सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बाजुराका एक युवकको शव चार दिनपछि कैलालीमा फेला परेको छ।
प्रहरीका अनुसार असार ३१ गते दिउँसो करिब ३ बजे बाजुराको त्रिवेणी नगरपालिका–३ बुबरता निवासी २९ वर्षीय रामबहादुर भण्डारी कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी तालागाउँ निवासी प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडी चलाउँदै आएका चालक रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बाबियाचौर, अस्थायी प्रहरी पोस्ट लगाम, तातापानी, घाटगाउँ, प्रहरी चौकी बिजौरा तथा सशस्त्र प्रहरी बेस क्याम्प गुटुबाट दैनिक रूपमा संयुक्त प्रहरी टोली परिचालन गरी कर्णाली नदी किनारमा व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो।
यसैबीच साउन ३ गते दिउँसो करिब २ बजे कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीको बीचमा रहेको टापुमा एक पुरुषको बेवारिसे शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धानपछि शव टीकापुर अस्पतालको शवगृहमा राखिएको थियो। त्यसपछि बाजुराको त्रिवेणी नगरपालिका–३ का वडा अध्यक्ष र मृतकका काका राजेन्द्र भण्डारीले शवको सनाखत गर्दै उक्त शव रामबहादुर भण्डारीकै रहेको पुष्टि गरेका प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।














