बरामद हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका-१, राजिकोटस्थित जंगलमा लुकाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा खोजी गर्दा उक्त हतियार बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदिलाल कामतीका अनुसार चन्दननाथ-१ को गुईया खोलाको उत्तरतर्फ रहेको ओडारमा खैरो रंगको जुटको बोरा र चिनिको बोरा प्रयोग गरी लुकाइ राखिएको एकनाले भरुवा बन्दुक भेटिएको हो।
बरामद हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको उनको भनाई छ।
डीएसपी कामतीका अनुसार उनले जुम्ला जिल्लामा हाजिर भएदेखि हालसम्म एसएलआर ३ थान, कटुवा पेस्तोल २ थान, र भरुवा बन्दुक ४ थानसहित कुल ९ थान हातहतियार बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए।
डिजेल चोरीमा संलग्न एक जना पक्राउ
यसैबीच, जुम्लामा सडकमा पार्किङ गरिएका गाडीहरूबाट डिजेल चोरी गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका-२ निवासी हाल जुम्लाको चन्दननाथ-५ मा बसोबास गर्दै आएका तथा कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि. मा कार्यरत ४० वर्षीय प्रेमकुमार तामाङ रहेका छन्।
डीएसपी कामतीका अनुसार तामाङले कान्तिपुर होटल अगाडि पार्किङ गरिएको बा.प्र. ०१-००४ क ३८०८ नम्बरको टिप्परबाट १८५ लिटर डिजेल चोरी गरेका थिए।
चोरी भएको डिजेल उनले चन्दननाथ नगरपालिका-१, एयरपोर्ट नजिकै रहेको खुद्रा पसलका सञ्चालक राज बुढालाई बिक्री गरेको खुलेपछि अशोक बुढा र राज बुढा समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।