पुलले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्छ।
मंगलबारदेखि कर्णाली नदीमाथिको एउटा पुरानो र जीर्ण झोलुङ्गे पुल आवतजावतका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
यो पुलले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्छ।
इलाका प्रहरी कार्यालय राकम कर्णाली (दैलेख) का इन्चार्ज सूर्य बहादुर कार्की र इलाका प्रहरी कार्यालय कालेकाडाका प्रमुख राम सिंह फरालसहितका अधिकारीहरूको उपस्थितिमा पुल बन्द गरिएको हो।
पुल लामो समयदेखि जोखिमपूर्ण अवस्थामा थियो। गत जेठ २७ गते अछामबाट दैलेखतर्फ १४ वटा खच्चर लैजाँदै गर्दा पुल भाँचिएको थियो, जसमा दुई खच्चरको ज्यान गएको थियो।
हाल यो पुलबाट दैलेखका करिब १० विद्यार्थी अछामको श्री चण्डिका माध्यमिक विद्यालयमा पढ्न आउजाउ गर्थे। तर, मंगलबार बिहान ९ बजेदेखि पुल पूर्ण रूपमा बन्द भएपछि पाँच जना महिनावारी भएका छात्राहरू विद्यालय जानबाट वञ्चित भएका छन्।
विकल्पमा रहेको अर्को बाटोमा नैनैल देवताको मन्दिर भएकाले अन्धविश्वासका कारण उनीहरू घर फर्किन बाध्य भए। २१औं शताब्दीमा पनि यस्ता कुरीति र अन्धविश्वास कायम रहेको देखिएको छ।
पूर्वाधार विकास कार्यालय र शहरी विकास मन्त्रालयका इन्जिनियर गौतम भण्डारीका अनुसार, पुलको पुनर्निर्माण केही दिनभित्रै सुरु भई अबको केही महिनामा सम्पन्न हुनेछ।
आठ महिनादेखि पुनर्निर्माणको प्रतीक्षामा रहेका स्थानीयबीसीमा यो खबरले आशा जगाएको छ। तर, अहिलेलाई पुनर्निर्माण नहुँदासम्म पुलबाट आवतजावत ठप्प रहनेछ।
यसले स्थानीयको दैनिकी र विद्यार्थीको शिक्षामा ठूलो असर परेको छ। सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ।














