जुम्ला सदरमुकाम खलंगास्थित बजार क्षेत्रमा बढ्दो ट्राफिक जाम, अव्यवस्थित पार्किङ तथा मालवाहक सवारीसाधनको अनियन्त्रित आवागमनका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन थालेपछि ‘जुगाड खोला सरसफाइ अभियान मूल समिति, जुम्ला’ले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ।
समितिले प्रमुख जिल्ला अधिकारी दिपक पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा पछिल्ला दिनहरूमा बजार क्षेत्रमा सवारी चाप उल्लेख्य रूपमा बढ्दै गएको र त्यसका कारण ट्राफिक जाम, दुर्घटनाको जोखिम तथा सर्वसाधारणको आवागमनमा समस्या सिर्जना भएको उल्लेख गरिएको छ।

समितिका संयोजक उपेन्द्र बुढथापाले जुम्ला बजारको ट्राफिक व्यवस्थापनसम्बन्धी समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसको दीर्घकालीन, व्यवस्थित र प्रभावकारी समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
ध्यानाकर्षण पत्रमा बजार क्षेत्रको प्राविधिक तथा वस्तुगत अध्ययन गरी एकतर्फी (वान वे) सवारी सञ्चालन प्रणाली लागू गर्न सुझाव दिइएको छ। यसबाट बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापन गर्न र ट्राफिक जाम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास समितिले व्यक्त गरेको छ।
त्यस्तै, हाल कालेखोली क्षेत्रमा रहेको अटो पार्किङलाई राजमार्गसँग नजिकको उपयुक्त सार्वजनिक स्थानमा स्थानान्तरण गर्नुपर्ने माग पनि समितिले गरेको छ। पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदा बजार क्षेत्रको भीडभाड कम हुने र सर्वसाधारणलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी बजार क्षेत्रमा प्रवेश गर्ने मालवाहक सवारीसाधनका लागि निश्चित समय निर्धारण (टाइम रेगुलेसन) गरी नियमबद्ध व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। समितिले यसका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रशासनसँग आग्रह गरेको छ।
स्थानीयवासी, व्यवसायी तथा सरोकारवालाहरूले समेत जुम्ला बजारमा बढ्दो ट्राफिक समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। समितिको ध्यानाकर्षणसँगै बजार क्षेत्रको ट्राफिक तथा पार्किङ व्यवस्थापन सुधारका विषयमा सम्बन्धित निकायको चासो बढ्ने अपेक्षा गरिएको छ।

















