जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले शनिबार एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एचआईभी/एड्स के हो, संक्रमणका प्रमुख माध्यम, रोकथामका उपाय, उपचार सेवा तथा संक्रमित व्यक्तिप्रति समाजले गर्नुपर्ने व्यवहारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले बताए।
उनका अनुसार जुम्लामा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
‘स्थानीय तहमा भेदभावरहित नीति, नियम तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट तथा स्रोत व्यवस्थापनमा स्थानीय तहले प्राथमिकता दिनु आवश्यक छ।’
एचआईभी संक्रमित व्यक्तिहरू पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएको र उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जुम्लाका डिएसपी रविन बाबू रेग्मी।
उनले भने, ‘विद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम विस्तार गर्न, नियमित परीक्षण तथा परामर्श सेवामा पहुँच बढाउन र संक्रमित व्यक्तिहरूलाई सामाजिक सहयोग तथा समर्थन उपलब्ध गराउन आवश्यक छ।’
कार्यक्रममा अभियन्ता राधा पौडेलले एचआईभी संक्रमितले भोग्ने विभेद सहित सबै खाले विभेद हटाउन महिनावारी विभेद हटाई मर्यादित बनाउनुपर्ने राय राखिन।
















