पत्रकार एवं लेखक मैनालीको ‘मुकाम रणमैदान’ पाँचौं पुस्तक हो। यसअघि उनको उपल्लो थलो, मान्ठा डराएको जुग, देखेको देश र आकाशमुखी पुस्तक प्रकाशित छन्।
मोहन मैनालीको पुस्तक मुकाम रणमैदानलाई मदन पुरस्कार र जगदम्बा-श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० सालको मदन पुरस्कार मैनालीको कृति मुकाम रणमैदानलाई अर्पण गर्ने निर्णय गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।
२०८० सालको जगदम्बा-श्री सम्मान यादवलाई अर्पण गर्ने निर्णय गरेको छ। ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन-अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गर्नुभएको’ मा यादवलाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ।
पत्रकार एवं लेखक मैनालीको ‘मुकाम रणमैदान’ पाँचौं पुस्तक हो। यसअघि उनको उपल्लो थलो, मान्ठा डराएको जुग, देखेको देश र आकाशमुखी पुस्तक प्रकाशित छन्।
यसअघि गुठीले श्रेष्ठ सूचीमा परेका पाँच पुस्तकको नाम सार्वजनिक गरेको छ। जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए। यस वर्ष पुरस्कारको मनोनयनका लागि ३०४ वटा कृति प्राप्त भएका थिए।
यसअघि २०७९ सालको जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई अर्पण गरिएको थियो।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको थियो। यो सम्मान पहिलो पटक नारायण गोपाललाई अर्पण गरिएको थियो।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिन्छ। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।