चन्दननाथ नगरपालिका–६, जुम्लामा एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन ‘कन्या च्याउ’ उत्पादन तालिम सुरु भएको छ। सातदिने यो तालिमले महिलाहरूलाई व्यावसायिक च्याउ खेतीको सीप सिकाएर आर्थिक सशक्तिकरण गर्ने लक्ष्य राखेको छ।
तालिमको उद्घाटन नगर उपप्रमुख रादेवी खड्काको प्रमुख आतिथ्यमा भएको थियो। सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा विशेष अतिथि र वडा अध्यक्ष रवि थापा सभाध्यक्ष थिए।
तालिममा २२ जना एकल महिलाहरू सहभागी छन्। उनीहरूले च्याउ खेतीको आधारभूत ज्ञान, उत्पादन प्रक्रिया, हेरचाह, र बजारीकरण सिक्नेछन्।
सामाजिक विकास कार्यालय, जुम्लाले २ लाख र चन्दनाथ–६ ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। तालिमको सहजीकरण सुर्य सामाजिक सेवा संघले गरेको छ।
उपप्रमुख खड्काले तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा योगदान गर्ने बताइन्। प्रमुख बुढाले सीपमूलक तालिमले विकासको आधार तयार गर्ने उल्लेख गरे।
वडा अध्यक्ष थापाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। तालिमपछि सहभागीहरू व्यावसायिक च्याउ खेतीमार्फत आत्मनिर्भर हुने अपेक्षा छ।