५ लाखको मौखिक कुरा भए पनि प्रतिष्ठानका दुई समाचार र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका १० फोटोसहित विशेषांक प्रकाशन गरी रकम मागियो। मैले ५० हजार मात्रै भुक्तानी दिएँ। त्यसपछि प्रतिष्ठानविरुद्ध श्रृंखलाबद्ध समाचार आउन थाले। तथापि त्यस अगाडि कुनै नकारात्मक समाचार आएका थिएनन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकारले मागेको रकम नदिएकै कारण प्रतिष्ठानविरुद्ध श्रृंखलाबद्ध आक्रमण भएको दाबी गरेका छन्। आइतबार प्रतिष्ठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जुम्लाका केही पत्रकारले मागेको रकम नदिएपछि महिला जागरण अनलाइनमार्फत पदाधिकारी र प्रतिष्ठानविरुद्ध बारम्बार समाचार प्रकाशन गरी आक्रमण गरिएको बताए।
महतका अनुसार, कोरन्युज प्रा.लि.द्वारा सञ्चालित कोरपाटी डटकम अनलाइनले २०७८ मा एमबिबिएस कार्यक्रमको डकुमेन्ट्री निर्माणका लागि ५ लाख रुपैयाँ माग गरेको थियो। यो प्रस्ताव कोरपाटी डटकमको भए पनि नेपाल पत्रकार महासंघ जुम्लाका तत्कालीन अध्यक्ष नेत्रबहादुर शाही र उपाध्यक्ष दिलमाया शाहीलाई रकम दिने सहमति भएको थियो।
तर, डकुमेन्ट्री नबनाई महासंघको विशेषांक प्रकाशन गरी उक्त रकम मागिएको उनले बताए। उनले भने, “मागिएको रकम नदिएकै कारण अन्य अनलाइनमार्फत भ्रम फैलाइएको छ। यसप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ।”
महतले तत्कालीन अध्यक्ष र उपाध्यक्ष शाहीद्वयले डकुमेन्ट्रीका लागि प्रस्ताव पेश गरेको र महासंघका वर्तमान अध्यक्ष पूर्णप्रसाद चौलागाईंको हस्ताक्षर किर्ते गरी कोरपाटी डटकमको सम्पादकका रूपमा प्रस्ताव दिएको दाबी गरे।
उनले भने, “५ लाखको मौखिक कुरा भए पनि प्रतिष्ठानका दुई समाचार र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका १० फोटोसहित विशेषांक प्रकाशन गरी रकम मागियो। मैले ५० हजार मात्रै भुक्तानी दिएँ। त्यसपछि प्रतिष्ठानविरुद्ध श्रृंखलाबद्ध समाचार आउन थाले। तथापि त्यस अगाडि कुनै नकारात्मक समाचार आएका थिएनन्।”
उनले गत फागुन १२ गते करार कर्मचारीको विज्ञापनसम्बन्धी समाचारमा विभिन्न व्यक्तिलाई जोडेर चरित्रहत्या गरिएको र गलत सन्देश प्रवाह गरिएको बताए। उनले भने, “यस्ता समाचारमा व्यक्तिगत र नातासम्बन्ध जोडेर पित पत्रकारिता गरिएको छ। यसविरुद्ध प्रतिष्ठान कानुनी उपचारमा जानेछ।”
यता, पत्रकार दिलमाया शाहीले प्रतिष्ठानविरुद्ध पूर्वाग्रह राखेर समाचार नलेखेको र नागरिकले प्रमाणसहित जानकारी दिएकाले समाचार प्रकाशन गरेको बताइन्। उनले भनिन्, “महासंघले रकम मागेको विषयमा मलाई जानकारी छैन। मेरो नाममा बैंकमा हस्ताक्षर पनि चल्दैन।”
त्यस्तै, तत्कालीन अध्यक्ष नेत्रबहादुर शाहीले पत्रकार महासंघको कोषेलीका लागि रकम मागिएको र प्रतिष्ठानका सन्देश प्रकाशन गरिएको बताए। उनले भने, “महतले गलत भ्रम छरे। उनको कार्यकालमा मैले विज्ञापन पनि मागिनँ। उनले बोलेका कुराले दुखित बनाएको छ। यसविरुद्ध कानुनी उपचारमा जान तयार छु।”















