गैरदलितहरु प्राय दलितको मलामी जाँदैनन्, तर दलितहरू सबै उनीहरूका सबै मलामी जान्छन्। लास जलाउने दाउरा र लास राखेर चिहान लैजाने बाकस बनाउने लगायतका काम दलितकै दायित्व जस्तो छ।
नमस्कार, मेरो नाम लक्ष्मीदेवी विक हो। मेरो घर मुगु जिल्लाको रारा छायाँनाथ रारा नगरपालिकामा पर्छ। हाम्रो गाउँमा दलित समुदायभित्र विक, दमाई, भियाल समुदायको बसोबास छ।
पछिल्लो समय मुगुको दलित समुदायले वर्णको आधारमा कामीहरूले ‘मल्ल’ र दमाईहरूले ‘बाहुन’ थर लेख्ने प्रचलन बढ्दो देखिन्छ। मुगुमा सरकारी सेवामा प्रवेश गर्ने क्रम बढ्दो छ। तर म आर्थिक रूपमा कमजोर परिवारकी हुँ।
सानैदेखि गुड नेभर्स संस्थाले सहयोग गरेको हो र म त्यसैमा निर्भर छु। म एक कक्षा पढ्दा देखि नै संस्थाले कापी, कलम, ड्रेस लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्री कक्षा १० सम्म दिंदै आयो।
११, १२ कक्षामा पढ्ने बेला मैले रेडियोमा काम गर्न सुरु गरेँ। रेडियोमा काम गर्दै मैले १२ पढेर सकाएँ। गाउँकै विद्यालयमा मेजर अङ्ग्रेजी विषय लिएर पढेँ। त्यसपछि कानूनको प्रवेश परीक्षा दिएकी थिएँ तर नाम निस्किएन।
अहिले मुगुमै जनसंख्या शिक्षामा स्नातक तहमा पढ्दै छु। सदरमुकाम गमगडी पुग्न गाडीमा दुई, तीन घण्टा जति लाग्छ। तर पढ्नका लागि भनेर कोठा भाडामा लिएकी छु।
गत वर्ष काठमाडौंमा शिक्षक सेवा तयारी गर्न गएँ। तर दोस्रो पेपरमा नाम निस्किएन। अहिले पनि परीक्षा दिदैँ पढिरहेकी छु।
रेडियोमा काम गरेकी हुनाले मेरो रुचि सामाजिक क्षेत्रमा अलि बढी छ। रेडियोमा साहित्य विशेष कार्यक्रम गरेँ। समाचार बनाउने, वाचन गर्ने, मार्केटिङ लगायतका काममा समेत मेरो अनुभव छ।
रेडियोमा काम गर्दा आर्थिक समस्या भएकै कारण एकपटक चुनावमा म्यादी प्रहरी पनि भएँ। तर पनि साँझतिर रेडियोमा समाचार वाचन गर्थेँ। बुबा आमाका लागि र आफू अघि बढ्नको लागि निकै संघर्ष गरेँ।
म सानो हुँदाखेरी मेरो बुबालाई राजनीति क्षेत्रमा धेरै रुचि थियो। मुगुमा दलित समुदायबाट ७१ सालको चुनावमा माननीय पदका उम्मेदवार बन्नुभएको थियो। बुबा दलित समुदायबाट उठेको भन्दै, ‘फलाम पिट्नेलाई कसले नमस्कार गर्छ? तिमीहरूको काम फलाम चुट्ने हो, किन जान्ने बन्छौ?’ भन्नेहरू धेरै थिए।
त्यतिबेला म ७, ८ कक्षामा पढ्थेँ। ‘फलाम चुट्नेलाई कसैले नमस्कार गर्छ?’ पनि भन्थे। त्यो कुराले विभेद अनुभव भयो। बुबा नेपाल परिवार दल(एकनाथ ढकाल नेतृत्व) बाट उम्मेदवार बन्नुभएको थियो। यदि बुबा दलित नभएर क्षेत्री, बाहुन, गैरदलित भएको भए चुनाव जित्नुहुन्थ्यो होला सायद।
आफ्नै समुदायले समेत ‘डुमलाई भोट दिएर के हुन्छ?’ भन्ने विभेदित शब्द प्रयोग गर्थे।
हामी धारातिर जाँदा पनि गैरदलित समुदायका मान्छेले ‘तिमीहरू दलित हौ, नछोउ’ भन्थे। हाम्रो गाउँमा जम्मा १५६-१५७ घर छन्। तीमध्ये दलित नै धेरै छन्। तर विभेद भने अझै कम हुन सकेको छैन।
लेकतिर जाँदा हाम्रै गाई गैरदलितले किनेर लगेको भए पनि उनीहरूले ती गाइको दूध छुन दिँदैनथे। पानी छुन नदिने, खाना बाहिर छुट्टै बसेर खानुपर्ने अवस्था थियो।
हाम्रो तिर देउता मान्ने चलन छ। देउताका मूर्ती कामी समुदायले बनाए पनि, मूर्ति राखेपछि नजिक जान नदिने जस्ता विभेद सानैदेखि भोग्दै आएकी छुँ। जब ‘तिमीहरू दलित हौ’ भन्दै छुन दिदैनथे, तब मन खिन्न हुन्थ्यो।
म १४ वर्षको हुँदा विद्यालयमा खाजा बाँड्ने बेला गैरदलित विद्यार्थीलाई अगाडि बोलाएर दिन्थे, हामीलाई अन्तिममा लाइन लगाइन्थ्यो। त्यतिबेला जातीय विभेद बारे धेरै बुझेकी थिइनँ। ८, ९ कक्षामा पुगेपछि जातका कारण त्यस्तो भएको रहेछ भन्ने थाहा पाएँ। सिधै विभेद नगरे पनि, व्यवहारमा भने स्पष्ट देखिन्थ्यो।
मलाई जातको कठोरता सबैभन्दा बढी तब महसुस भयो जब बुबाले चुनाव हार्नुभयो। कथित सानो जातकै कारण चुनाव हारेको हो भन्ने बुझें।
मेरो दिदीले गाउँकै क्षेत्रीसँग अन्तरजातीय विवाह गर्नुभयो। त्यो विवाह हुँदा उनीहरूको परिवारले हाम्रो घरमा आएर झगडा गर्ने, अपमानित शब्द प्रयोग गर्ने, बाटोमा भेटेपछि थुक्ने समेत गर्थे। त्यो अपमान धेरै पल्ट सहनु परेको थियोे।
म बुझ्ने भएपछि कसैले विभेद गर्दा विरोध गर्न थालेँ। पछिल्लो समय गाउँमा अरू परिवारभन्दा हाम्रो परिवार अलि सक्षम छ। गैरदलितहरू हाम्रो परिवारभन्दा अलि फोहर थिए। उनीहरूले, ‘तिमीहरूले छोएको खान्नौं’ भन्दा म पनि, ‘तिमीहरूले छोएको खान्न’ भन्थेँ। अहिले लाग्यो यो एक खालको विद्रोह थियोे।
गाउँमा धारा बनाउँदा गैरदलित र दलितका धारा छुट्टाछुट्टै बनाउने कुरा उठेको थियो। पछि स्थानीय तह आएपछि एउटै धारा बन्यो। तर अहिले पनि धारामा जाँदा, कपडा धुँदा, उनीहरूले पर बसेर गर्नुपर्छ भन्ने किसिमको व्यवहार गर्छन्।
रेडियोमा काम गर्दै जाँदा झनै धेरै विभेद महसुस भयो। अन्य समुदायका मान्छेले, ‘विकहरू पनि यति राम्रो हुन्छन्?’ भन्थे। त्यतिबेला म ‘विकहरू कस्ता हुन्छन्?’ भनेर सोध्थेँ। उनीहरू, ‘फोहोरी हुन्छन्’ भने। यस्तो लाग्थ्यो सुन्दरताको परिभाषा उनीहरुमा निहित छ।
नराम्रो देखिने भयो भने दलित भन्थे। उनीहरूको सोचाइमा राम्रो भनेको क्षेत्री, बाहुन र नराम्रो भनेको दलित जस्तो थियो।
सदरमुकाम गमगडीमा कोठा खोज्दा थर सोध्थे। मैले ‘विक’ भनेपछि बहाना बनाएर कोठा दिँदैनथे। यस्तो खाले विभेद धेरैपल्ट अनुभुति भएको छ। पछि रेडियोका अध्यक्ष (गैरदलित) को घरमा बसेँ। त्यहाँ पनि खाने बेला जस्ता संवेदनशील समयमा विभेद महसुस भयो।
विवाहहरूमा दलित र गैरदलितका छुट्टाछुट्टै भान्सा बनाउने चलन अझै छ। गैरदलितको लास छुन दलितलाई नदिने, तर लास राख्ने बाकस भने दलित समुदायले नै बनाउनुपर्ने स्थिति छ। यस्ता विरोधाभासपूर्ण विभेदका कुरा जति गरे पनि सकिँदैनन्।
गैरदलितहरु प्राय दलितको मलामी जाँदैनन्, तर दलितहरू सबै उनीहरूका सबै मलामी जान्छन्। लास जलाउने दाउरा र लास राखेर चिहान लैजाने बाकस बनाउने लगायतका काम दलितकै दायित्व जस्तो छ। यो पूर्ण रूपमा जातीय समस्या हो।
गरिब दलितहरूले अहिले पनि क्षेत्रीहरूका घरमा काम गर्ने प्रचलन छ। कामको ज्यालाको सट्टा खलो दिने चलन प्रथा जिवितै छ। यी प्रथा परम्पराले जातीय विभेदका जराहरुलाई अझ बलियो बनाउँदै लगिरहेका छन्। यसका विरुद्धमा हामी आफै नजागेसम्म मुक्ति मिल्नेवाला छैन।
(लक्ष्मीदेवी वि.क. समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला मुगुमा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)














