जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित नाग्मा–जुम्ला सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शुक्रबार साँझ करिब ७:०५ बजे दैलेखको दुल्लु नगरपालिका–३ निवासी अन्दाजी ४८ वर्षीय मिनबहादुर साउदले जुम्ला बजारबाट नाग्मा–रारातर्फ चलाइरहेको कर्णाली प्रदेश ०१–००१ प २७८२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका र बोल्न नसक्ने अवस्थामा रहेका उनको उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















