कार्यक्रमको प्रमुख आकर्षणमा साहित्यकार नरेन्द्र देवकोटाद्वारा लिखित ‘अनुभूति कविता संग्रह’को विमोचन र समीक्षा रहेको थियो।
३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कवि नरेन्द्र देवकोटाको ‘अनुभूति कविता संग्रह’ विमोचन भएको छ। भेरी साहित्य समाजको आयोजनामा शनिबार भएको कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक योगदानलाई सम्मान गर्दै बधाई र कदरसमेत प्रदान गरियो।
कार्यक्रमको अध्यक्षता भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतले गरेका थिए। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी थिए भने विशिष्ट अतिथिहरूमा मुख्य न्यायाधीश चन्द्रबहादुर सारु, पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. बेदराज केसी, प्राध्यापक डा. गोपालप्रसाद शर्मा अधिकारी, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, र प्राज्ञ महानन्द ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षणमा साहित्यकार नरेन्द्र देवकोटाद्वारा लिखित ‘अनुभूति कविता संग्रह’को विमोचन र समीक्षा रहेको थियो। सोही अवसरमा भेरी साहित्य समाजको प्रकाशन दौँतरीको २८औँ अंक पनि सार्वजनिक गरिएको थियोे।
उक्त अवसरमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. बेदराज केसीलाई बधाई तथा शुभकामना प्रदान गरियो। त्यस्तै, पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरका अध्यक्ष तथा साहित्यिक समालोचक पुष्करनाथ रिजाललाई सम्मानित गरिएको थियो।
कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले ‘अनुभूति कविता संग्रह’माथि समालोचना प्रस्तुत गर्दै संग्रहको गहनता, सामाजिक यथार्थ चित्रण र सिर्जनशीलता माथि चर्चा गरे।
प्रमुख अतिथि सनत रेग्मी, मुख्य न्यायाधीश चन्द्रबहादुर सारु, र प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेले पृथ्वी नारायण शाहद्वारा गरिएको राष्ट्र एकीकरण र उनको दूरदर्शी नेतृत्वको स्मरण गर्दै हालका साहित्यिक कृतिहरूमा त्यसको प्रभावको महत्त्व पनि उल्लेख गरे।
समारोहले राष्ट्रिय एकता दिवसको अवसरलाई साहित्यिक दृष्टिले विशेष महत्व दिएको थियो। उपस्थित अतिथिहरूले पृथ्वी नारायण शाहको योगदानको गहिरो प्रशंसा गर्दै साहित्यिक सिर्जनाहरूले राष्ट्रप्रतिको भावना उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा साहित्यप्रेमी, लेखक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।