कनकासुन्दरी गाउँपालिकाको गोठिज्युलामा श्रावण ३० र ३१ गते सञ्चालन गरिएको दुई दिने “विपद् व्यवस्थापन तथा आधारभूत प्राथमिक उपचार” तालिम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र क्याड नेपाल जुम्लाको सहजीकरणमा आयोजित उक्त तालिममा ८ वडाबाट २२ जना र गाउँपालिका तथा शाखा कार्यालयका ६ जना गरी २८ जनाक सहभागीता थियो।
परियोजना संयोजक राजेश प्रकाश यरीका अनुसार तालिमको उद्देश्य स्थानीय युवाहरु तथा सरोकारवालाको आपतकालीन प्रतिकार्य क्षमतामा वृद्धि गर्नु हो।
सहभागीहरुलाई विपद् र यसको प्रकार, विपद् व्यवस्थापन चक्र, जलप्रकोप र आगलागी नियन्त्रण तथा स्थानीय स्रोत प्रयोग गरी उद्धार सामग्री बनाउने सीपलगायतका विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइयो।
समापन कार्यक्रममा कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्यले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुका साथै आगामी दिनमा गाउँपालिकाले यस्ता कार्यक्रम स्वयं आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।














