्नो घरमा ल्याउन पनि सक्दिनन् । सासु आमा र ससुराकोडरले आमालाई आफ्नो घर ल्याइ सेवा गर्न सकेकी छैनन् । ‘आमामाथि भएको हिंसा मैले टुलुटुलु हेरेर बस्नु परेको छ । आफूले आमाको लागि केही गर्न नसकेको हुँदा पछुतो लाग्छ,’ उनले थपिन् ।
एक त महिला त्यसमा पनि दलित समुदायको महिला भएपछि धेरै विभेद र हिंसा भोग्नु परको सुना बताउँछिन् । समाजमा सार्वजनिक स्थल, धारा, विवाह, वर्तबन्ध र भोजमा जाँदा उनले दलित भएकै कारणले जातीय विभेद भोगिन् ।
उनकी आमाले भोगेको हिंसा, पृतिसत्तात्मक सोचले भरिएका बा, सासु, ससुराहरु र समाजमा गैरदलित समुदायका व्यक्तिहरुबाट हुने छुवाछुत र अपमानका विरुद्ध उन जनचेतनामुलक कार्यक्रममा सहभागि हुने गरिरहेकी छन् ।
आफू र आमाले जे-जे भोगे पनि आफु जस्तै अरु दिदिबहिनीहरुले यस्तोभोग्नु नपरोस् भन्ने सुनाको इच्चा छ । उनको पढ्ने सपना पुरा नभए पनि छोरीलाई धेरै पढाउने सपना रहेको छ ।
(सुना परियार फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला जुम्लामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)














