सोमबार, ८ पुष, २०८१

कनकासुन्दरीमा स्वास्थ्य शिविर सम्पन्न, ४८५ जनाले सेवा लिए

हाट्सिजा स्वास्थ्य चौकी र बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ४८५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार र समुदायलाई नजिकबाट सेवा दिनका लागि आयोजित दुई दिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा कृडाक नेपाल र क्याड नेपालको सहकार्यमा मंसिर ११ र १२ गते क्रमशः हाट्सिजा स्वास्थ्य चौकी र बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ४८५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।

मंसिर ११ गते हाट्सिजा स्वास्थ्य चौकीमा आयोजित शिविरमा पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ, नाक, कान, घाँटी, दाँत, र गिजा रोगसम्बन्धी विशेषज्ञहरूले निःशुल्क स्वास्थ्य जाँच र उपचार सेवा प्रदान गरेको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र प्रसाद उपाध्यायले बताए।

उनका अनुसार उक्त दिन २४० महिला र ७५ पुरुष, गरी जम्मा ३१५ जनाले सेवा लिएका थिए। शिविरमा महिलाहरूको पाठेघर र स्तन क्यान्सरको जाँचमा विशेष ध्यान दिइएको थियो।

विशेषज्ञहरूको उपस्थितिमा गरिएको उक्त शिविरको प्रदेश सभा सदस्य टेकराज पछाइले उद्घाटन गरेका थिए। “ग्रामीण भेगका महिलाहरूका लागि क्यान्सरजस्ता गम्भीर रोगको प्रारम्भिक पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,” उनले भने।

मंसिर १२ गते शिविरको दोस्रो दिन कनकासुन्दरी–१, बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरबाट १२५ महिला र ४५ पुरुष, गरी १७० जनाले सेवा लिए। त्यहाँ पनि नाक, कान, घाँटी, दाँत तथा महिलाका लागि विशेष क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरिएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दमोदर आचार्यले बताए।

उनका स्थानीय बासिन्दाले शिविरको व्यवस्थापनप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रम थप आयोजना गर्न आग्रह गरेका थिए।

उनले थपे, “ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभावका कारण नियमित परीक्षण र उपचार गर्न नपाउने समस्यालाई समाधान गर्न यस्ता शिविरले ठूलो सहयोग पुर्‍याउने छ।”

शिविरमा सहभागी महिलाहरूले पहिलो पटक स्तन र पाठेघर क्यान्सरजस्तो गम्भीर रोगको स्क्रिनिङ गर्न पाएको भन्दै खुसी व्यक्त गरे। “यो शिविरले हामीलाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन प्रोत्साहित गर्‍यो,” एक महिलाले भनिन्।

पुरुष सेवाग्राहीहरूले पनि नाक, कान, घाँटी तथा दाँतसम्बन्धी समस्या पहिचान र समाधानका लागि शिविर प्रभावकारी भएको बताएका छन्।

कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले गाउँपालिकाका अन्य वडामा पनि यस्ता कार्यक्रम विस्तार गर्दै स्वास्थ्य सेवा सहज र सुलभ बनाउन प्रयास गरिने बताए। “हाम्रो उद्देश्य समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउनु हो,” उनले भने।

कृडाक नेपाल र क्याड नेपालले पनि यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका बासिन्दामा स्वास्थ्य चेतना वृद्धि गराउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार