विद्यालयमा आइतबार खिचडी, सोमबार खीर, मंगलबार क्वाटी, बुधबार अन्डा, मासु, बिहीबार हलुवा र शुक्रबार दाल, भात, तरकारी खुवाइने गरिएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाका विद्यालयमा विद्यार्थीलाई अर्गानिक खाजा खुवाउन थालिएको छ। गाउँपालिकाले ‘दिवाखाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०८०’ लागू गरेपछि जंगफुट निषेध गर्दै अर्गानिक खाजा खुवाउने बाटो खुलेको हो।
यो कार्यक्रमबाट २९ विद्यालयका २ हजार ६ सय विद्यार्थीले स्थानीय अन्नबालीबाट बनेको खाजा खान पाइरहेका छन्। पहिले विद्यालयमा सुजी, चाउचाउ, बिस्कुटजस्ता परिकार सामान्य भएपनि अब ती खाना माथि निगरानी बढाइएको तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए।
‘पत्रुखानाको असर तुरुन्तै नदेखिए पनि खतरनाक र दिर्घ रोगहरुको समस्या यिनैल निम्त्याउने हुनाले पालिकाले पत्रुखाना निषेध गरेको हो,’ उनले भने।
तातोपानी -६ की सङ्गीता कामीका अनुसार अब विद्यालयले अर्गानिक खाजा दिन थालेपछि बालबालिका स्वास्थ्य हुनेछन्। विद्यार्थीको संख्या पनि बढेको छ।
स्थानीय विष्णुबहादुर रोकाया जंकफुडकै कारण बच्चा अस्पताल लैजानुपर्ने अवस्था आउने गरेको याद गर्छन्। उनले भने, ‘अहिले भने पोसिलो रैथाने खाजा खाइरहेकाले यस्तो समस्या छैन।’
कार्यविधि लागू भएपछि विद्यालयहरूले स्थानीय किसानबाट मकै, भटमास, जौं, गहुँ, मस्यौरा र गहत खरिद गर्छन्। त्यही अन्नबाट खाजा बनाइन्छ। यसले विद्यार्थीलाई पोषण दिने गरेको तातोपानी गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए।
उनका अनुसार यो कार्यक्रम रैथाने उत्पादनमा निर्भर हुनाले अभिभावकको आम्दानी पनि बढाएको छ। जसले किसानलाई समेत उत्साहित बनाउनेछ।
गाउँपालिकाले हप्ता दिनभर हरेक दिन कुन खाजा खुवाउने भनेर मेनु तयार गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनका अनुसार आइतबार खिचडी, सोमबार खीर, मंगलबार क्वाटी, बुधबार अन्डा, मासु, बिहीबार हलुवा र शुक्रबार दाल, भात, तरकारी खुवाइने गरिएको छ।
‘६ वटा कृषि सहकारीले खाजा आपूर्ति गर्छन्। विद्यालयलाई झन्झट छैन,’ उनले भने, ‘अभिभावकलाई पनि चिन्ता छैन। स्वस्थ्य खाजा खुवाउने विद्यालयलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ।’
विद्यालयमा भान्साघर वा भाँडाकुडाको व्यवस्था गरिएको र सबै विद्यालयमा गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिएको अध्यक्ष चौलागाईंको भनाइ छ।
कार्यविधि लागू भएपछि विद्यार्थी संख्या पनि एकिन भएको छ। पहिले कागजमा ४ हजार ६ सय विद्यार्थी संख्या देखाइएकोमा। अहिले वास्तविक गणना गर्दा २ हजार ६ सय मात्र छुट्टिएको उपाध्यक्ष रेवती रावलले बताइन्।
‘अर्गानिक खाजा कार्यक्रमले अनियमितता हटाएको। अहिले पोसिलो अर्गानिक खाजा खुवाइएकाले विद्यालयले खर्च गर्ने रकम पनि गाउँमै बस्ने भएको छ,’ उनले भनिन्।
तातोपानी गाउँपालिकाको यो मोडेल प्रभावकारी बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए। उनका अनुसार यसले बालबालिकाको स्वास्थ्य सुधार गरेको छ। विद्यालय जाने दर बढाएको छ।
‘गाउँमै उत्पादित अन्त खाजामा प्रयोग हुने हुनाले अभिभावकको आम्दानी पनि बढेराएको छ,’ उनले भने, ‘स्थानीय कृषि, शिक्षा र समुदायबीचको समन्वयले तातोपानी अब ‘जंकफुडमुक्त विद्यालय’ अभियानको सफल उदाहरण बन्दै गएको छ।’














