सोमबार, २ असार, २०८२

जुम्लाको चन्दननाथ र सिंजा साक्षर पालिका

साक्षर पालिका घोषणाका लागि सामान्य लेखपढ गर्न जान्ने, हस्ताक्षर गर्ने, मोबाईल चलाउन जान्ने लगायतका सूचक रहेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिका एकै दिन साक्षर पालिका घोषणा भएका छन्। बुधबार दुबै गाउँपालिका साक्षर घोषणा भएका हुन।

चन्दननाथलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारी र सिंजालाई गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले साक्षर घोषणा गरेका हुन।

५० प्रतिशत सूचक पुरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार पछिल्लो समय जुम्लामा धमाधम साक्षर पालिका घोषणा गर्ने अभियान चलेको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाको साक्षरता दर ९८.९१ प्रतिशत पुगेको चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले बताए। उनका अनुसार नगरपालिकामा रहेको कूल जनसंख्या २१ हजार ३६ जनामध्य ९८ प्रतिशत साक्षर भएका कारण नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।

‘नगपालिकाले गत साउनमा १५ वर्षमाथि र ६० वर्ष मुनिका जनसख्ंयामा सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३८० जना भेटिएको र उनीहरुलाई साक्षर बनाएसँगै नगरलाई साक्षर घोषणा गरिएको हो,’ उनले भने।

साक्षर पालिका घोषणा गर्न १२ वटा सूचक तोकिएको छ। नगरपालिकाले ८ वटा सूचक पुरा गरिसकेको छ उनको भनाई छ। जसमा सामान्य लेखपढ गर्न जान्ने, हस्ताक्षर गर्ने, मोबाईल चलाउन जान्ने लगायतका सूचक रहेका छन्। साक्षर नगर घोषणा हुनु अघि साक्षरता कक्षा समेत चलाइएको थियो।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जुम्लाले शिक्षा क्षेत्रमा उल्लेखीय कार्य गर्दै आएको बताए। साक्षर कर्णाली प्रदेश बनाउने अभियानमा जुम्लाको भुमिका अग्रणी हुने समेत उल्लेख गरे।

जिल्ला समन्वय समितिका प्रमुख गैरीन्द आर्चाय, मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्काले साक्षर घोषणालाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

उता सिंजा गाउँपालिकामा पनि ९६ प्रतिशत नागरिक साक्षरत भएपछि बुधबार सिंजालाई साक्षर पालिका घोषणा गरिएको छ। सिंजाको कूल जनसंख्याको ९६.५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चत भएपछि साक्षर घोषणा गरिएको सिंजाका शिक्षा शाखा प्रमुख शंकर धितालले बताए।

‘जनगणनानुसार सिंजाको साक्षर दर ६८ प्रतिशत छ। तर हामीले वडागत रुपमा तथ्यांक संकलन गरी। बालबालिकाद्धारा आफ्ना अभिभावक साक्षर बनाउने अभियान थालेर १२ वटा सूचक मध्य ५ सूचक पुराएपछि साक्षर पालिका घोषणा गरेका हौं,’ उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार