शनिबार, ११ आश्विन, २०८२

पत्रकार महासंघ जुम्लाद्वारा तीन पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लाका तीन जना पत्रकारलाई पत्रकारिताको विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा पुरस्कार प्रदान गरेको छ।

पुरस्कार प्राप्त गर्नेमा कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावत, दूबो खबरका प्रधान सम्पादक काली बहादुर परियार र रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने रहेका छन्।

उनीहरूलाई क्रमशः कृषि तथा पर्यटन पत्रकारिता, युवा तथा खेलकुद पत्रकारिता, गौरी पदम स्मृति पत्रकारिता र पुरस्कारबाट सम्मान गरिएको हो।

महासंघले तोकिएको म्यादभित्र प्राप्त आवेदकमध्ये छनोट गरेका तीनै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला प्रदान गरिएको हो।

पुरस्कार हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले पत्रकारहरू समाज रूपान्तरणका अग्रपंक्तिका पात्र भएको उल्लेख गर्दै निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामार्फत मुलुकको लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन आग्रह गरे।

कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार विजेता विजय रावतले कृषि, ग्रामीण विकास र पर्यटनसम्बन्धी विषयलाई निरन्तर समाचारको केन्द्रमा राख्दै आएका छन्। उनले कर्णालीको कृषि सम्भावना र पर्यटन क्षेत्रको प्रवर्द्धनमा पत्रकारितामार्फत विशेष योगदान पुर्‍याएका छन्।

यस वर्षको युवा तथा खेलकुद पत्रकारिता पुरस्कार प्राप्त काली बहादुर परियार खेलकुद र युवा सम्बन्धी विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।

त्यस्तै, गौरी पदम स्मृति पत्रकारिता पुरस्कार प्राप्त लक्ष्मी न्यौपाने लामो समयदेखि सञ्चार क्षेत्रमा संलग्न रहँदै महिला सशक्तीकरण, लैङ्गिक समानता र सामाजिक सचेतनामूलक विषयलाई निरन्तर उठाउँदै आएकी छन्।

कार्यक्रममा महासंघका पदाधिकारी, सरकारी कार्यालयका प्रमुख, पत्रकार, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।

पुरस्कृत पत्रकारहरूको योगदानको प्रशंसा गर्दै स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर जनस्तरमा सशक्त आवाज उठाउन निरन्तर सक्रिय रहन पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले शुभकामना व्यक्त गरेका थिए।

उनका अनुसार नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लामा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न विधामा पत्रकारिता पुरस्कार प्रदान गर्ने परम्परा स्थापित गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार