वडा नं ३ का विभिन्न टोलहरूमा वितरण गरिएका स्ट्रेचरहरूले जनताको लागि स्वास्थ्य सेवामा तात्कालिक सहायताको सुविधा पुर्याउने विश्वास गरिएको छ।
जुम्ला जिल्लाको हिमा गाउँपालिका -३ मा यस वर्ष देउसी भैलो खेल एउटा समाजसेवी पहलमा बदलिएको छ। ‘राहदेव हरियाली देउसी भैलो टिम’ले देउसी खेलबाट संकलित रकमलाई सामाजिक हितका कार्यक्रमहरूमा खर्च गर्दै समाजमा एक सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
यस वर्ष देउसी भैलो खेलबाट संकलित एक लाख १९ हजार रुपैयाँको रकमलाई गाउँका विभिन्न नौ टोलमा स्ट्रेचर वितरणमा प्रयोग गरिएको छ। यसले गाउँका स्वास्थ्य आपत्कालीन अवस्थामा सहजता प्रदान गर्दै ग्रामीण जनतालाई राहत दिने अपेक्षा गरिएको छ।
समाजसेवामा आधारित देउसी खेल: परम्परागत संस्कृतिको नयाँ प्रयोग
राहदेव हरियाली देउसी भैलो टिमका प्रमुख अगुवा तथा युवा नेता राजेन्द्र रोकायाले यस पहललाई समाजमा ठोस योगदान पुर्याउन गरिएको प्रयासको रूपमा बुझेका छन्। देउसी भैलो खेल, जुन सामान्यतया मनोरञ्जन र परम्परागत रमाइलोको रूपमा मनाइन्छ।
यसपटक गाउँको हितमा खर्च गरिँदा यसले समाजमा सामूहिकताको भावना फैलाएको छ। रोकायाका अनुसार देउसी भैलो खेलबाट संकलित रकमको केही भाग सामूहिक भोज आयोजना गर्न प्रयोग गरिएको थियो भने बाँकी रकम वडाका आवश्यकता अनुसार समाजको हितमा खर्च गरिएको हिमाका कार्यपालिका सदस्य परिलाल विकले बताए।
गाउँमा हुने स-साना स्वास्थ्य समस्याहरूलाई लक्षित गरी स्ट्रेचर वितरणको यो अभियान सुरु गरिएको हो। यस अभियानले गाउँका मानिसहरूलाई स्वास्थ्य आपतकालीन अवस्थामा अस्पताल वा स्वास्थ्य चौकीसम्म पुग्न सहजता प्रदान गर्ने विकको बुझाई छ।
स्थानीय युवा नेता राजेन्द्र र उनको टिम यस कार्यलाई समाजको लागि एउटा ठूलो सहयोगको रूपमा लिएका छन्। स्ट्रेचरले समयमै स्वास्थ्य सेवा लिन सहज हुनेमा उनी विश्वस्त छन्।
जनसहभागिताबाट समाज विकास
यो देउसी भैलो खेलले परम्परागत संस्कृतिलाई सामाजिक सेवामा जोड्न सफल भएको छ। टोल–टोलमा स्ट्रेचर वितरण गर्दै गाउँलेहरूको स्वास्थ्य समस्याको समाधान गर्ने यो कार्यले ग्रामीण जनताको ठूलो सहयोग पाएको छ।
यस कार्यक्रममा हिमा गाउँपालिका -३ का अध्यक्ष धनबिर रोकाया, कार्यपालिका सदस्य परिलाल वि.क र समाजका अग्रज हर्क बहादुर रोकायाको उल्लेख्य योगदान रहेको छ।
वडा नं ३ का विभिन्न टोलहरूमा वितरण गरिएका स्ट्रेचरहरूले जनताको लागि स्वास्थ्य सेवामा तात्कालिक सहायताको सुविधा पुर्याउने विश्वास गरिएको छ।
यो कदमले वडामा रहेका अन्य आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि पनि प्रेरणा प्रदान गरेको छ। राहदेब हरियाली देउसी भैलो टिमले आगामी दिनमा खानेपानी र अन्य पूर्वाधारका योजनाहरूलाई पनि प्राथमिकतामा राख्ने जानकारी दिएको छ।
यस प्रकारका सामुदायिक सेवामा आधारित कार्यले गाउँको विकास र सहकार्यलाई सुदृढ बनाउन टिमले आगामी दिनमा यस्तै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
समुदायलाई एकताबद्ध गर्ने प्रयास
गाउँको विकास र स्थानीय समस्याहरू समाधान गर्न सामुदायिक सहभागिता महत्वपूर्ण हुन्छ। यो पहलले समाजमा सामूहिकता र सहकार्यको भावनालाई प्रवर्द्धन गर्दै गाउँलेहरूलाई एकताबद्ध बनाएको छ।
देउसी भैलो खेलबाट उठेको रकमलाई परम्परागत र रमाइलो भन्दा पनि समाजलाई ठोस योगदान दिने दिशामा लगानी गर्ने सोचको सह्राना हुँदैछ। टोल–टोलमा स्ट्रेचरको उपलब्धताले गाउँका स्वास्थ्य समस्याहरू समाधान हुने राजेन्द्रले बुझेका छन्।
राहदेव हरियाली देउसी भैलो टिमले अन्य गाउँलाई पनि सामुदायिक सेवामा आधारित देउसी भैलो खेल आयोजना गर्न प्रेरणा दिएको छ।