कनकासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप सहज र नागरिकमैत्री बनाउँदै वडास्तरबाटै भत्ता वितरण सुरु गरेको छ। यसअघि भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालाई वडामै भत्ता उपलब्ध गराउन थालिएपछि लाभग्राहीलाई राहत मिलेको छ।
गाउँपालिकाको वडा नं. ४ मा हालै सम्पन्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा हाटसिजा स्वास्थ्य चौकीले भत्ता लिन आएका नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरेको थियो। भत्ता वितरणसँगै सञ्चालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा ४९ जनाले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य परीक्षण कार्यक्रम वरिष्ठ अहेब ऋषिकेश उपाध्यायको नेतृत्वमा सञ्चालन गरिएको हो।
गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३ सय ५६ जना लाभग्राही सूचीकृत छन्। तीमध्ये १ सय ४५ जनाले भत्ता प्राप्त गरिसकेका छन् भने २ सय ११ जना लाभग्राहीले अझै भत्ता लिन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

वडा नं. ४ मै भत्ता वितरण भएपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला तथा बालबालिकालाई बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। यसअघि बैंकसम्म पुग्दा यातायात खर्च, समय तथा भौगोलिक कठिनाइ झेल्नुपर्ने अवस्था रहेकामा वडामै सेवा उपलब्ध हुन थालेपछि नागरिकलाई सहज भएको स्थानीयवासीले बताएका छन्।
भत्ता वितरणसँगै स्वास्थ्य परीक्षणको सेवा पनि उपलब्ध गराइएकाले कार्यक्रम थप प्रभावकारी बनेको स्थानीयको भनाइ छ। एकै स्थानबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुका साथै सामान्य स्वास्थ्य अवस्थासमेत जाँच गर्न पाउँदा लाभग्राहीलाई दोहोरो सुविधा मिलेको छ।
हाटसिजा स्वास्थ्य चौकीका वरिष्ठ अहेब ऋषिकेश उपाध्यायले सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण गर्दा नागरिकको समय र खर्च दुवै बचत भएको बताए।

‘भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण गर्दा एकै ठाउँमा दुईवटा सेवा दिन सकियो। यसले नागरिकको समय र खर्च दुवै बचत भएको छ। यस्तो अभ्यास अन्य वडामा पनि लागू गर्नुपर्छ,’ उनले भने।
स्वास्थ्य चौकीका अधिकारीहरूले सामाजिक सुरक्षा भत्ता वितरणलाई स्वास्थ्य सेवासँग जोडेर सबै वडामा यस्ता कार्यक्रम सञ्चालन गर्न सके नागरिकलाई थप सहज हुने बताएका छन्। यसबाट स्वास्थ्यप्रति नागरिकको चेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको पहुँचसमेत विस्तार गर्न सकिने उनीहरूको भनाइ छ।
वडामै सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षणको एकीकृत अभ्यासलाई स्थानीयस्तरमा सकारात्मक तथा अनुकरणीय पहलका रूपमा लिइएको छ। भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकका लागि सेवा प्रवाहलाई घरदैलो नजिक पुर्याउने यस्ता कार्यक्रमले सामाजिक सुरक्षा सेवाको प्रभावकारिता बढाउनुका साथै राज्यबाट प्राप्त हुने सेवामा नागरिकको पहुँचसमेत सहज बनाउने अपेक्षा गरिएको छ।















