सञ्जालले यो पहल जिल्लाका दलित समुदायलाई एकताबद्ध गराउन, हरेक क्षेत्रमा अघि बढाउन र दलित समुदायले नेतृत्व लिने वातावरण बनाउन गरिएको बताएको छ।
आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर पारि अन्तर दलित एकता सञ्जालले दलित समुदायलाई एकत्रित गरी भव्य रूपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
जुम्ला सदरमुकामस्थित स्टार होटेलमा आज आयोजित कार्यक्रममा सञ्जालले दलित समुदायको आवाज, दलित समुदाय किन पछि परेको छ र दलितले नेतृत्व लिन किन सकिरहेका छैनन् भन्ने विषयमा गहन छलफल गरेको थियो।
शुभकामना आदानप्रदानसँगै आगामी दिनमा दलित समुदायले कसरी नेतृत्व लिने र एकजुट भएर अघि बढ्ने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो।
कार्यक्रममा देशका ठूला–साना राजनीतिक दलहरूले दलितलाई उच्चस्तरीय नेतृत्वमा पुर्याउन तयार नभएको सन्दर्भमा अब कसरी नेतृत्व लिन पाउने वा त्यो पहुँचमा पुग्न खबरदारी गर्ने जस्ता विषयहरू पनि छलफलमा उठान गरिएका थिए।
अन्तर दलित एकता सञ्जालका संयोजक अभिषेक नेपालीले भने, “यो हाम्रो सुरुवात हो, र एक दिन अवश्य यो एकता सफल हुनेछ। दलित समुदायले यसको लाभ लिनेछ, र यसका लागि हामी सबैको दायित्व छ।”
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि मनसुर सुनारले दलित एकता सफल पार्न सबै दलित समुदायलाई दल, संगठन वा स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने बताए।
सञ्जालकै बालराम नेपालीले भने, “सामन्ती वर्गले हामीलाई उपेक्षित बनायो, र हामी बनिरह्यौं। अब हामीले यिनका विरुद्धमा बोल्ने बेला आएको छ। हामीले हाम्रो नेतृत्व आफैं तय गर्नुपर्छ, जसका लागि विद्रोह गर्नुपर्ने आवश्यकता छ।”
अन्तर दलित एकता सञ्जालले आगामी दिनमा दलित समुदायलाई एकताबद्ध गराउने र दलित समुदायमाथि हुने विभिन्न घटनाक्रमको घोर भत्सर्ना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सञ्जालले यो पहल जिल्लाका दलित समुदायलाई एकताबद्ध गराउन, हरेक क्षेत्रमा अघि बढाउन र दलित समुदायले नेतृत्व लिने वातावरण बनाउन गरिएको बताएको छ।
कार्यक्रममा विभिन्न दलित सम्बन्धित संघ–संगठनका पदाधिकारीहरू र दलित समुदायको बाक्लो उपस्थिति रहेको थियो। यो उपस्थितिले अब जिल्लाका दलित समुदाय एकताबद्ध भइरहेको संकेत गरेको छ।
