नेपालका धेरै स्थानीय तहमा सरकारी भवन निर्माणका लागि उपयुक्त जग्गा अभाव हुने, मुआब्जा विवादले योजना वर्षौंसम्म अलपत्र पर्ने र सेवा प्रवाह प्रभावित हुने समस्या देखिन्छ।
स्थानीय तहको नेतृत्वले योजना बनाउने वा बजेट खर्च गर्ने मात्र गर्दैन, आवश्यक पर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी पनि पुरा गर्छ। जुम्लाको चन्दननाथ नगरपालिका–८ का वडा अध्यक्ष रूपबहादुर रोकायाले व्यवहारमै यो जिम्मेवारी पूरा गरेका छन्।
पहिले आफ्नै भवन नभएर वडा कार्यालय वर्षौंदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो। सेवाग्राहीलाई सहज सेवा दिन, कर्मचारीका लागि व्यवस्थित कार्यस्थल बनाउन र वडाको स्थायी पहिचान स्थापित गर्न आफ्नै भवन आवश्यक रहेको महसुस गरेपछि रोकायाले एउटा असामान्य निर्णय लिए, आफ्नो परिवारको नाममा रहेको जग्गा वडा कार्यालयका लागि दान गर्ने।
०७९ को स्थानीय तह निर्वाचनपछि नेतृत्व सम्हाल्दै उनले चुनावी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने अभियान थाले। आफ्नै बुवाको नाममा रहेको जग्गा वडा कार्यालयको नाममा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भयो। त्यसबेला सरकारी निकायबीच समन्वय गरेर सार्वजनिक प्रयोजनका लागि व्यक्तिगत जग्गा नामसारी गराउने प्रक्रिया निकै जटिल थियो।
‘नगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित मन्त्रालयसम्म पुगेर आवश्यक निर्णय गराउनुपर्यो,’ उनले भने, ‘अन्ततः मन्त्रिपरिषद्सम्मको प्रक्रिया पूरा भएपछि उक्त जग्गा कानुनी रूपमा वडा कार्यालयको स्वामित्वमा आयो।’
जग्गा प्राप्त भएसँगै वडा कार्यालय निर्माणको बाटो खुल्यो। अहिले निर्माण भइरहेको भवन चन्दननाथ नगरपालिकाका अन्य वडा कार्यालयभन्दा फरक, आधुनिक र सुविधासम्पन्न रूपमा निर्माण भइरहेको छ। भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन सरकारी निकायमार्फत गरिएको छ भने भवन निर्माणको काम भवन डिभिजन कार्यालयमार्फत अगाडि बढिरहेको छ।
वडा अध्यक्ष रोकायाका अनुसार निर्माणको अन्तिम चरणमा पुगेको भवनमा केही सामान्य काम मात्रै बाँकी छन्। ती सम्पन्न भएपछि भदौ महिनाभित्र भवन उद्घाटन गर्ने तयारी गरिएको छ।
नेपालका धेरै स्थानीय तहमा सरकारी भवन निर्माणका लागि उपयुक्त जग्गा अभाव हुने, मुआब्जा विवादले योजना वर्षौंसम्म अलपत्र पर्ने र सेवा प्रवाह प्रभावित हुने समस्या देखिन्छ।
तर चन्दननाथ नगरपालिका–८ मा भने वडा अध्यक्ष स्वयंले आफ्नो जग्गा दान गरेर ती सबै जटिलतालाई समाधानतर्फ डोर्याएका छन्। यही कारण यो भवन निर्माण पूर्वाधार विकासको परियोजना होइन, जनप्रतिनिधिको उत्तरदायी नेतृत्वको प्रेरणादायी उदाहरण पनि बनेको छ।
स्थानीय सरकारप्रति नागरिकको विश्वास भाषणबाट होइन, यस्तै व्यवहारिक कामबाट बलियो बन्छ। चन्दननाथ–८ मा बनेको अत्याधुनिक वडा कार्यालयले अब नागरिकलाई सहज सेवा दिनेछ वया अध्यक्ष रोकायाको दाबी छ।
‘भविष्यका जनप्रतिनिधिका लागि पनि एउटा सकारात्मक सन्देश हो भन्ने ठानेको छु। हामीले यश अघि पनि सार्वजनिक हितका जग्गा दान गर्ने र व्यवस्थापन गर्ने गर्दै आएका छौं,’ उनले थपे।
















