जुम्ला सदरमुकाम क्षेत्रमा दुई वटा मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जेठ १४ गते राति जुम्ला बजारबाट दुई वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये एउटा मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले चन्दननाथ नगरपालिका–१ तलिचौर गाउँस्थित डोल्पा जाने सडकखण्डबाट एक जनालाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–५ निवासी लोकेश भण्डारी रहेका छन्। उनलाई राति करिब २:३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाल ले जानकारी दिए।
उनका अनुसार भे ३ प ९४४७ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिइएको हो।
त्यसैगरी, सोही राति होटल पौवाबाट चोरी भएको कर्णाली प्रदेश ०१००१ प २४४७ नम्बरको अर्को मोटरसाइकल पनि लोकेश भण्डारीले नै चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल राजासिम पछाडि तोडफोड गरि फालिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।















