सडक खन्ने क्रममा डोजरले खसालेको ढुंगा लाग्दा मुगुको सोरु गाउँपालिका-१०, धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपालीको मृत्यु भएको छ भने उनकी आमा कल्पना नेपाली घाइते भएकी छन्।
आईतबार साँझ हुम्लाबाट घर फर्किने क्रममा गाउँ नजिकै सडक निर्माण भइरहेको स्थानमा ढुंगा खस्दा बालकको घटनास्थलमै मृत्यु भयो भने आमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि जिल्ला अस्पताल मुगु पठाइँदै छ।
कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख सडक निर्माण भइरहेको थियो। स्थानीयले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन्।
प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।