सोमबार, २ असार, २०८२

जुम्लामा राजबहादुर बडुवालको अध्यक्षतामा १९ सदस्यीय विज्ञान शिक्षक समाज गठन

नवनिर्वाचित अध्यक्ष राज बहादुर बडुवालले विज्ञान शिक्षक समाजको गठनले जुम्लामा विज्ञान शिक्षणका समस्याहरू समाधान गर्न र विद्यार्थीमा सिर्जनशीलता विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए।

जुम्लामा विज्ञान विषय अध्यापन गराइरहेका शिक्षकहरूको साझा सङ्गठन, विज्ञान शिक्षक समाज (STAN) जुम्ला गठन भएको छ। वरिष्ठ विज्ञान शिक्षक पवनराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले राज बहादुर बडुवालको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

कार्यक्रममा चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले शिक्षा क्षेत्रमा देखिएका विविध समस्याहरूको सूक्ष्म अध्ययन गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। उनले देशका धेरै विद्यालयहरूमा विज्ञान शिक्षकको अभाव रहेको र बारम्बार विज्ञापन गर्दा पनि दरखास्त नपरेको गम्भीर अवस्थालाई सम्बोधन गर्न सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए।

वरिष्ठ विज्ञान शिक्षक मीनराज शर्माले विद्यालयमा शैक्षिक सुधार र अतिरिक्त क्रियाकलापमा विज्ञान शिक्षकको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले अहिले पनि विज्ञान विषयको शिक्षण परम्परागत तरिकाले भइरहेको उल्लेख गर्दै प्रविधिमैत्री र अनुसन्धानात्मक शिक्षण विधिमार्फत वैज्ञानिक चेतना भएका सिर्जनशील विद्यार्थी उत्पादन गर्नुपर्ने विचार व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष राज बहादुर बडुवालले विज्ञान शिक्षक समाजको गठनले जुम्लामा विज्ञान शिक्षणका समस्याहरू समाधान गर्न र विद्यार्थीमा सिर्जनशीलता विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए।

उनले विद्यार्थीमा वैज्ञानिक चिन्तनको विकास गरी वातावरण सुहाउँदो शिक्षा प्रवर्द्धन गर्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए। साथै, शिक्षकहरूले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार