अनेरास्ववियु जिल्ला कमिटी जुम्लाले होली विशेष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अखिल जिल्ला अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा इन्चार्ज पदम सुवर्णकार प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
प्रमुख अतिथि सुवर्णकारले होली पर्वले सामाजिक एकता, भाइचारा र सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सबैलाई शुभकामना व्यक्त गरे।
उनले भने, “होली रंगहरूको पर्व मात्र नभई आपसी मेलमिलाप र खुसी साटासाटको अवसर पनि हो। यसलाई सभ्य र अनुशासित रूपमा मनाउन सबैमा आग्रह गर्दछु।”
यसैगरी, विशेष अतिथिको रूपमा जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले पनि आफ्नो भनाइ राखेका थिए।
उनले होलीको सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई यस पर्वलाई सकारात्मक ऊर्जा र एकताको प्रतीकका रूपमा मनाउन प्रेरित गरे।
“हाम्रो विविधतायुक्त समाजमा होलीले एकताको सन्देश बोकेको छ,” खत्रीले भने।
कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, विद्यार्थीहरू र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।