सोमबार, २४ कार्तिक, २०८२

सिंजामा इन्टरनेट सेवा अझै पुग्न सकेन, स्थानीयहरू अनलाइन सेवाबाट वञ्चित

जुम्लाको ऐतिहासिक क्षेत्र सिंजा आज पनि आधुनिक प्रविधिको पहुँच बाहिर छ। इन्टरनेट सेवा नपुग्दा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयहरूले दैनिक प्रशासनिक र शैक्षिक कार्य गर्न मुस्किल भोगिरहेका छन्।

श्री शान्ति जन आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमान बहादुर रोकायका अनुसार इन्टरनेटको त कुरै छैन, गाउँमा मोबाइल सिग्नल समेत स्थिर छैन।

प्रधानाध्यापक रोकायाले भने, “सामान्य फोन गर्न पनि निकै समस्या हुन्छ। कहिलेकाहीँ फोन लागे पनि आवाज काटिन्छ वा नबुझिने हुन्छ।”

उनका अनुसार नेताहरूले इन्टरनेट सेवा ल्याउने वाचा धेरै गरे, तर अहिलेसम्म त्यो केवल कागजमै सीमित रह्यो। विद्यालयका अनलाइन कार्यक्रम र शैक्षिक रिपोर्टिङ ठप्प छन्।

त्यस्तै, सिंजा गाउँपालिका–६ का वडा अध्यक्ष लाल बहादुर बुढासँग कुटिरो डट कमले फोन गर्दा सम्पर्क हुन सकेन। पछि वडा कार्यालयका सहयोगी पदम रोकायले भने, “हामी इन्टरनेट खोज्दै जनताको सेवा गरिरहेका छौँ। वडा कार्यालयमा नेटवर्क आउँछ तर चल्दैन। कहिलेकाहीँ नेटवर्क आउने ठाउँमा पुगेर मात्रै अनलाइन काम गर्नुपर्छ।”

स्थानीय सर्जन रोकायका अनुसार सिंजाको माइथाप्ला टावर नै स्थानीयका लागि समस्या बनेको छ।

उनले भने, “फोन राम्रोसँग चल्दैन, नेटवर्क पनि पटक्कै नहुने भएको छ। सरकारी निकायले सिंजालाई प्रविधिको दृष्टिले निकै पछाडि पारेको छ।”

धेरै ठाउँमा पहल गरि वडा अध्यक्षहरूलाई समेत इन्टरनेट सेवा छिटो सञ्चालन गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।

इन्टरनेट नहुँदा विद्यालय, वडा कार्यालयदेखि लिएर स्वास्थ्य संस्थासम्मका अनलाइन काम प्रभावित भएका छन्। नागरिकता, सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता लगायतका फर्महरू हाल अनलाइन प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले स्थानीयले आवश्यक कागजात बनाउने काम पनि ढिलो भइरहेको छ।

समस्या समाधानका नेपाल टेलिकम जुम्ला शाखाका प्रमुख नरहरि नेपालसँग पनि सम्पर्क गर्दा उनले भने, “हामीलाई यो समस्या औपचारिक रूपमा जानकारी दिइएको थिएन। तपाईंले जानकारी दिनुभयो, म अहिले दशैं बिदामा छु। बिदा सकिएलगत्तै जुम्ला फर्किएर यो समस्या समाधानका लागि पहल गर्छु।”

बितेका वर्षहरूमा धेरै ठाउँमा डिजिटल नेपाल अभियानका चर्चा भए पनि, सिंजाका जनताले अझै पनि बत्ती बालेर नेटवर्क खोज्नुपर्ने बाध्यता भोगिरहेका छन्। डिजिटल नेपालको सपना पूरा हुन, पहाडी बस्तीका यस्ता टाढा क्षेत्रहरूमा इन्टरनेट सेवा स्थायी रूपमा पुग्न जरुरी देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार