राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले प्रधानमन्त्रीको संसदप्रति उत्तरदायित्वबारे प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद जनताको सर्वोच्च थलो भएकाले यहाँ उठेका प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको बताएका छन्।
शाहीले “सत्ता तपाईंसँग छ” भन्दैमा संसदलाई बेवास्ता गर्ने अधिकार कसैलाई नभएको उल्लेख गरेका छन्। नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनतासँगको प्रतिबद्धताको दस्तावेज भएकाले यसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री सिंहदरबारमै उपस्थित रहे पनि संसदमा आएर जनप्रतिनिधिहरूको प्रश्नको सामना नगर्नु उचित नभएको शाहीले बताएका छन्। उनले जनताको उत्तर संसदबाट खोजिनुपर्ने, सडकबाट होइन, भन्ने धारणा व्यक्त गरेका छन्।
यो विषय केवल प्रतिपक्षको आवाज मात्र नभई संसदबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको सम्मान र अस्तित्वसँग जोडिएको शाहीको भनाइ छ। उनले प्रजातन्त्रमा संसदलाई कमजोर होइन, अझ बलियो बनाउने संस्कार आवश्यक रहेको बताएका छन्।
















