बुधबार, २० फाल्गुन, २०८२

चन्दननाथको १ मा सार्वजनिक सुनुवाई सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १ मा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयको आयोजनामा र कुटीरो रिसर्च सेन्टरको सहजीकरणमा भएको हो

ज्येष्ठ नागरिक नन्दकृष्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले चालू आर्थिक वर्षमा ५३ लाखको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरे।

उक्त प्रतिवेदनले वडाको विकास गतिविधि र उपलब्धिहरूलाई उजागर गरेको थियो, तर स्थानीयबासीले ढल, सडक, खानेपानी, विद्युत र सरसफाइको उचित व्यवस्थापनमा केन्द्रित रहेर विभिन्न जिज्ञासा र सुझाव राखे।

कार्यक्रममा वडा अध्यक्ष तिलक प्रसाद न्यौपाने, वडा सदस्य नन्दबहादुर गुरुङ र वडा सचिव सीता देवी रावल जवाफदेही वक्ताको रूपमा उपस्थित थिए।

उनीहरूले स्थानीयको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्दै विकासका योजनाहरूबारे स्पष्ट पारे।

अध्यक्ष न्यौपानेले आफ्नो प्रतिवेदनमा वडाले सडक स्तरोन्नति, ढल व्यवस्थापन र खानेपानीको पहुँच विस्तारमा जोड दिएको उल्लेख गरे।

“हामीले सीमित स्रोत र साधनका बाबजुद पनि वडावासीको आधारभूत आवश्यकता पूरा गर्न प्रयास गरेका छौं,” उनले भने, “तर केही क्षेत्रमा अझै सुधारको खाँचो छ, जसका लागि हामी प्रतिबद्ध छौं।”

स्थानीय बुद्धिजीवी दयादत्त हमालले सडकको दुरावस्थाले स्थानीयको दैनिकीमा पारेको असरबारे प्रश्न उठाए।

“वडाका केही गल्लीहरूमा वर्षायाममा हिलो र हिउँदमा धुलोले हिँड्नै नसकिने अवस्था छ,” उनले भने, “यसको दीर्घकालीन समाधान के हो?”

जवाफमा अध्यक्ष न्यौपानेले सडक कालोपत्रे र ढल व्यवस्थापनका लागि आगामी योजनामा बजेट विनियोजन गरिने आश्वासन दिए।

स्थानीय राजबहादुर भक्रीले खानेपानीको अभावले गाउँमा सधैं समस्या भइरहेको गुनासो गरे। “हाम्रो टोलमा पानीको पाइप त पुगेको छ, तर पानी आउँदैन,” उनले भने, “यो समस्यालाई कहिले समाधान गरिन्छ?”

वडा सचिव सीता देवी रावलले खानेपानी मर्मत सम्हार खर्च व्यवस्थित रुपमा र नियमसंगत रुपमा भइरहेको जानकारी गराइन्। “युवा लक्षित कार्यक्रमका लागि युवाहरुको माग बमोजिम खर्च भएको र बाँकी रमक नगरलाई फिर्ता गरिएको छ।”

स्थानीय जयकृष्ण आचार्यले योजनाको उपभोक्ता समिति निर्माणमा पक्षपात भएको बताए। जवाफमा वठा अध्यक्ष न्यौपानेले उपभोक्ता समिति निर्माणमा वडाका कसैले हस्तक्षेप नगरेको दावी गरे।
“बरु उपभोक्ता समितिलाई सहज बनाउन लागेका छौं,” उनले भने, “जनताले भेला गरेर बनाएका कुनैपनि उपभोक्ता समितिलाई असहज बनाएको एउटा उदाहरण पेस गर्न चुनौती दिन्छु।”

बुद्धिजीवी तथा प्राज्ञिक व्यक्तित्व बालकराम देवकोटाले आदर्श र प्राज्ञिक व्यक्तित्व रत्नागर देककोटाको सम्मानका लागि सालिक र चोक निर्माण गर्नुपर्ने सुझाव दिए।

वडा अध्यक्ष न्यौपानेले रत्नाकर देवकोटा र योगी नरहरी नाथ दुबैको सम्मानका लागि शालिन निर्माणका लागि वडा गम्भीर भएर लागिरहेको बताए।

कार्यक्रममा उपस्थित स्थानीयवासीले वडा कार्यालयको कामप्रति मिश्रित प्रतिक्रिया दिए। कतिपयले विकासका काममा भएको प्रगतिलाई सह्राना गरे भने कतिपयले अझै प्रभावकारी कार्यान्वयनको अपेक्षा राखे।

सार्वजनिक सुनुवाईले चन्दननाथ नगरपालिका वडा नं. १ का बासिन्दालाई आफ्ना गुनासा र सुझाव राख्ने अवसर प्रदान गरेको छ वठा सदस्य कोइरी कुलालले बताइन्।

स्थानीयको सक्रिय सहभागिता र वडा कार्यालयको जवाफदेही भूमिकाले विकास प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल