सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मिति २०८३ साल जेठ १३ गते राति करिब ८:०० बजे कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०६४७ नम्बरको टिप्परले स्थानीय २३ वर्षीय कमल वलीलाई ठक्कर दिएको हो।
उक्त टिप्पर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० निवासी अन्दाजी ५२ वर्षीय मानबहादुर चौधरीले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका कमल वलीलाई उनका बुवा दलबहादुर वलीले उपचारका लागि राति करिब ९:३० बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्याएका थिए।
उपचारकै क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि टिप्पर र चालकलाई सत्तरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी कबिन्द्र सिंह बोहरा जानकारी दिए ।
उनका अनुसार मृतकको शव राति करिब १०:४० बजे सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी बोहराले जानकारी दिएका छन्।
















