सोमबार, २२ असार, २०८३

जुम्लामा सवारी सुरक्षामा कडाइ : यान्त्रिक परीक्षणदेखि सडक सचेतनासम्म

पछिल्ला वर्षहरूमा कर्णालीका पहाडी सडकमा बढ्दै गएका सवारी दुर्घटनाले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ। साँघुरा, घुमाउरा र जोखिमपूर्ण सडकसँगै सवारी साधनको प्राविधिक कमजोरी, ट्राफिक नियमको बेवास्ता तथा चालकको लापरबाही दुर्घटनाका प्रमुख कारणका रूपमा देखिँदै आएका छन्।

यही अवस्थालाई मध्यनजर गर्दै जुम्लामा सवारी सुरक्षालाई प्रभावकारी बनाउन यान्त्रिक परीक्षण, ट्राफिक चेकजाँच र सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक अभियानलाई एकसाथ तीव्र बनाइएको छ।

यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले संयुक्त रूपमा सञ्चालन गरेको अभियानले सवारी साधनको प्राविधिक अवस्था परीक्षणदेखि चालक तथा सर्वसाधारणलाई सडक सुरक्षाबारे सचेत गराउनेसम्मका गतिविधिलाई प्राथमिकतामा राखेको छ।

सम्बन्धित निकायका अनुसार दुर्घटना न्यूनीकरणका लागि नियम कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य भएकाले दुवै पक्षलाई समान रूपमा अघि बढाइएको हो।

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख राजेन्द्र कार्कीका अनुसार सवारी दुर्घटनाको एउटा महत्वपूर्ण कारण सवारी साधनको यान्त्रिक अवस्था पनि भएकाले नियमित प्राविधिक परीक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ। यसै उद्देश्यले जुम्ला–कालिकोट सिमानामा पर्ने कर्णाली राजमार्ग क्षेत्रमा सवारी साधनको यान्त्रिक परीक्षण सञ्चालन गरिएको हो।

अभियान अन्तर्गत २०८३ असार १९ गते बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म तिला गाउँपालिका–१ स्थित मुगु–जुम्ला सडकखण्डको सिमानामा संयुक्त ट्राफिक चेकजाँच गरिएको थियो। सो क्रममा ९० वटा सवारी साधनको परीक्षण गरिएको थियो।

चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ११ वटा सवारी साधनमाथि कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १६हजार रुपैयाँ राजस्व संकलन भएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयले छुट्टै कारबाही अन्तर्गत २ वटा सवारी साधनलाई कारबाही गरी २ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख जगत बहादुर कठायतले जानकारी दिए।

चेकजाँचका क्रममा चालकहरूलाई सवारीमा अनधिकृत रूपमा थप सिट नराख्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारी साधनको नियमित यान्त्रिक परीक्षण गर्न तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न निर्देशन दिइएको थियो। साथै ट्राफिक नियमको पूर्ण पालनाबाट मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने सन्देश पनि दिइएको थियो।

अभियान कारबाहीमा मात्र सीमित छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘जागरूकता तथा सडक सचेतना अभियान’ अन्तर्गत चालक, सहचालक तथा सर्वसाधारणलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी नचलाउने विषयमा विस्तृत जानकारी प्रदान गरिएको छ।

प्रहरी प्रमुख जगत बहादुर कठायतका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि कानुनी कारबाही मात्र पर्याप्त हुँदैन, चालक र यात्रुमा जिम्मेवारीबोध तथा सचेतना पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले यान्त्रिक परीक्षण, नियमित ट्राफिक चेकजाँच र सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार