बिहीबार, १४ श्रावण, २०८३

जुम्लामा महोत्सव संयुक्त रूपमा हुने

छुट्टाछुट्टै मितिमा महोत्सव आयोजना गर्ने तयारी गरेका जुम्लाका दुई संस्थाले अन्ततः संयुक्त रूपमा महोत्सव सञ्चालन गर्ने सहमति गरेका छन्। उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जुम्ला शाखाबीच भएको छलफलपछि सहआयोजनाको निर्णय भएको हो।

यसअघि उद्योग वाणिज्य संघ जुम्लाले श्रावण २२ गतेदेखि भदौ ५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो। यता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाले श्रावण ७ गतेदेखि १६ गतेसम्म छुट्टै महोत्सव गर्ने घोषणा गरेको थियो।

एउटै जिल्लामा छोटो अवधिको अन्तरालमा दुई महोत्सव आयोजना गर्ने निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा र आलोचना भएको थियो। स्थानीय सरोकारवालाले समेत आपसी समन्वय गरी एउटै महोत्सव आयोजना गर्न सुझाव दिएका थिए।

सोही सुझावलाई मध्यनजर गर्दै श्रावण १३ गते दुवै संस्थाबीच भएको छलफलले संयुक्त रूपमा महोत्सव आयोजना गर्ने सहमति जुटाएको हो। प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीका अनुसार सहआयोजनाको निर्णयले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने जिल्लाको कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सहमतिअनुसार महोत्सवको प्रवेश शुल्क खुलातर्फ प्रतिव्यक्ति २०० रुपैयाँ तथा बालबालिका र ज्येष्ठ नागरिकका लागि सहुलियत दरमा १५० रुपैयाँ निर्धारण गरिएको छ।

संयुक्त महोत्सवको मिति भने अझै तय हुन बाँकी रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिलबहादुर रोकायाले बताए। उनका अनुसार दुवै संस्थाको सहमतिमा मिति तय भएपछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार