पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा सम्पन्न जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत जिल्लाका तीन उत्कृष्ट कृषकहरूलाई नगदसहित आज सम्मान गरिएको छ।
कार्यक्रममा नारायण नगरपालिका ६ स्थित स्वस्तिमा एग्रो कृषि फर्म सञ्चालन गर्दै आएकी पार्वती रेग्मीलाई प्रथम पुरस्कार स्वरूप ३० हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिएको हो ।
त्यस्तै आठबीस नगरपालिका ५ मा कर्णाली कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा ल्याएका निरज कुमार माझीलाई २५ हजार रुपैयाँ नगद र प्रमाण पत्रसहित द्वितीय पुरस्कार प्रदान गरियो भने। तृतीय पुरस्कार भैरवी गाउँपालिका ६ का राजेश कँडेलले सञ्चालन गर्दै आएको ग्रामीण पशुपन्छी तथा एग्रो फरेष्ट्री फर्मलाई प्रदान गरिएको थियो ।, जसमा उनले २० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्राप्त गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्री विनोदकुमार शाह रहेका थिए। सोही अवसरमा पशुपन्छी विकास शाखा प्रमुख, जिल्ला तथा स्थानीय तहका सम्बन्धित कर्मचारी, जिल्ला समन्वय समिति, जिल्ला कृषि कार्यालय, स्थानीय तहका प्रमुखहरू तथा पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको समन्वय गोष्ठी पनि आयोजना गरिएको थियो।
कार्यक्रममा पुरस्कृत किसानको तर्फबाट युवा कृषक निरज कुमार माझीले आफ्ना भावना कवितामार्फत व्यक्त गर्दै भने,“म माटोको छोरा, म किसान,हाम्रो तर्फबाट, हामी किसानको तर्फबाट। म धेरै बोल्दिन, थोरै थोरै बोल्छु,अलि धेरै कुरा खोल्छु।”
कार्यक्रमको अध्यक्षता पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुखले गरेका थिए । उक्त सम्मान कार्यक्रमले जिल्लाका मेहनती तथा प्रेरणादायी कृषकहरूको पहिचान गर्दै उनीहरूको मनोबल अभिवृद्धिमा टेवा पुर्याउने विश्वास आयोजक कार्यालयले व्यक्त गरेको छ।














