सोमबार, २ असार, २०८२

महावीर विश्वकर्मा स्मृति सम्मान’ दाङका सुरेन्द्र चौधरीलाई : मुक्तकालय नेपाल दोस्रो वर्षमा प्रवेश

दाङका नवमुक्तककार सुरेन्द्र चौधरीलाई ‘महावीर विश्वकर्मा स्मृति सम्मान–२०८२’ प्रदान गरिएको छ। शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा कमजोर भएर पनि निरन्तर मुक्तक लेखनमा सक्रिय चौधरीलाई मुक्तकालय नेपालले दोसल्ला, प्रमाणपत्र र ५०,००० नगदसहित सम्मान गरेको हो।

यो सम्मान समारोह मुक्तकालय नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित थियो। कार्यक्रम शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भव्य रूपमा सम्पन्न भयो। सोही अवसरमा मुक्तकालय नेपालले दोस्रो वर्षमा औपचारिक प्रवेश गरेको घोषणा गर्‍यो।

कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथि रहनुभयो। विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार रमेश पौडेल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, नेपाल मुक्तक प्रतिष्ठानकी कोषाध्यक्ष निशा केसी र काठमाडौँ महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए।

मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जला भारद्वाजको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष कमला घिमिरे अधिकारीले स्वागत मन्तव्य राख्नुभयो भने सचिव देवीमाया बास्कोटाले सञ्चालन गरेका थिए।

संस्थाका संरक्षक सुनिल अधिकारीले मुक्तकालय नेपालको स्थापना, उद्देश्य र आगामी योजनाहरू, जस्तै पाठ्यक्रममा मुक्तक समावेश, मुक्तक महोत्सव र मुक्तक महासङ्घको अवधारणा, प्रस्तुत गरे।

संस्थाको विकासका लागि विभिन्न व्यक्ति र संस्थाबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ। नेपाल मुक्तक प्रतिष्ठान केन्द्रबाट १,११,१११, दुबई निवासी मुक्तककार ललितकुमार न्यौपानेबाट १,०१,१११, मुक्तिनाथ दर्शन साहित्य समाजका संरक्षक हरिभक्त सिग्देल महेशबाट ११,१११ र अध्यक्ष निलाञ्जला भारद्वाजले आफ्नो कृति ‘निलाञ्जला’ बाट सङ्कलन भएको ५०,००० सहयोग गरे। त्यस्तै, कृष्णराज आचार्यले २०,००० र कृष्णप्रसाद प्रसाईंले ५,००० सहयोग प्रदान गरे।

कार्यक्रममा मुक्तक प्रतियोगिता शृङ्खला २०० का विजेताहरू, नियमित लेखकहरू र आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरियो। वडा नं. १५ का अध्यक्ष ईश्वरमान डङ्गोललाई निरन्तर सहयोगका लागि सम्मान गरियो।

संस्थाका संरक्षक सुनिल अधिकारीका अनुसार कार्यक्रम भावुक, ऊर्जावान् र मुक्तकप्रेमीहरूको एकताको भावनाले भरिपूर्ण थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार