जुम्लाको तिला गाउँपालिका–४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको परिचयपत्र नवीकरणका लागि गाउँमै पुगेर सेवा दिन थालिएको छ। सोही क्रममा मंगलबार नुवाकोट गाउँमा नवीकरण कार्य सञ्चालन गरिएको हो।
वडा सचिव विष्णुराज बुढाले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई वडा कार्यालयसम्म आउनुपर्ने झन्झट कम गर्न गाउँमै पुगेर सेवा प्रदान गरिएको बताए। उनका अनुसार सबै लाभग्राहीको परिचयपत्र समयमै नवीकरण गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको छ।
वडा अध्यक्ष भक्तवीर सार्कीले सेवाग्राहीलाई सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले बस्तीमै पुगेर नवीकरण कार्य अघि बढाइएको बताए। उनले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
















