भरतपुरको हाकिमचोकस्थित हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनियमितता भेटिएको छ।
बिहीबार भएको अनुगमनमा नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले उपचार गर्ने गरेको पाइएको हो।
अनुगमन टोलीमा नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष अजयकुमार साह, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्की, काउन्सिल सदस्य डा. विक्रान्त ढकाल र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी थिए।
क्लिनिक विषम चौधरीले सञ्चालन गरेका हुन्। तर क्लिनिक कुनै पनि निकायमा दर्ता नभएको खुलेको छ।
अनुगमनका बेला चिकित्सक कोही पनि उपस्थित थिएनन्। सञ्चालक चौधरीले भारतको छत्तीसगढबाट बीडीएस र कान्तिपुर डेण्टलबाट सीडीएस अध्ययन गरेको दाबी गरे। तर उनी काउन्सिलमा दर्ता भएका रहेनछन्।
टोलीले क्लिनिकमा रहेको सिसी क्यामेराको हार्डडिस्क नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। हार्डडिस्कको अध्ययनपछि थप विवरण आउने जनाइएको छ।
फलोअपमा आएका बिरामीका अनुसार चौधरी नै ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गर्थे। उनीसहित अन्य दुई जना कर्मचारी त्यहाँ कार्यरत थिए।
बिरामीहरूले चौधरीले आवश्यक नपर्ने महँगो परीक्षण गर्न बाध्य पार्ने गरेको गुनासोसमेत गरेका छन्।