मंगलवार, १३ माघ, २०८२

परिवर्तनको आवाज लक्ष्मी

आज ठूलीभेरी नगरपालिकाको जुफाल गाउँमा लक्ष्मीले मुद्दा हाल्छिन् भन्ने डरका कारण गैरदलितले दलित समुदायमाथि विभेद गर्न कम गरेका छन् ।

डोल्पाको एक सानो गाउँमा जन्मेकी लक्ष्मी अहिले जिल्लाको न्यायको आवाज बनेकी छन् । गरिब परिवारकी लक्ष्मी ६ महिनाको पेटमा हुँदा बाको मृत्यु भएको थियो । त्यसपछि उनलाई आमाले नै दुःखजिलो गर्दै उनको पालनपोषण गरिन् ।

जन्मेदेखि अहिलेसम्म हुर्काउन, पढाउन आमाले गरेका संघर्ष ती कठिन दिनहरू उनको मानसपटलमा अझ पनि ताजै छ । गरिबै भए पनि साहसीले भरिएकी आमाले ज्याला मजदुरी गरेरै लक्ष्मीलाई विद्यालय पठाइन् ।

जसका कारण डोल्पा जस्तो विकट ठाउँमा रहेर पनि उनले स्नातकसम्मको अध्ययन पूरा गर्न सकिन् ।

लक्ष्मी विद्यालयदेखि नै मेहनती भएकोले पढाइमा अब्बल विद्यार्थी थिइन् । कक्षामा सधैँ पहिलो र दोस्रो श्रेणीमा पास हुन्थिन् । त्यसैले उनले गाउँघरमा वेधावी विद्यार्थीको परिचय पाइन् ।

उनी बाल्यकालदेखि नै अरू भन्दा फरक थिइन् । उनी आफ्ना साथीहरूलाई शिक्षा हाम्रो अधिकार हो भनी सम्झाउँथिन् । स्कुल जानुपर्छ भन्थिन् । गाउँका अरू दलित बालबालिकाहरू विद्यालय जान डराउँथे । निकै कम जान्थे ।

तर लक्ष्मीलाई आमाको दुःख र घरको अवस्थाले पढेर परिवार तथा समुदायका लागि केही काम गर्नु पर्छ भन्ने सपना हुर्कँदै थियो । त्यसतर्फ उनी अठोटका साथ लागेकी थिइन् । तर विद्यालयमा पिकनिक जाँदा, सरस्वती पूजा हुँदा भोगेको जातीय विभेद तथा अपमानका घटनाले अहिले पनि उनको स्मृतिमा नमिठो गरी गढेर बसेको छ ।

लक्ष्मीको अन्तरजातीय विवाह भएको हो । दलित महिलासँग अन्तरजातीय विवाह गरेका कारण लक्ष्मीका श्रीमान्को जात झरेको थियो । त्यसैले उनका श्रीमान्लाई अहिले बिटालु भनेर बोलाउने गर्छन् ।

लक्ष्मीको चोरी विवाह (तानेर लगेको) भएपनि बिहे भएको एक दुई वर्षसम्म झगडा गर्ने र श्रीमान्ले रक्सी खाएर पिट्ने गर्थे । छोराछोरी जन्मेपछि भने रक्सी खाएर कुट्न छाडे । उनले लक्ष्मी र छोराछोरीलाई राम्रो व्यवहार र सहयोग गर्ने गरेका छन् । यतिखेर उनका श्रीमान् भारतीय सेनामा कार्यरत छन् ।

भौगोलिक रूपमा अति विकट डोल्पा जिल्लामा अझै पनि सामाजिक विकृतिहरू धेरै छन् । दलित तथा महिलाहरू जातीय विभेद, लैङ्गिक असमानता र सामाजिक कुप्रथाहरूको चपेटामा परिरहेका छन् ।

यस्तो परिवेशमा लक्ष्मी एक युवा दलित महिला अभियन्ताको रूपमा बुलन्द आवाजका साथ सामाजिक न्याय र परिवर्तनको पक्षमा उभिएकी छिन् । आज ठूलीभेरी नगरपालिकाको जुफाल गाउँमा लक्ष्मीले मुद्दा हाल्छिन् भन्ने डरका कारण गैरदलितले दलित समुदायमाथि विभेद गर्न कम गरेका छन् ।

लक्ष्मी आमा समूहको अध्यक्ष छन् । साथै, भेरी नगरपालिकामा महिनावारी तथा बालविवाह सम्बन्धी काम गरिरहेकी छन् । उनी महिनाको २०, २५ हजारसम्म कमाउछिन् ।

डोल्पामा जातीय विभेद तथा महिला हिंसाको आवाज उठाउने, जो पीडित छ उसको पक्षमा न्यायका लागि प्रहरी कार्यालय र सम्बन्धित निकायमा जाने गरेकी छन् । यसरी लक्ष्मीले अहिले उजुरी तथा न्यायका लागि न्यायका लागि आवाज उठाइरहेकी छन् ।

लक्ष्मीको काम शब्दमा मात्र सीमित छैन । उनले डोल्पाको विभिन्न बस्तीमा पुगेर छाउपडी प्रथाविरुद्ध अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरेकी छन् । उनले किशोरीहरूलाई आत्मविश्वासी बन्न सिकाइरहेकी छन् । बालबालिकालाई विद्यालय फर्काइरहेकी छन् ।

उनको आवाज अब गाउँको सीमाभन्दा बाहिर पनि सुनिन थालेको छ । सार्वजनिक कार्याक्रमहरूमा उनको योगदानको चर्चा हुन थालेको छ । उनको कामको प्रशंसा भइरहेको छ । लक्ष्मीले निडर भइ विभेदविरुद्ध निरन्तर आवाज उठाएको हुनाले हिंसा र विभेद गर्‍यो भने लक्ष्मीले मुद्दा हाल्छिन् भन्ने सम्म गैरदलित समुदायमा चेत आएको छ ।

(लक्ष्मी बि.क. समता फाउन्डेसनको दलित दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला डोल्पामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार