शुक्रबार, २९ फाल्गुन, २०८२

स्ववियुको आयोजनामा जुम्ला बहुमुखी क्याम्पसमा विपद प्रतिकार्य अभ्यास

“हामी विपद आउँछ भनेर सोच्छैनौं, तर नचाहँदा–नचाहँदै पनि आउँछ,” प्रहरी निरीक्षक थानेश्वर चापाईंले जुम्ला बहुमुखी क्याम्पसमा आयोजित विपद प्रतिकार्य अभ्यास कार्यक्रममा उद्घोष गर्दै भने।

उनका शब्दले क्याम्पस प्राङ्गणमा उपस्थित विद्यार्थी, प्रहरी र स्थानीयलाई जीवनका अनिश्चित क्षणहरूसँग जुध्न तयार रहनुपर्ने कठोर यथार्थ सम्झाइरहेको थियो।

जुम्ला बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा गरिएको कार्यक्रमले शैक्षिक गतिविधिलाई मात्र होइन, समुदायको समग्र चेतनालाई पनि उकास्ने प्रयास गरेको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले बताए।

उनका अनुसार, विपदका क्षणमा प्रत्यक्ष अनुभवकै अभ्यास आवश्यक हुने भएकाले यस किसिमका गतिविधि अपरिहार्य छन्।

“हामी विपद चाहँदैनौं, तर तयारी नगरी बस्न पनि मिल्दैन। अभ्यासले असजिलो परिस्थितिमा आत्मविश्वास जगाउँछ,” खत्रीले भने।

कार्यक्रममा प्रहरीले व्यवहारिक अभ्यासमार्फत विपद प्रतिकार्यका विभिन्न चरण प्रदर्शन गरे। कसरी घाइतेलाई प्राथमिक उपचार दिने, भीड व्यवस्थापन गर्ने, उद्धारका साधन प्रयोग गर्ने, र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जस्ता गतिविधि प्रत्यक्ष अभ्यासमा उतारिएका थिए।

स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले अभ्यासलाई जीवनमा काम लाग्ने पाठका रूपमा लिनुपर्नेमा जोड दिए।

“पाठ्यपुस्तकले मात्र सिकाउँदैन, यस्तो अभ्यासले जीवनलाई वास्तविक ज्ञान दिन्छ। विपद आयो भने हामीलाई भाग्ने होइन, सहयोग गर्नुपर्ने हो भन्ने चेत यसले दिएको छ,” उनले बताए।

कार्यक्रममा प्रहरी टोलीको सक्रियताले विद्यार्थीलाई थप व्यवहारिक अनुभव दिलाएको उनको भनाइ छ।

यस्तो अभ्यास नियमित रूपमा गर्नुपर्ने क्याम्पस प्रमुख खत्रीले थपे। उनले भने, “विपद आउँदा डराउनु हुँदैन, सजग र संगठित हुनुपर्छ भन्ने सन्देश यहाँबाट पायौं।”

जुम्ला भौगोलिक दृष्टिले विपद सम्भावनायुक्त जिल्ला हो। पहिरो, हिमपात, भूकम्प वा आगलागी जस्ता आकस्मिक परिस्थितिले स्थानीयलाई पटक–पटक चुनौती दिँदै आएको छ।

त्यसैले, विपद प्रतिकार्य अभ्यासले समुदायलाई तयारीका दिशामा अघि बढाएको स्ववियु सचिव दत्त रावतले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार