सोमबार, १५ असार, २०८३

शिक्षामा नयाँ अभ्यास गरिरहेको हिमाको चौथो पढाइ मेला सकियो : नेत्रज्योति मावि कालिका आवि बने पहिलो

हिमा गाउँपालिकाले शिक्षा केवल कक्षाकोठाभित्र सीमित विषय होइन, सिर्जनशीलता, विज्ञान, संस्कृति, नेतृत्व, प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वसँग जोडिएको जीवनपयोगी प्रक्रिया हो भन्ने सन्देश चौथो पढाइ मेलामार्फत फेरि एकपटक स्थापित गरेको छ। दुई दिनसम्म सञ्चालन भएको मेलाको समग्र मूल्याङ्कनमा वडा नम्बर–२ ओदीस्थित नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय प्रथम बन्दै लगातार चौथोपटक उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ।

हिमा गाउँपालिकाको ऐतिहासिक शैक्षिक धरोहर कालिका माध्यमिक विद्यालय, तलिकुडुको प्राङ्गणमा सम्पन्न मेलाले गाउँपालिकाभित्रका १९ वटै सामुदायिक विद्यालयलाई एउटै शैक्षिक मञ्चमा उभ्यायो। विज्ञान प्रदर्शनीदेखि सांस्कृतिक प्रस्तुति, हाजिरीजवाफ, देउडा गीत, वक्तृत्वकला, हस्तकला, सीप परीक्षण तथा शैक्षिक प्रदर्शनीसम्मका गतिविधिले विद्यालय परिसर दिनभर जीवन्त बन्यो। विद्यार्थीहरूले स्थानीय स्रोतसाधन प्रयोग गरी तयार गरेका वैज्ञानिक नमुना, वातावरण संरक्षण, कृषि प्रविधि, जल व्यवस्थापन तथा सौर्य ऊर्जासम्बन्धी परियोजनाले अभिभावक र अतिथिको विशेष ध्यान आकर्षित गरे।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पढाइ मेलालाई हिमाको शैक्षिक रूपान्तरणको अभियानका रूपमा व्याख्या गर्दै यसले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीमा सिर्जनशीलता र उत्कृष्ट बन्ने प्रेरणा जगाएको बताए। उनले गाउँपालिकाले विकास बजेटको ४३.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको, विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरिएको तथा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे।

समाजसेवी दीपबहादुर शाहीले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अझ सुदृढ भए हिमाले कर्णालीकै नमुना शैक्षिक गाउँपालिकाको पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे। नेकपाका केन्द्रीय सदस्य अमरजंग शाहीले पढाइ मेलालाई प्रतियोगिता मात्र नभई सामाजिक जागरणको अभियानका रूपमा लिनुपर्ने धारणा राखे।

कार्यक्रममा उपाध्यक्ष सुर्पुना शाही, प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसाल, शिक्षा शाखा प्रमुख जग्ग रोकाया, प्रधानाध्यापक डिल्लीप्रसाद आचार्यलगायतले गुणस्तरीय शिक्षाका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए। उनीहरूले पढाइ मेलाले शिक्षक, विद्यार्थी र अभिभावकबीच अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा आफूलाई स्थापित गरिसकेको उल्लेख गरे।

मेलामा सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने अवसर दिएको प्रतिक्रिया दिए। नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालयका विद्यार्थी अकेश रोकायाले अन्य विद्यालयका साथीहरूसँग सिक्ने, प्रतिस्पर्धा गर्ने र आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसरले पढाइप्रतिको उत्साह झन् बढाएको बताए।

दोस्रो दिन सम्पन्न विभिन्न विधाका अन्तिम प्रतिस्पर्धा, देउडा गीत, हाजिरीजवाफ, वक्तृत्वकला, हस्तकला तथा सीप परीक्षणको समग्र मूल्याङ्कनपछि नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय प्रथम घोषित भएको हो। विद्यालयका प्रधानाध्यापक रंग रोकायाका अनुसार नेत्रज्योति माविले लगातार चारवटै पढाइ मेलामा प्रथम स्थान हासिल गर्दै आफ्नो उत्कृष्टता कायम राखेको छ।

त्यस्तै हिमा -१ द्यार गाउँ स्थित कालिका आवि आधारभूत तहको पहिलो बनेको छ।

हिमा गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको पढाइ मेला अहिले केवल वार्षिक कार्यक्रममा सीमित छैन। यसले सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै सिकाइलाई सिर्जना, अनुसन्धान, संस्कृति र व्यवहारिक अभ्याससँग जोड्दै नयाँ पुस्तालाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने अभियानका रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार