संयोजक शाहीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए।
साविकको कर्णालीमा एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक पदम बहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समिति गठन गरिएको छ।
मंगलबार बसेको क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको बैठकले शाहीलाई संयोजक र उपप्राध्यापक डम्वर बहादुर महतलाई सदस्य सचिव तोकेको हो।
समितिमा हिक्मत बुड्थापा, हरिकृष्ण थापा, नर बहादुर सेजुवाल, जगत बहादुर खत्री र नरेन्द्र बहादुर महत सदस्यका रूपमा रहेका छन्।
आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका आंगिक क्याम्पसहरूमा हुने स्ववियु निर्वाचनको तयारीस्वरूप यो समिति गठन गरिएको हो।
संयोजक शाहीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए।
“हामीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न र निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,” उनले भने, “सबै पक्षको सहयोग र सहभागिताले निर्वाचन सफल हुनेमा म विश्वस्त छु।”
त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ।
यस्तै, संघ–संगठन दर्ता फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोध फागुन २८ गते र अन्तिम उम्मेदवारको नामावली फागुन २९ गते प्रकाशन गरिनेछ। मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले निर्वाचन कार्यतालिका अनुसार सबै क्याम्पसमा तयारी तीव्र बनाइएको जानकारी दिए।
त्रिविले यसअघि नै ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ र आचारसंहिता जारी गरिसकेको छ। निर्वाचनमा २८ वर्षे उमेरहद कायम गरिएको छ भने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ।
देशभरका त्रिविका ६२ आंगिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैदिन हुने यो निर्वाचनले विद्यार्थी नेतृत्व चयनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।














