सोमबार, २२ असार, २०८३

गुठीचौर–३ मा वडापालिका भवन, स्वास्थ्य चौकी र विद्यालय भवन एकैसाथ उद्घाटन

गुठीचौर गाउँपालिका–३ मा स्थानीय नागरिकले लामो समयदेखि अपेक्षा गरेका तीन महत्वपूर्ण पूर्वाधार एकैसाथ सञ्चालनमा आएका छन्। वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन र शंकर आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन भएसँगै स्थानीय बासिन्दामा नयाँ उत्साह थपिएको छ।

एकै दिन तीन वटा सार्वजनिक संरचना उद्घाटन हुनु केवल भौतिक विकासको उपलब्धि मात्र नभई गाउँको सेवा प्रवाह, शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ सुरुवातका रूपमा समेत हेरिएको छ।

वडा अध्यक्ष इन्दणर बुढाले यी संरचनाले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार नयाँ भवन निर्माणसँगै वडा कार्यालयबाट सेवा प्रवाह थप व्यवस्थित हुने, स्वास्थ्य चौकीबाट नागरिकले सहज स्वास्थ्य सेवा पाउने र विद्यालयको नयाँ भवनले बालबालिकालाई सुरक्षित तथा अनुकूल सिकाइ वातावरण प्रदान गर्नेछ।

‘विकास भनेको भवन मात्रै होइन, नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। यी संरचनाले त्यसै दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्,’ अध्यक्ष बुढाले भने।

कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला विकास समिति सभापति तिर्थ बहादुर बुढाले गाउँको विकासका लागि स्थानीय तह, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ संरचनाको संरक्षणमा सबैको समान जिम्मेवारी हुने बताए।

‘पूर्वाधार निर्माणभन्दा पनि त्यसको संरक्षण र प्रभावकारी उपयोग अझ महत्वपूर्ण विषय हो। सबैले अपनत्वका साथ यसको संरक्षण गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा सहभागी जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले नयाँ स्वास्थ्य चौकी भवनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न थप सहज वातावरण सिर्जना गर्ने बताए।

‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। राम्रो पूर्वाधारले सेवाको गुणस्तर पनि सुधार गर्न मद्दत गर्छ,’ शर्माले बताए।

कार्यक्रममा गुठीचौर गाउँपालिका–१ का वडा अध्यक्ष अर्जुनकुमार महतारा, वडा नं.–४ का अध्यक्ष टिकादत्त न्यौपाने तथा वडा नं.–५ का अध्यक्ष कमल महतलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, कर्मचारी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

उक्त अवसरमा सार्वजनिक संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरिएको थियो। उनीहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले सामुदायिक विकासमा स्थानीय नागरिकको सहयोग सदैव प्रेरणादायी रहने बताए।

उद्घाटन समारोहलाई थप आकर्षक बनाउन चर्चित देउडा गायिका संगीता बढुवालले आफ्नो सांगीतिक प्रस्तुति दिएकी थिइन्। उनका लोकप्रिय देउडा गीतमा स्थानीय दर्शकले उत्साहपूर्वक साथ दिएका थिए।

स्थानीयवासीका अनुसार नयाँ भवनहरू सञ्चालनमा आएसँगै सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। गाउँको प्रशासनिक सेवा, आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने विश्वासका साथ गुठीचौर–३ ले विकासको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको वडा अध्यक्ष बुढाको दावी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार