अन्तरजातीय विवाह गरेकै कारण उनी विभेदको शिकार भइन् । दलित केटासँग विवाह गरेकाले समाजमा धेरै नै विभेदको सामना गर्नु परेको तितो अनुभुति छ, उनीसँग ।
सरस्वती थापा विकको अन्तरजातीय विवाह भएको हो । उनी दैलेख जिल्ला भगवतीमाई गाँउपालिकामा जन्मिएकी हुन ।
पढाइमा उनी अब्बल थिइन् । स्कुलमा नाम कहलिएकी उनी ७ कक्षासम्म प्रथम श्रेणीमा पास हुने गर्थिन् ।
‘गाँउमा देउसी खेल्न जाँदा मेरो श्रीमानले मलाई मन पराउने रैछन्,’ उनले भनिन्, ‘मलाई पछि थाहा भयो । त्यतिबेला म १४ वर्षकि मात्रै थिएँ ।’
देउसी खेलेको पैसा धेरै उठेकोले सबै साथीभाइ पिकनिक जाने योजना थियोे । सबैले पिकनिकमा खसी किनेर लिने कुरा गरेका थिए । उनी मासु नखाने भएकाले उनका लोकेन्द्रसँग पिकनिक नजाउँ बरु पैसा बाँडौं भन्न गएकी थिइन् ।
लोकेन्द्रसँग पिकनिककै विषयमा सल्लाह गर्दै बाटोमा बसेको बेला ‘गैरदलित भएर दलित केटासँग मायाजाल बुनेर बसेको’ भन्दै गाउँलेहरु लफडा गर्न आए ।
समाज नै आएर उनीहरुलाई समाउन लाग्दा लोकेन्द्रले ‘हामीलाई मार्छन्, यँहाबाट भागौं’ भनेपछि त्यँहाबाट भागे । दुबैजना राती हामी जंगलमा गएर बसे ।
उनी लोकेन्द्र भन्दा ४ वर्षले कान्छी थिइन् । त्यसको भोलिपल्ट उनीहरु दैलेख बजारमा लोकेन्द्रका आफन्तको घरमा जाने निर्णय गरे । त्यस अघि नै सरस्वतीका आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका रैछन् ।
उनीहरुलाई दैलेखको प्रहरी कार्यालयमा लगियो । त्यसमा एकजना चिनेको हवल्दारका कारणले उनीहरुलाई छोडियो । पछि उनीहरु लोकेन्द्रको आफन्तकोमा गएर बसे । यस्तैमा उनीहरुको बिहे भयो ।
‘मैले अन्तरजातीय विवाह गरेको कारणले अहिलेसम्म माइतीले बोलाउनु भएको छैन,’ उनले भनिन्, ‘१५ वर्ष हुन लाग्यो अहिलेसम्म म माइत गएकी छैन ।’
सरस्वती आमासँग कहिले काँही फोनमा कुरा गर्थिन् । पछि बुबाले थाहा पाए पछि गाली गरेछन् ।
‘आमाले म सुत्केरी हुँदा एक माना घ्यू दिन ठिक पारको बुबाले थाहा पाएउनु भएछ । झगडा भएको थियो रे । आमाले कुटाइ पनि खानु भएकाले आमाले आत्मा हत्या गर्नु भयो,’ उनले दुखेसो पोखिन् ।
आमा मर्दा पनि उनलाई घरमा बोलाइएन । अहिले उनका दाई दैलेख बजारमा बस्छन् । दाई चाहिँ कहिले काहिँ उनको घरमा आउजाउ गर्छन् ।
तर उनका बुबा भने अहिलेसम्म आएका छैनन् । सरस्वतीले बालक हुँदा नै भागि विवाह गरेकाले सानै उमेरमा आफन्त, परिवार र आमा गुमाउनु पुगिन् ।
यता लोकेन्द्रको घरको आर्थिक अवस्था कमजोर भएकाले ज्याला मजदुर गरेर जिविकोपार्जन गर्नु परिरहेको छ । विवाह पश्चात पनि उनले १२ कक्षासम्म पास गरिन् ।
अन्तरजातीय विवाह गरेकै कारण उनी विभेदको शिकार भइन् । दलित केटासँग विवाह गरेकाले समाजमा धेरै नै विभेदको सामना गर्नु परेको तितो अनुभुति छ, उनीसँग ।
सार्वजनिक कार्यक्रममा, विवाह, मन्दिर, धारा, कुवा, व्रतवन्ध, पार्टीहरुमा पहिला सहजै जाने उनले विभेद भोगेपछि जानै छाडिन् । गएपनि विभेद हुने डरले केही नखाई आउँथिन् ।
‘मैले जे जे भोगे पनि मेरा छोरा छोरीले चाहिँ विभेद र हिंसा नभोगुन् भनेर म दलित अधिकार र महिला अधिकारका लागि सधै गाँउ समाजमा आवाज उठाउने काम गर्दैछु,’ उनले भनिन्।
उनलाई सरकारी जागिर खान मन थियो । अहिले उनी छोरीलाई पढाइरहेकी छन् । उनकी छोरी ९ कक्षामा पढ्छिन् । आफ्नो पढ्ने सपना पुरा गर्न नपाए पनि छोरी छोरालाई पढाएर सरकारी जागिर खुवाउने उनको सपना छ ।
‘मैले जातका आधारमा जे जति भोगेँ त्यो चाहि मेरा छोरा छोरीले भोग्नु नपरोस भन्ने मेरो सपना हो,’ उनले थपिन्, ‘दलित केटासँग अन्तरजातीय विवाह गरेका कारणले जीवनमा धेरै अपठ्यारा, आरोप, विभेद र दु:ख भोगेँ’
उनी चाहन्छिन् आफ्ना छोराछोरीले जातकै आधारमा यी सब कुराहरु भोग्नु नपरोस्। त्यसैले उनले दु:ख कष्ट सहेर पनि छोरा छोरीहरुलाई पढाइरहेकी छन् ।
छोराछोरीको सपना नै आफ्नो सपना ठानिरहेकी सरस्वती मनमा सुन्दर सपना सजाएर अथक परिश्रम र संघर्ष गरिरहेकी छन् ।
(सरस्वती थापा विक समता फाउन्डेसनको दलित दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल दैलेख जिल्लामा रहेर दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)














